वेम्ली एरिनामा नेपालीले रचे अर्को इतिहास

लन्डन । सांगीतिक कार्यक्रमका लागि विश्वमै ‘आइकोनिक भेन्यू’ मानिन्छ वेम्ली एरिना । ८२ वर्ष अघि निर्मित उक्त भवनमा ओलम्पिक खेलदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु म्याडोना, डेभिड बो, द हु, डोली पार्टन, स्टिभ वन्डर, प्रिन्स देखि द बिटल्स, रोलिङ स्टोन्स्, आशा भोस्ले, ए आर रहमान लगायत हजारौंले आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

महंगो त्यही अन्तर्राष्ट्रिय मञ्चमा शनिबार सांझ नेपाली गीत संगीत गुन्जियो । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा झण्डै ७ हजार नेपाली युवा ओइरिए । वेम्ली एरिना र वेम्ली स्टेडियम नेपाली युवाले ढाके ।

एकैपटक चार वटा नेपाली ब्याण्डले आफ्नो कला प्रस्तुत गरेर नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय उचाईंमा पुरयाउने प्रयास गरे । युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब अनि एज ब्याण्ड गरि चारवटा सांगीतिक समूहले एउटै प्लेटफर्ममा गीत संगीत प्रस्तुत गर्दा युवा दर्शकले संगै गाएर नाचेर साथ दिए । बसेर भन्दा उठेर हेर्ने दर्शक अत्यधिक थिए ।

कार्यक्रमको शुरुमै नेपाली लोक बाजाको उत्थानमा समर्पित लोकप्रिय ब्याण्ड कुटुम्बले असारै महिनामा, रातो र चन्द्र सूर्य, सोध रामलाई लगायत गीत संगीत र धुन प्रस्तुत गरेर दर्शकलाई ‘वार्म अप’ गराएको थियो ।

कन्सर्टमा गायक विपुल क्षेत्रीको युवा क्रेज अत्यधिक देखियो । क्षेत्रीले डढेंलो लाग्यो, अल्लारे यो जोवन, सिरिरी हावा बग्यो सुस्तरी, भेट भयो आज हामी लगायत आफ्ना कयौं हिट आइटम प्रस्तुत गरे ।

एज व्याण्डको प्रयास हो मेरो, नचाहेको होइन तिमीलाई…गीत देखि अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शकको कमी रहेन ।

सन् २०१३ मा नेपथ्यले पहिलो पटक वेम्ली ऐरिना टेकेको थियो । नेपथ्यले रचेको इतिहास दोश्रो पटक ति व्याण्डले अनुशरण गरेका हुन् । विपुलकी फ्यान लन्डन वेम्ली निवासी अप्सरा गुरुङले प्रतिष्ठित वेम्ली एरिनामा कन्सर्ट हुनु नेपाली संगीतमा एउटा फड्को भएको बताइन् । झण्डै अढाइ घण्टा दुरी पार गरेर फोकस्टन देखि आएका तीर्थ दुरा पनि दंग देखिन्थे । उनले चार घण्टा लामो कार्यक्रममा दर्शकदीर्घाबाटै ननस्टप गाए, तस्विर लिए ।

बी फेस्ट र पर्चा प्रोडक्सनले ‘जुन फेस्टिभल’ नामक 
कन्सर्ट गरेका हुन् । कार्यक्रमका लागि २५ सदस्यीय कलाकारहरुको समूह बेलायत आएको छ । आयोजक पर्चा 
प्रोडक्सनका सिइओ समिर गुरुङले नेपाली कलाकार र गीत संगीतलाई अन्तर्राष्ट्रिय मञ्च दिनु आफूहरुको मुख्य उद्देश्य रहेको बताए ।

नेपालीले वेम्ली ऐरिनामा हत्तपत्त आंट्न नसक्ने उक्त कार्यक्रम समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ, प्रशासन गुरुङ लगायतको संयुक्त प्रयासमा भएको हो ।

तस्विर सौजन्यः रुपक प्रजापति/के के मूभिज

प्रतिक्रिया

सम्बन्धित सामाग्री