तीनै तहको निर्वाचन गर्न एमालेले दबाब दिने

एमाले अध्यक्ष के .पी शर्मा ओली । तस्बिर – निमदत्त सुवेदी, रासस

बनियानी (झापा), ५ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब दिने बताउनुभएको छ ।

एमाले कनकाई नगरले यहाँ आज आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउन दबाब दिने बताउनुभयो । “सुरुदेखि नै एमालेले निर्वाचन गराउनुपर्छ भन्दै आएको छ”– उहाँले भन्नुभयो, “निर्धारित समयमा चुनाव नभए देश गम्भीर सङ्कटमा फस्छ ।”

संविधान कार्यान्वयनका लागि निर्वाचन निर्विकल्प भएको बताउँदै एमालेलाई कमजोर बनाउन २ नम्बर प्रदेशको निर्वाचनको मिति सारिएको उहाँले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “एमालेले २ नम्बर प्रदेशमा राम्रो जीत हासिल गर्छ”– उहाँले चुनाव हुन नदिन विभिन्न तत्वले चलखेल गरिरहेको दाबी गर्नुभयो । एमाले राष्ट्रियताका पक्षमा रहेकाले राष्ट्रहित विपरीत कुनै काम हुन नदिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमालेका तर्फबाट कनकाई नगरप्रमुख पदका उम्मेद्वार राजेन्द्र पोखरेल र उपप्रमुख पदका मन्जु बस्नेतले २२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

प्रबिद्धतापत्रमा पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, औद्योगिक विकास लगायतका बुँदा समेटिएका छन् । प्रमुखका प्रत्यासी पोखरेलले नगरको विकासमा आफू प्रतिबद्ध रहेकाले सेवा गर्ने मौका दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री