लन्डनका युवा व्यवसायी मेहता इनरुवामा मेयर पदका उम्मेदवार

चुनाव प्रचार प्रसार अभियानमा मेहता (बायाबाट दोश्रो)

लन्डन । विगत १८ वर्षदेखि बेलायत रहेका युवा उद्यमी मनोज मेहताले इनरुवा नगरपालिकाको मेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन् ।

ओसन सर्भिसेस लिमिटेडका निर्देशक मेहताले विजयकुमार गच्छदार राष्ट्रिय अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट इनरुवा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका हुन् । उनका साथ उपमेयरमा मीरा पोखरेल अधिकारी चुनावी मैदानमा छन् ।

दोश्रो चरण अन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएसंगै मेहता चुनावी अभियानमा सक्रिय भएका छन् ।

दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।

‘बेलायतको सारा सुविधा छोडेर आफ्नो समाज र देश विकास गर्ने प्रयासमा लागेको छु’, मेहताले चुनावी मैदानबाट भने, ‘मेरो स्वार्थ केवल समाज रुपान्तरण, विकास र स्थानीय जनताको स्तरन्नोति छ । काम गर्ने मौका दिनुस् ।’ उनले केही व्यक्तिहरुले पैसा खन्याएर मेयर बन्न लागेको आरोप लगाएपनि उनले त्यो कुरा गलत भएको बताउंदै खण्डन गरेका छन् । ‘मलाई जनताको विश्वास र माया छ, पैसा खर्च गरेर चुनाव लड्नु 
पर्ने अवस्था छैन्’, मेहताले भने, ‘मेरो पारिवारिक राजनीतिक पृष्ठभूमि, प्रतिष्ठा र निस्वार्थ भावनाले जनमत जित्ने पुरा विश्वास छ ।’

उनले देशले विकास चाहेको र त्यो युवा पिंढीले मात्र गर्न सक्ने बताए । उनले नगरपालिकावासी ६५ हजारको सेवा र हितमा आफू समर्पित भएको समेत बताए ।

सन् १९९९ अक्टोबरमा विद्यार्थीका रुपमा बेलायत टेकेका मनोजले सन् २००३ देखि नै व्यवसाय थालेका थिए । शुरुतिर उनी प्रोपर्टी व्यवसायमा थिए । मनोजको नेपालमा पण्डित निर्माण सेवा र बराह कन्सट्रक्सन कम्पनी पनि सञ्चालनमा छन् । काठमाण्डौं कोटेश्वरमा होटल तपोवन छ । सबै बिजनेश अरुले हेरिदिएकाले आफू पूर्णकालिन समय राजनीतिमै लाग्ने मनोजको सोच छ ।

मेहताको ओसन सर्भिसेस लिमिटेडले बेलायतमा करिब सयजनालाई रोजगारी दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री