बेलायतभरका अग्ला भवन परीक्षण गरिने

लन्डन । बेलायत सरकारले मुलुकभरका ६ सय अग्ला भवनमा लगाइएका आवरण (क्ल्याडिङ) सुरक्षित छन् कि छैनन् परीक्षण गर्ने भएको छ । लन्डनको एक र अन्य सहरको दुई भवनका नमुना शीघ्र ज्वलनशील रहेको पाइएपछि सरकारले बेलायतभरका अग्ला भवन परीक्षण गर्ने भएको हो ।

केही दिनभित्रै अन्य भवनका परीक्षणको नतिजा सार्वजनिक गरिने जनाइएको छ । हालै लन्डनको ग्रेनफेल टावरमा ७९ जनाको मृत्यु हुने गरी लागेको आगो चाँडै फैलनुमा क्ल्याडिङ जिम्मेवार रहेको मानिएपछि अन्य भवनमा पनि परीक्षण गर्न लागिएको बताइएको छ ।

प्रधानमन्त्री टेरेजा मेले फ्ल्याटका लागि जिम्मेवार मानिएका सम्बन्धित स्थानीय अधिकारीहरूलाई भनि सकिएको बताइन् ।

ग्रेनफेल टावर घटनामा आलोचना भएपछि केन्जिङटन- चेल्सी काउन्सिलका प्रमुखले राजीनामा दिएपछि प्रधानमन्त्री मेले यस्तो घोषणा गरेकी हुन् ।

ईयूका जनताको अधिकार सुरक्षित गरिनेछ : मे

यसैबीच, प्रधानमन्त्री मेले युरोपियन युनियन (ईयू) बाट बहिर्गमनपछि पनि बेलायतमा बसोबास गर्दै आएका ईयूका जनताको अधिकार सुरक्षाको प्रत्याभूत गरिने बताएकी छन् ।

बेल्जियमको ब्रसेल्समा बिहीबार सञ्चारकर्मी बोल्दै उनले ब्रेक्जिट कार्यान्वयनमा आएपछि पनि बेलायतमा बस्दै आएका ईयूका जनताले पूर्ण रूपमा आफ्ना अधिकार प्रयोग गर्न वातावरण सिर्जना हुने गरी योजना ल्याउन लागेको बताइन् ।

प्रधानमन्त्री मे ईयूका नेताहरूसँगको दुईदिने बैठकमा ब्रेक्जिटबारे छलफल गर्न ब्रसेल्स पुगेकी हुन् । यसैबीच, जर्मन चान्सलर एंगेला मर्केलले आफूहरू ब्रेक्जिट वार्तामा ईयूको भविष्यलाई प्राथमिकतामा राखेर मात्र अघि बढ्ने बताएकी छन् । बेलायती प्रधानमन्त्रीले ल्याउने भनेको योजनाबारे आलोचना गर्दै उनले भनिन्, ‘मेरा लागि बेलायत बाहेकका २७ सदस्य राष्ट्रको भविष्य बेलायतको बहिर्गमनको विषयभन्दा महत्त्वपूर्ण रहनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री