एकैसाथ ‘बस्ती’ र ‘बयान’ लिएर आए घन थापा

Photo by Milan Tamu

लण्डन ।  कवि तथा समाजसेवी घन थापा मगरको दुई एल्वमहरु “बयान” र “बस्ती” आइतबार एकैसाथ सार्वजनिक भएका छन् ।

फोल्कस्टोनस्थित हकिन्ज कम्युनिटी हलमा करिब चारसय सहभागीहरुबीच बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र अन्य अतिथिहरूले एल्वमको विमोचन गरे ।

विश्व नेपाली साहित्य महासङ्घ साउथ, यूके र नेपाली साहित्य विकास परिषद वेलायतको संयुक्त आयोजना साथै केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजको सहयोगमा सो कार्यक्रम भएको थियो ।

थापा मगरको “बयान” मा “जति हेर्‍यो उति राम्रो”, “आजभोली बोल्नै छोड्यौ”, “पात झर्न नदेउ बोटको”, “जूनझै बनि आयौ तिमी”,“कस्तो हुरी चल्यो” गीतहरु समावेश गरिएको छ । उक्त एल्वमका गायकहरु क्रमश प्रमोद खरेल, श्रेयसी चेम्जोङ, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, राचन्द्र काफ्ले र सन्तोष लामाले आवाज दिएका छन् भने संगीत राजकुमार बगरको छ ।

यसैगरी, “बस्ती” मा जम्मा ७ गीतहरु छन् जसमा क्रमशः “स्वर्ग भन्दा प्यारो लाग्छ”, “डाडाँ र काँडा हिमाल”,“हिउद होस या वर्षा होस”,“झारमा पनि फूलै फूल्छ”,“चरी भए मै उडी आउथे”,“हेर न कान्छी हाम्रो पिरती”,“हिउद होस या वर्षा होस” समावेश गरिएको छ । उक्त एल्वममा क्रमशः मेलिना राई, सरला राई, शिव परियार, राज सिग्देल, मुन्ना गुरुङ्ग साथै दुर्गा परियार, पवन थापा साथै तारा श्रीष र दिपा लामाले श्ववर दिएका छन्। संगीत डक्टर किरातको छ । यस एल्वम निर्मात्री भने गीतकारकी धर्मपत्नी कृष्ण थापा मगर रहेकी छन् ।

कार्यक्रममा “हिउद होस या वर्षा होस” गीतलाई गायक शिव परियारले लाईभ गाएपछि गीतकार तथा समाजसेवी घन थापा मगरले गरेको सामाजिक योगदान समेटिएको डकुमेन्ट्री देखाइएको थियो । जसमध्येका केही उदाहरणीय कार्यहरुमा सन् १९९२ मा क्याक्मी गाउँको खानेपानी सप्लाइ गर्ने पोलिथिन पाइप जथाभावी काटेर पानीको चुहावट हुन गई खानेपानी सप्लाइमा अवरोध आएकोले फलामका जीआइ पाइप ल्याइ पानीको मूलदेखि रिर्जभ ट्याङ्कीसम्म नै जडान गरी रिर्जभ ट्याङ्की समेत पक्की सिमेन्टेड बनाइ उनले खानेपानी समस्याबाट गाउँलेहरुलाई बचाए ।

सन् १९९८ मा आफ्नो जन्म गाउँ क्याक्मीको खानीखोलाको कच्ची फट्के साँघु तर्दा आफ्ना ससुरा अर्थात धर्मपत्नी कृष्णा थापा मगरका बुबा जोग बहादुर राना मगर खसेर निधन भएकोले यस खोलामा अरू गाउँलेहरू कसैको पनि यस्तै दु:खद निधन नहोस भन्ने हेतुले ससुराकै स्मृतिमा सिमेन्टेड पक्की पुल निर्माण गराए ।

सन् २००७ मा आफ्नो धर्मपत्नीको आमा सावित्री राना मगरको स्मृतिमा चालिसे गा.वि.स. वडा नं. –८ क्याक्मी, स्याब्जाको सेरो खोलामा पक्की सिमेन्टेड पुल निर्माण गरी गाउँले जनजीवनलाई सहज बनाए । सन् २००७ मा आफु पढेको हाइस्कुललाई टेन प्लस टु राख्न सबै कक्षालाई भौतिक मापन पुग्ने गरी नयाँ संरचना निर्माण गर्नुपर्ने यदि सो गर्न नसके तत्कालै हाइस्कुलबाट झरेर निम्न माद्यामिक स्तरमा मात्र सिमित रहनुपर्ने दवाव शिक्षा शाखाबाट आएको भन्ने थाहा पाएपछि उनले तत्कालै पुस्तकालय, कम्प्युटर कक्षा र अध्ययन कक्षा समेतलाई पुग्ने गरी दुईतले पक्की भवन आफ्ना भाइहरू समेतको सहयोगमा निर्माण गरे।

क्याक्मी गाउँ वडा नं ८ मा रहेको देउराली डाँडा प्राथमिक विद्यालयको भवन सन् २००९ मा पहिरो आएर ध्वस्त भएपछि धर्मपत्नी कृष्णा थापामगरका पहलमा नयाँ पक्की भवन निर्माण गरी दिए । जसबाट उक्त प्राथमिक विद्यालय नि.मा.वि. मा स्तर उन्नति हुन गयो । सन् २०१३ मा आफ्नो पहिलो कृति “देशको माटोमा मेरो फूल” कविता सङ्ग्रह विक्रिको वितरणबाट आएको सम्पूर्ण रकम दुई लाख सतचालिस हजार रूपैँया लगानी गरी सोही देउराली डाँडा नि.मा.वि. को अर्को नयाँ भवन पनि निर्माण गरी दिए । दोस्रो कृति “क्याक्मीको कोसेली” कविताको बिक्रि वितरणबाट आएको सम्पूर्ण रकम दुई लाख उनन्साठी हजार रूपैँया सन् २०१५ मा भुइँचालो गएर पूर्ण रुपमा क्षतिग्रस्त भएको क्याक्मी कुटुम्सा अवस्थित पोखरी भञ्ज्याङ्ग निमाविको नयाँ पक्की भवन निर्माण गर्न दिएको र थप तीनसय पुस्तक विद्यालयलाई हस्तान्त्रण गरे ।

“बयान” र “बस्ती” को समीक्षा क्रमश शुरेसजङ्ग शाह र बिश्वासदिप तिगेलाले गरे । प्रमुख अतिथि राजदूत तथा साहित्यकार डा. दुर्गा बहादुर सुबेदीले आफु पनि साहित्यमा कलम चलाउने भएकाले यस्ता कार्यक्रममा सकेसम्म उपस्थिति जनाउने बताए । नेपाली गीत सङ्गीत र गायकहरुको धरोहर पुराना पुस्तादेखि अहिले सम्मका गायक तथा गीतकारहरुको नाम पनि राजदूतले लिए । त्यसपश्चात गीतकार थापाले आफना एल्वमका बारेमा बोल्दै सम्पूर्ण आगन्तुक, अतिथि र कार्यक्रमलाई सफल पार्न खटिएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।

शुरेस जङ्ग शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य लेखककी श्रीमती कृष्णा थापामगरले गरेकी थिइन्।

विमोचनपछि करिब दुई घण्टा लामो साङ्गीतिक कार्यक्रममा नृत्य, गीत र बाँसुरीको धुन रहेको थियो । उक्त कार्यक्रमलाई जानुका राई र सजना थापाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री