मतदाता परिचयपत्र वितरण तिव्र – आयोग

काठमाडौँ, १२ असार । दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ ।

दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणका लागि मङ्गलबारसम्मको समयसीमा तोकेको छ ।

दोस्रो चरणको निर्वाचनको लागि कायम गरिएका चार हजार ५८१ मतदानस्थलमा आएर मतदाताले धमाधम परिचयपत्र बुझेर लैजाने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

आयोगले मतदाता परिचयपत्र वितरणसँगै सही तरिकाले मतहाल्न सिकाउन हरेक मतदान केन्द्रमा एक जनाको दरले मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको छ । दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, ११ नगरपालिका, २१५ गाउपालिका गरी ३३४ स्थानीय तहमा हुँदैछ ।

यो निर्वाचनका लागि तीन प्रदेशमा आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ ।

महेन्द्र माध्यमिक विद्यालय अमरगढी नगरपालिका–५ डडेल्धुरामा सोमबार दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि मतदान केन्द्रमा मतदातालाई परिचयपत्र वितरण गरिँदै । तस्बिरः रोशन सापकोटा, डडेल्धुरा, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री