यति कार्पेट आगलागीबाट रु एक अर्ब ५० करोडभन्दा बढी क्षति

भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यति कार्पेट इन्डस्ट्रिजमा भएको भिषण आगोलागी नियन्त्रणका लागि आएका दमकल । आगोलागीबाट सो उद्योगमा डेढ अर्ब रुपैया भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस

भक्तपुर, ४ असार । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यति कार्पेट इन्डस्ट्रिजमा आज दिउँसो पुनः आगलागी भएको छ ।

गएराति ११ः३० बजेदेखि सुरु भएको आगलागी आठ घन्टापछि आज बिहान ७ः३० बजे नियन्त्रणमा आए पनि दिउँसो फेरि आगलागी भएको हो ।

दिउँसो पुनः आगलागी भएपछि भक्तपुर बारुण यन्त्रका दुईवटा दमकलले साँझ साढे सात बजेसम्म पनि आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

भक्तपुर बारुण यन्त्रका प्रमुख विजय धौभडेलले भन्नुभयो, “उपत्यकाका आठवटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको प्रयास र विभिन्न ट्याङ्करबाट ओसारिएको पानीले बिहान आगो नियन्त्रणमा आइसकेको थियो, अचानक दिउँसो फेरि केमिकल बलेर आगलागी भयो, साँझसम्म नियन्त्रणको प्रयास जारी राखेका छौँ ।”

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा भएको आगलागीबाट रु एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग व्यवस्थापक धमेन्द्र यादवले सडकमा रहेको ट्रान्सफर्मर पड्किएर निस्केको आगोको मुस्लो उडेर उद्योगको फाइबर राखेको ठाउँमा खसेलगत्तै भीषण आगो लागेको बताउनुभयो ।

आगलागीबाट उद्योगकै दुईवटा सवारीसाधन, दुईवटा पक्की भवन, पाँचवटा जस्ताका टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की घर र २० भन्दा बढी मेसिन जलेर नष्ट भएका छन् । २४ सै घन्टा सञ्चालन हुने उक्त उद्योगमा करिब १०० भन्दाबढी मजदुर कार्यरत रहेका र रातको समयमा ३५ जना मजदुर कार्यरत रहेको यादवले बताउनुभयो ।

मजदुर भन्छन् – ‘भविष्य अन्योल भयो’ 

आगलागी भएपछि निरास भएका यहाँका मजदुर उद्योग सखाप भएसँगै आफ्नो भविष्य पनि अन्योल भएको बताउँछन् । भोलिदेखि के गर्ने भन्ने चिन्तामा रहेका मजदुर उद्योगमा भएको आगलागीले परिवारको समेत भविष्य अन्योल भएको बताए ।

विगत २० वर्षदेखि यही उद्योगमा काम गर्दै आएका महोत्तरी सोनकहीका मनोहर यादव आफ्नो मात्रै नभई परिवारकै भविष्य अन्योल भएको बताउनुहुन्छ ।

यही उद्योगको स्टोरमा काम गर्दै आएका उहाँ भन्नुहुन्छ, “श्रीमती, बालबच्चा पनि भक्तपुरमै बस्छन्, यही उद्योगमा काम गरेको तलबबाट परिवार, बालबच्चा पाल्दै आएको थिएँ, अब के होला रु परिवारको चिन्ताले पनि पिरोल्न थालेको छ ।”

सोह्र वर्षदेखि मेसिन अपरेटरको जिम्मेवारी सम्हाल्दै आउनुभएका रौतहटका शिवकुमार शाहले यहाँ काम गर्ने सबै कामदार भोलिदेखि के गर्ने भन्ने अन्योलमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो परिवारको रोजीरोटी दिने उद्योग जलेर खरानी भयो, उद्योग नै छैन, अब के गर्ने, सोच्नै सकेको छैन ।” असार महिनाको अन्तिमको तलबबाहेक वर्षदिनभरि पाउने अतिरिक्त सुविधा पाउनेमा अब उद्योग नै जलेपछि त्यो आशासमेत मरेको कर्मचारी बताउँछन् ।

यही उद्योगमा १८ वर्षदेखि मेसिन अपरेटरका रुपमा काम गर्दै आएका सिन्धुलीका ऋषि भुजेलले भन्नुभयो, “मैले १८ वर्ष काम गरेको कारखाना, हेर्दाहेर्दै खरानी भयो, आफ्नै भविष्य पनि खरानी भए जस्तै लाग्न थाल्यो, केही सोच्नै सकेको छैन ।” यहाँ कार्यरत मजदुर भोलिको भविष्य के हुने भन्ने अन्योलमै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री