१३ गोर्खा सैनिकहरुले सगरमाथाको शिखर चुमे

लन्डन । बेलायती सेनामा कार्यरत १३ गोर्खा सैनिकले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । ‘गोर्खा एभरेष्ट एक्सपिडिसन’ नामक पर्वतारोहण अभियानअन्तर्गत सहयोगी शेर्पाहरुसहित टोलीका तीन सदस्यहरु धनीराम राई, कृष्ण थापा र निर्मल पुलामी १५ मे सोमबार स्थानीय समयानुसार २ बजेर १० मिनेटमा शिखरमा पुग्न सफल भए भने सोही टोलीका अन्य १० सदस्यहरु भोलिपल्ट १६ मेका दिन शिखरमा पुग्न सफल भएका छन् ।

विश्व विख्यात लडाकु गोर्खा सैनिकको इतिहासमा सर्बोच्च शिखर सगरमाथा चढिएको यो नै पहिलो सफल अभियान हो । बेलायती सेनाको गोर्खा ब्रिगेडमा ऐतिहासिक नेपाल कप जस्तै यो अभियान पनि वार्षिक रुपमा अगाडि बढाइने अनुमान छ ।

बेलायतमा गोर्खा सैनिक सेवाको २०० वर्ष पुरा भएको उत्सव मनाउँदै सन् २०१५ मा पनि एक टोली आरोहणमा गएको थियो । तर, विनाशकारी महाभूकम्प र विशाल हिमपहिरोका कारण अभियान स्थगित गरेर गोर्खा सैनिकहरु उद्दार कार्यमा खटिएका थिए । हिम पहिरोको कारण सयौँ घाइते हुनुका साथै १८ पर्वतारोहीले ज्यान गुमाएका थिए ।

बेलायती सैनिक इतिहासमा नै पहिलोपटक सर्वोच्च शिखर सगरमाथा आरोही टोली हाल बेस क्याम्पतिर फर्किरहेको र चाँडै काठमाण्डौ अनि बेलायत फर्किने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री