विभिन्न जिल्लाबाट मत परिणाम आउने क्रम जारी (पछिल्लो अपडेट)

नवलपरासीको मध्यविन्दु नगरपालिकाको प्रमुखमा काँग्रेसका चन्द्रबहादुर राना विजयी भएपछि विजयी उत्सवमा सहभागी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस

शुक्लागण्डकीमा काँग्रेस र भिमाद नपा र घिरिङ गापामा एमाले विजयी

दमौली, ४ जेठ । शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका किसान गुरुङ तथा भिमाद नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मेखबहादुर थापा विजयी भएका छन् ।

किसान गुरुङ नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामचन्द्र उपाध्यायले आठ हजार सात सय ५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपप्रमुखमा एमालेकी सविता रसाइलीले आठ हजार नौ सय ८३ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की सर्वदा खनालले सात हजार चार सय ३६ मत प्राप्त गरेका थिइन् ।

शुक्लागण्डकीका १२ वडामध्ये ७ वटामा एमाले, ३ वटामा काँग्रेस र २ वडामा माओवादी केन्द्र विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै मेखबहादुर थापाले छ हजार चार सय ६४ मत प्राप्त गरी भिमाद नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्प पराजुलीले छ हजार ८० मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा एमालेकै शारदा खनालले छ हजार सात सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी काँग्रेसका इन्दिरा खनालले पाँच हजार सात सय ७७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका रनबहादुर रानाले तीन हजार ७३० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुवीर थापाले दुई हजार आठ सय १९ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा एमालेकै सरस्वती घिमिरे तीन हजार सात सय १३ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्जला अर्यालले दुई हजार सात सय ६२ मत प्राप्त गर्नुभएको थियो ।

तनहुँका दस वटा स्थानीय तहमध्ये नौ वटा तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । भानु नगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत शिवप्रसाद लम्सालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री