वेम्ली एरिनामा अर्को इतिहास रच्दै नेपाली

लन्डन । लन्डन वेम्लीस्थित विश्वप्रसिद्ध एसएसइ एरिनामा नेपालीले अर्को ऐतिहासिक कन्सर्ट गर्दैछन् यही १७ जुन सांझ शनिबार । कन्सर्टमा एकैपटक चार वटा ब्याण्डको प्रस्तुति हुन लागेको हो । युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब एवं एज ब्याण्ड गरि चारवटा व्याण्डले एकैपटक गीत संगीत प्रस्तुत गर्ने तयारी छ ।

बी फेस्ट र पर्चा प्रोडक्सनले गर्न लागेको ‘जुन फेस्टिभल’ नामक कन्सर्टका लागि २५ सदस्यीय कलाकारहरुको टिम लन्डन उत्रिइसकेको आयोजकले जनाएका छन् । बुधबार र बिहीबार दुई दिनमा कलाकार लन्डन आएका हुन् । बेलायत उत्रिएपछि कलाकारहरुको सम्मानमा अल्डरसटस्थित प्यालेसमा मिट एण्ड ग्रीट गरिएको छ ।

‘तयारी व्यापक छ, कलाकारहरुले आज वेम्ली एरिना भिजिट गरे’, आयोजक पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले भने, ‘भोलि शुक्रबार अन्तिम रिहर्सल हुनेछ । हामी शनिबारको कार्यक्रमका लागि ज्यादै उत्साहित छौं ।’

सन् २०१३ मा पर्चा प्रोडक्सनले वेम्ली एरिनामा पहिलोपटक ‘नेपथ्य’ ब्याण्ड ल्याएर कन्सर्ट गरेको थियो । झण्डै चार वर्षपछि उही भेन्यूमा हुन लागेको 
कन्सर्ट यसपटक ब्याण्ड र दर्शक संख्याका कारण अझ ऐतिहासिक हुने आयोजकको विश्वास छ ।

साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा कम्तीमा दश हजार दर्शक उतार्ने चुनौति आयोजकमाथि छ । आयोजकका तर्फबाट कार्यक्रम सफल बनाउन समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ र प्रशासन गुरुङ जुटेका छन् । ३५ पाउण्ड प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा निरन्तर चल्नेछ ।

‘नेपाली संगीतप्रेमी दर्शकहरुले यो कार्यक्रम छुटाउनै हुंदैन्’, समिर भन्छन्, ‘कार्यक्रममा सहभागी भएर कलाकार अनि नेपाली गीत-संगीतप्रतिको माया दर्शाइदिन हामी बेलायतवासी सबै नेपालीमा आग्रह गर्दछौं ।’ उनले कार्यक्रममा कडा सुरक्षा व्यवस्था मिलाइएको जनाउंदै ढुक्क भएर मनोरन्जन लिन पनि आग्रह गरे ।

नेपाली गीत संगीत अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रम आयोजक

प्रतिक्रिया

सम्बन्धित सामाग्री