तीन गुरुङ चेलीहरु अमेरिकामा सम्मानित

संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च (युएन परमानेन्ट फोरम अन इन्डिजिनियस इस्यु) मा सहभागी हुन न्यूयोर्क आइपुगेका तीन गुरुङ चेलीलाई सम्मान गरिएको छ ।
न्यूयोर्कमा रहेको तमू परिवारले पत्रकार प्रेमकुमारी घले, प्राध्यापक तथा अधिकारकर्मी प्रतिमा गुरुङ र स्वतन्त्र पत्रकार मच्छे गुरुङलाई सम्मान गरेको हो ।

न्यूयोर्कमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई तमू परिवार न्यूयोर्कका अध्यक्ष डम्बर बहादुर गुरुङ, उपाध्यक्ष मनिता गुरुङ, सचिव डिबी गुरुङ लगायतले प्रमाणपत्र र खादा ओढाएर सम्मान गर्नुभएको हो ।
गुरुङ समुदायमा जन्मेर विभिन्न पेशामार्फत आफ्नो समुदाय, र आदिवासी जनजाति समुदायको लागि महत्वपूर्ण योगदान पुरयाएको भन्दै समान गरिएको हो । आदिवासी जनजातिहरुको पहिचान र अधिकारको विषयमा राज्यका विभिन्न निकाय र अमेरिकामा अवस्थित संयुक्त राष्ट्र संघ मुख्यालयसम्म आवाज उठाउन सफल भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको तमू परिवारले जनाएको छ ।
पत्रकारिता र वकालत पेशामा लामो समय काम गर्नुभएका मच्छे गुरुङ नेपाल अमेरिका पत्रकार संघ नेजाको केन्द्रिय सदस्य हुनुहुन्छ । अध्ययनको सिलसिलामा डेढ वर्षदेखि अमेरिकामा रहनुभएका गुरुङ नेपालमा रहँदा रेडियो सगरमाथा, संचारिका समूह लगायतका संचार संस्थामा कार्यरत हुनुहुन्थ्यो । उहाँ महिला, आदिवासी जनजाति र कानुनका क्षेत्रमा विशेष दख्खल राख्नुहुन्छ ।
त्यस्तै, विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घले हाल संचारिका समूहद्वारा संचालित महिला खबरको सम्पादक हुनुहुन्छ । उहाँ लमजुडको सामुदायिक रेडियो मस्र्याडदीका सचिव तथा निर्वातमान स्टेसन म्यानेजर, पूर्व कान्तिपुर संवाददाता, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय सदस्य लगायत विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
राष्टिय आदिवासी जनजाति अपांग महिला संघका अध्यक्ष प्रतिमा गुरुङ पद्यमकन्या क्याम्पसका प्राध्यापक तथा लैगिक तथा अपांगता भएका जनजाति महिलाको क्षेत्रमा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री