तमुधिं यूके र राजदूतको झगडा मिल्यो

लन्डन । आफूलाई गोर्खा कपमा प्रमुख अतिथी नबनाएको आक्रोश सार्वजनिक कार्यक्रममै व्यक्त गरेपछि चिसिएको तमुधिं यूके र राजदूतबीचको सम्वन्ध सुध्रिएको छ ।

बुधबार सांझ दुवै पक्षबीच दूतावासमा भएको छलफलमा विगत तिक्तता बिर्संदै सहकार्यमा अगाडि बढ्ने सहमति भएको हो । सोमबार सांझ दूतावासमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले गोर्खा कपमा आफूलाई प्रोटोकल विपरित वडा अध्यक्ष भन्दा तल राखिएको आक्रोश पोखेका थिए ।

वार्तापछि तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बिहीबार एक विज्ञप्ति जारी गर्दै संस्थाले गोर्खा कपमा राजदूत डा. सुवेदीको गरिमा र मर्यादामा केही कमी कमजोरी भएको स्वीकारेका छन् । बेलायतमा नेपालीको सबैभन्दा ठूलो जातीय संस्था तमु धिं यूकेले व्यवस्थापकीय कमजोरी सुधार गर्दै आगामी दिनमा पुनरावलोकन गर्न तयार रहेको जनाएको छ ।

भविष्यमा नेपाली राजदूतको समुपस्थिति हुने समारोहमा राजदूत पदको गरिमा, मर्यादा र सम्मानप्रति आफू पूर्णरुपले सचेत हुने प्रतिवद्धता समेत तमुधिं यूकेले व्यक्त गरेको छ । साथै संस्थाले नेपाली दूतावाससंग सहकार्य गरेर आगामी दिनमा नेपाली मेला, गोर्खा कप लगायत नेपाल र नेपालीको हित र कल्याण हुने कार्यमा अझ अग्रसर भई कार्य गर्न सदैव इच्छुक रहेको व्यहोरा समेत अवगत गराएको छ ।

तमु धिं यूकेले २८ मे मा सम्पन्न १५ औं गोर्खा कपमा राजदूत सुवेदीको समुपस्थिति र उद्घाटनका लागि कृतज्ञता समेत प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री