बेलायती महारानीलाई सुरक्षा दिन्छन् नेपाली

क्याप्टेन ललित गुरुङ 
(एमभिओ) बायां र क्याप्टेन गणेश तामाङ

लन्डन । ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय 
राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजावेथ द्वितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छन् उनी । संयुक्त अधिराज्य बाहेक क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्ड समेतकी रानी एलिजावेथ द्वितीय लाई बेलायतमा संविधानको संरक्षकका रुपमा पनि 
लिइन्छ ।

बेलायती जनता र विश्वमाझ लोकप्रिय यी महारानीका विश्वासिला सैनिक हुन् गोर्खा । क्याप्टेन ललित गुरुङ 
(एमभिओ) र क्याप्टेन गणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्सका रुपमा । बकिङहम प्यालेस होस् वा विभिन्न शहरमा रानी सवारी हुने समारोह, रानीको गार्डिङ जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।

‘सभा समारोह र पार्टीमा महारानीसंगै हिंडेर सुरक्षा दिने, 
रानीको रेखदेख र काम पर्दा अगाडि उपस्थित हुने हाम्रो जिम्मेवारी छ’, ललितले भने, 
‘रानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ । रोचक के भने समारोहमा रानीसंग हिंड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।’

उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना बितेको छ । अब अगष्टसम्म बांकी छ यस्तो दायित्व । हालसम्म उनीहरु रानीको ३५ वटा औपचारिक कार्यक्रमसहित दरबारमा भएका गार्डेन पार्टी र प्यालेसबाहिर कयौं कार्यक्रममा सरिक भइसके ।

‘हाम्रा बाबु बाजेको विश्वासले गर्दा यस्तो जिम्मेवारी पाएका छौं, गर्व लाग्छ’, ललित दंग हुंदै भन्छन्, ‘यस्तो जिम्मेवारी पाउनु चानचुने होइन । गोर्खा बटालियन अफिसरबाट वर्षेनी उत्कृष्ट दुई जना छान्दा हामी परयौं ।’

रानी आफ्नो मात्र होइन, समस्त ब्रिगेड अफ गोर्खाजको आमा सरह भएको बताउंछन् ललित । ललितका बाजे इन्डियन आर्मीमा थिए । बाबा रिटायर्ड क्याप्टेन (क्यूजिओ) सूर्ज बहादुर गुरुङले पनि रानीलाई गार्डिङ गरेका थिए । 
‘हाम्रो पुस्ताले पनि यस्तो मौका पाउंदा गर्व लाग्छ’, उनले सुनाए । ललितका दाई पनि ब्रिटिश आर्मीमै थिए, कलर सार्जन्टबाट अवकास लिए ।

सन् १८७६ बाट दरबारले वर्षेनी दुई जना गोर्खालाई दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्स नियुक्त गर्ने प्रचलन शुरु भएको ललितले बताए । पहिलो र दोश्रो विश्वयुद्धले बीचमा यो रोकिएपनि क्वीन भिक्टोरियाले सन् १९५४, ११ मार्चदेखि फेरि शुरु गरेको इतिहास छ ।

कास्कीको वारचोक गाउंबाट अहिले पोखरा माटेपानी बसाइ सरेको छ उनको परिवार । सन् १९९२ मा ब्रिटिस आर्मीमा भर्ती भएपछि ललित कोसोभो, बोस्निया, 
सेरालिओन र अफगानिस्तान खटिइसके । अफगानिस्तान युद्धमामात्र तीनपटक खटिएको उनले बताए ।

वानआरजिआरका क्याप्टेन ललितले रानीको कोहीप्रति चासो लिएर सोधखोज र ख्याल गर्ने बानी भएको बताए । गत मार्चमा रानीले दरबारमा ललितलाई मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर (एमभिओ) पदक दिने बेला सर्भिसका लागि धन्यवाद दिंदै सोधेकी थिइन्, ‘नेपालमा कस्तो छ अहिले ? स्थानीय चुनाव के हुंदैछ ? अहिले ब्रुनाइमा रहेको वानआरजिआर यूके कहिले आउंछ ?’

‘मेरो धेरै अगाडिदेखि गोर्खासंग भावनात्मक सम्वन्ध छ । मेरो विश्वासिलो र उत्कृष्ट रोजाइको आर्मी गोर्खा हुन्’, 
रानीको भनाइ उधृत गर्दै ललितले भने ।

रानी ९१ वर्ष उमेरको भएपनि ‘फिट एण्ड फाइन’ भएको बताउंछन् उनी । ‘दरबारभित्र कुनै समारोह हुंदा उहां झण्डै डेढ दुई घण्टासम्म लगातार उभिएर गफ गर्न सक्नुहुन्छ’, उनले सुनाए, ‘रानी भन्दैमा घुम्ने, खाने बस्ने, सुत्ने मात्र बानी उहांको छैन् । बिहान साढे ६ बजेतिर उठेर ब्रेकफास्ट खाएपछि निजी चिकित्सक, 
नर्सले स्वास्थ्य जांच गरेपछि अफिस बसेर नियमित काम गर्नुहुन्छ महारानी ।’

रानीले बकिङहम प्यालेसभन्दा वीन्जर क्यासलमा बस्न मन पराउने उनले सुनाए ।

रानीको समारोह नभएका बेला ब्रिगेड अफ गोर्खाज हेडक्वाटर स्यान्डस्र्टमा कार्यरत हुन्छन् उनी । ललितका एक छोरा, एक छोरी र श्रीमति छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री