जेनेभाबाट फर्किइन् राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्याण्डको जेनेभामा आयोजना भएको १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिएर फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती लगायत । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्कनुभयो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मुख्यसचिव डा सोमलाल सुवेदीलगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो ।

नेपालका राष्ट्राध्यक्षको स्तरबाट अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन भएको यो पहिलो अवसर हो । शिखर सम्मेलनमा नेपालका अतिरिक्त विकसित तथा विकासशील माल्टा र मरिससका महिला राष्ट्राध्यक्षले पनि सम्बोधन गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले भेदभाव तथा असमानताको जगमा कुनै पनि समाज लामो समयसम्म उभिन नसक्ने बताउँदै महिलाविरुद्धको भेदभाव अन्त्य हुनैपर्ने तथा यसका लागि सबैले अर्थपूर्ण प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभएको विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।

“राष्ट्रपति भण्डारीले महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सबलीकरण नभएसम्म समतामूलक, न्यायोचित तथा शान्तिपूर्ण समाजको कल्पना गर्न नसकिने कुरा सम्मेलनमा राख्नुभयो”– पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले दशकौँको प्रयासपछि पनि लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा अभिव्यक्त अन्तर्राष्ट्रिय वचनबद्धताको कार्यान्वयन पक्ष कमजोर रहेको बताउँदै श्रमिक महिलाको प्रगति सुस्त र व्यवधानपूर्ण रहेकामा चिन्ता प्रकट गर्नुभएको पनि उहाँले बताउनुभयो ।

उहाँले झन्डै सात दशकको अनवरत सङ्घर्ष पछि २०७२ साल असोज ३ गते नेपाली जनताले चुनेका प्रतिनिधिमार्फत संविधान निर्माण गरेको ऐतिहासिक उपलब्धिको चर्चा गर्दै विभेद र उत्पीडन अन्त्य गरी समानता, सामाजिक न्याय, समानुपातिक समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माण गर्ने आदर्शमा संविधान स्थापित भएको बताउनुभयो । संविधानले विभेदरहित समाजको परिकल्पना गरेको र नागरिकका लागि प्रत्याभूत गरिएका कतिपय अधिकार तुलनात्मक रूपमा उच्चकोटीको रहेको पनि सम्मेलनमा राष्ट्रपति भण्डारीले बताउनुभएको जानकारी दिनुभयो ।

संविधानले लैङ्गिक भेदभावबिना समान वंशीय हक, हिंसाजन्य कार्य वा शोषणविरुद्धको हक, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा महिला लक्षित विशिष्ट अधिकार प्रदान गरेको राष्ट्रपतिले बताउनुभएको पनि उहाँले उल्लेख गर्नुभयो ।

श्रमको संसारलाई मर्यादित, समतापूर्ण र सामाजिकरूपमा न्यायसम्मत बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनले पुरयाएको विशिष्ट योगदानको प्रशंसा गर्दै हालै सम्पन्न निर्वाचनमा नेपाललाई आइएलओ गभर्निङ बोर्डमा निर्वाचित गरेकामा सम्पूर्ण सदस्य राष्ट्रप्रति राष्ट्रपति भण्डारीले हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

सम्मेलनपूर्व आइएलओका महानिर्देशक गाय राइडरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो । सो अवसरमा नेपाल आइएलओ सहकार्यको ५० वर्ष उपलब्धिमूलक रहेकामा सन्तोष व्यक्त गर्दैै नेपालमा आइएलओको सहयोग थप विस्तार गर्ने विषयमा महत्वपूर्ण कुराकानी भयो । सम्मेलनमा सम्बोधनपश्चात् राष्ट्रपति भण्डारीले आइएलओको स्वर्ण पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

आइएलओका महानिर्देशकले प्रमुख अतिथि नेपाल, माल्टा र मरिससका राष्ट्राध्यक्षको सम्मानमा दिवा भोजको आयोजना गर्नुभयो । सम्मेलनपूर्व तीनैजना महिला राष्ट्राध्यक्षलाई आइएलओ मुख्यालयमा महानिर्देशक राइडरले हार्दिक स्वागत गर्नुभएको थियो ।

महानिर्देशक राइडरले सम्मेलनको महत्वमाथि प्रकाश पार्दै यो शिखर सम्मेलनमा तीन जना महिला राष्ट्राध्यक्षको उपस्थिति ऐतिहासिक र गरिमापूर्ण रहेको विचार राख्नुभएको थियो ।

जेनेभा भ्रमणका क्रममा राष्ट्रपतिले युरोपियन काउन्सिल फर न्युक्लियर रिसर्च (सेर्न) को भ्रमण गरी अणु भौतिकशास्त्रका क्षेत्रमा भएका अनुसन्धानबारे जानकारी लिनुभयो । प्रस्तुतिका क्रममा वैज्ञानिक अनुसन्धानले सूचना प्रविधि र चिकित्सा विज्ञानलाई सहयोग पु¥याउने विषयमा जानकारी गराइएको थियो ।

सेर्नको गभर्निङ काउन्सिलले एक दिनअघि मात्र नेपालसँगको साझेदारी सम्झौता गर्ने प्रक्रियालाई अन्तिम रुप दिएको थियो । दुवै पक्षबाट हस्ताक्षर भएपछि नेपाल र सेर्नबीचको सहयोगले औपचारिकता पाउनेछ । यसबाट सेर्नमा हुने उच्चस्तरका वैज्ञानिक शोध र अनुसन्धानबाट नेपालजस्ता मुलुकले सूचना प्रविधि एवम् चिकित्सा विज्ञानमा लाभ उठाउन सक्ने भएको छ । यसबाट नेपालका वैज्ञानिकलाई तालिम तथा अध्ययन अनुसन्धानको अवसर प्राप्त हुनसक्ने देखिन्छ ।

राष्ट्रपति भण्डारीले इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आइयुसीएन) को मुख्यालयको भ्रमण गरी वातावरण संरक्षणमा नेपाल र आइयुसीएन बीचको लामो सहकार्यका बारेमा जानकारी लिनुभयो । आइयुसीएनका महानिर्देशकले नेपालमा प्रकृति संरक्षणमा भएका कतिपय उत्कृष्ट काम सबैका लागि अनुकरणीय रहेको बताउँदै नेपालले जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।

आइयुसीएनको सहयोगमा हाल भू–क्षय नियन्त्रण, बाघ संरक्षण, प्राकृतिक सम्पदा संरक्षण लगायतका कार्यक्रम सञ्चालनमा रहेका छन् । संरक्षण रणनीति तथा प्रदूषण नियन्त्रण रणनीति तयार पार्न आइयुसीएन र नेपाल सरकारका सम्बन्धित निकायबीच परामर्श भइरहेको छ ।

जेनेभा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली स्थायी प्रतिनिधि दीपक धितालले स्वागत समारोहको आयोजना गर्नुभएको थियो ।

सो अवसरमा मरिससका सम्माननीय राष्ट्रपति, जेनेभास्थित कूटनीतिक नियोगका प्रमुख, अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रतिनिधिको पनि उपस्थिति थियो । साथै, उहाँले स्वीट्जरल्यान्डमा रहेका नेपाली समुदायलाई आमन्त्रण गरी राष्ट्रपति भण्डारीको सम्मानमा रात्रि भोजको आयोजना पनि गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले उपस्थित नेपाली समुदायलाई सङ्क्षिप्त शुभकामना सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री