‘बुद्धको दर्शन नेपाल-श्रीलङ्का सम्बन्ध विस्तारको आधार’

श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा मङ्गलबार शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर ः कोलोम्बो (श्रीलङ्कका), रासस 

कोलोम्बो (श्रीलङ्कका), २ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सगरमाथाको देश नेपाल र ‘पूर्वको मोती’ श्रीलङ्काबीच शताब्दीऔँंदेखि सुमधुर सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुई देशबीचको मित्रता अझै प्रगाढ भई उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले मित्रता र सहयोगको द्विपक्षीय सम्बन्ध सामाजिक, सांस्कृतिक र धार्मिक निकटताबाट अभिप्रेरित रहेको बताउँदै गौतम बुद्धको दर्शन र सन्देश दुई देश र यहाँ जनताका बीच सम्बन्ध स्थापनाका निमित्त आधारका रुपमा रहेको बताउनुभयो ।

उहाँले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको समावेशी संविधानले महिला र पिछडिएका समुदायको अधिकार स्थापित भएको उल्लेख गर्दै यसलाई व्यवहारमा परिणत गर्न सरकार निर्वाचनमार्फत संविधानको कार्यान्वयनमा लागिपरेको बताउनुभएको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

सो अवसरमा श्रीलङ्काका पूर्वराष्ट्रपति कुमारतुङ्गाले नेपाल र श्रीलङ्काबीच आपसी विश्वास र सद्भावको विकास बढेर गएको बताउँदै नेपालको हित र विकासमा श्रीलङ्का सरकार सदैव साथमा रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री