लन्डन साउथ हयारोमा मेलिना-रेवत धमाका

लन्डन । गायिका मेलिना राई र गायक रेवत राई दोश्रो पटक सांगीतिक भ्रमणमा बेलायत आउंदा दंग छन् । दर्शकहरुबाट पाएको अथाह मायाले उनीहरु थप उत्साहित भए यसपटक ।

शुक्रबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा उनीहरुले दोश्रो प्रस्तुति दिंदा हल खचाखच थियो, तस्विर लिन दर्शकहरु तंछाडमछाड गरिरहे । नाचेर रमाउनेको कमी भएन । शिरैमा शिरबन्दी…, कम्मरमाथि पटुकी…लगायत चर्चित गीतकी गायिका मेलिनाको स्वर जति सुमधुर थियो, हाउभाउ पनि उस्तै । युवा पुस्तामाझ लोकप्रिय हुंदै गएका रेवत राईको प्रस्तुति पनि आकर्षक रहयो ।

इमिडिया हब लि. यूकेले कलाकारलाई कार्यक्रम गर्न निम्त्याएको हो । ‘एभरेष्ट म्यूजिकल ब्लास्ट’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा नेपालबाट आएका ति दुई कलाकारले झण्डै अढाइ घण्टा कयौं गीत प्रस्तुत गरे ।

लेक्स लिम्बु र निया देवानले सञ्चालन गरेको उक्त कार्यक्रममा अर्को आकर्षण थिइन् यूके डान्स अफ २०१६ जेनी सुनुवार । उनको हट नृत्यले दर्शक उत्तेजित नबन्ने कुरै भएन । मिरा फगामीले पनि नाच देखाइन् । स्थानीय कलाकारहरु किशोर पुन, दीपक राई, सोनाहाङ राईले पनि गाए । सोनाहाङ बेलायतमा हुन लागेको ‘एभरेष्ट आइडल’ का प्रतिष्पर्धी हुन् ।

तस्विरः बीरेन्द्र श्रेष्ठ

कार्यक्रममा इमिडिया हब लि. यूकेका सिइओ इश्वर चाम्लिङ, किसन राई लगायतले स्वागत मन्तव्य दिएका थिए ।

इन्जिनियर हेम विष्टको साउण्ड सिस्टम थियो ।

कार्यक्रम हेर्न यती नेपाली एसोसिएसन यूके पूर्व अध्यक्ष उमेशराज मोक्तान दम्पति, गोर्खा अभियन्ता सूर्य नेम्वाङ, व्यवसायी देव गुरुङ, लन्डन नेपाल न्यूजका प्रवन्ध निर्देशक राजकुमार त्रिपाठी लगायत सञ्चारकर्मी र सयौं दर्शकको सहभागिता थियो ।

एभरेष्ट म्युजिकल ब्लास्टको पहिलो संस्करण गत शनिबार अल्डरसटमा भएको थियो । बेलायतका विभिन्न शहरमा हुने उक्त सांगीतिक कार्यक्रम आज शनिबार सांझ हकिन्ज कम्युनिटी सेन्टर, केन्टमा हुंदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री