काबुलमा नेटोलक्षित शक्तिशाली विस्फोटन

घट्नास्थल निरिक्षण गर्दै सुरक्षाकर्मी, तस्विरः एपी

काबुल, २० वैशाख । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै नेटो सैकिकको एक समूहलक्षित आज शक्तिशाली विस्फोट भएको छ ।

राजधानी काबुलमा बुधबार भएको यस शक्तिशाली विस्फोटमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नाजिब डेनिसले यस बम आक्रमण र हताहतीको एएफपी समाचार समितिलाई पुष्टि गर्नुभएको छ । बिहानको व्यस्त समयमा भएको यस आक्रमणमा मारिएका व्यक्ति प्रायः सर्वसाधारण नै भएका बताइएको छ ।

सो विस्फोटको प्रकृतिको विषयमा अनुसन्धान भईरहेको तर विस्फोटन भएको अवस्थामा विदेशी सैनिक बलको एक समूह त्यहाँबाट गइरहेको डेनिसले जानकारी दिनुभएको छ ।

यस आक्रमण विदेशी सैनिकलक्षित भएको एएफपीका फोटो पत्रकार र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

यस आक्रमणमा तीन सर्वसाधारणका कारसमेत ध्वस्त भएको बताइएको छ । एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई यस आक्रमणमा परी दुई अमेरिकी सैनिक सामान्यरुपमा घाइते भएका जानकारी दिएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यस प्रकारको आक्रमणमा प्राय तालिवान आतङ्ककारी समूहको नै हात रहने गरेको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री