खै के भनि बोलाउँ ?

नेपालीमा नाउँ वा थरको पछि ‘जी’, ‘ज्यू’ वा ‘सर’ ‘म्याडम’ को प्रयोग गरिन्छ । त्यसो त आफ्नो निकटलाई उसको नामबाट मात्रै पनि सम्बोधन गरिन्छ । म सधै ‘कन्फ्युज’ हुन्छु, कसलाई ‘जी’ भन्ने कसलाई  ‘सर’ वा ‘म्याडम’ भन्ने । कसलाई नामले मात्रै बोलाउने, कसको नाममा वा थरमा के थप्ने?  अनि अर्को फसाद, फेरी जसलाई ती शब्दहरु प्रयोग गरिन्छ उसले त्यो राम्रो मान्छ नै भन्ने के छ र?

अंग्रेजीमा एउटा शब्द ‘यु’ ले सम्बोधन गरे पुग्दा हामी त्यसैको लागि कम्तिमा पनि चार वटा शब्द ‘तँ, तिमी, तपाईं र हजुर’ प्रयोग गर्छौ । त्यस माथि पनि ‘बक्सियोस’ वा ‘सियोस’ को प्रयोग थपथाप गर्ने हो भने यो सूची लामै हुन जान्छ । हाम्रो नेपाली संस्कार नै आफू भन्दा ठूलालाई आदर गर्नु र सानोलाई माया गर्नु पर्छ भन्ने छ । तर आदरको लागि  ‘तिमी’ भन्दा माथि ‘तपाईं’ भन्ने शब्द र  मायाको लागि ‘तिमी’ भन्ने शब्द नै प्रयाप्त छ । अनि किन फेरी ‘हजुर’ को जरुरत पर्यो होला ?  म सधैं यो प्रश्न गर्छु । मलाई लाग्छ हामी नेपालीहरु आदर गर्न मात्रै हैन चाकडी गर्न पनि माहिर नै छौ । शायद त्यसैको लागि होला ‘हजुर’ शब्दको कहिलेकाहीं जरुरत पर्ने ।

मलाई लाग्छ, कसैलाई ‘तिमी’ भन्नुमा जुन आत्मियता छ, त्यो शायद अरु कुनै शब्दमा छैन । जति निकट भयो, उति ‘तँ र तिमी’ शब्द प्रयोग गरिन्छ । त्यसले पनि देखिन्छ कि ‘तँ’ र ‘तिमी’ नै निकट जनाउने शब्द हुन् । तर  ‘तँ’ शब्द भने अरुलाई होच्चाउन वा झन् निकट बनाउन पनि प्रयोग गरिन्छ ।

आज भन्दा छब्बीस बर्ष अघि जब मैले बिहे गरें, मैले मेरी पत्निलाई तिमी भन्थें । त्यो बेला मैले मेरी पत्निलाई पनि मलाई ‘तिमी’ नै भनेर सम्बोधन गर भनि अनुरोध गरें । त्यो बेला देखि नै मेरी पत्निले मलाई तिमी नै भन्छिन, तर घरमा र परिवारमा मात्रै । बाहिर समाजमा वा अरुको सामु भने उनी मलाई ‘हजुर’ ले नै सम्बोधन गर्छिन । उनलाई लाग्छ, अझै पनि हाम्रो समाजले पत्निले पतिलाई ‘तिमी’ भनेर सम्बोधन गरेको स्वीकार गर्देन ।

पितृसत्त्तात्मक हाम्रो संस्कारले पुरुषलाई जुन छुट र अधिकार दिएको छ, त्यो महिलालाई दिएको छैन । मैले मेरी पत्निलाई ‘तिमी’ भन्ने छुट र अधिकार दिए पनि हाम्रो समाजसंग उनलाई जुन त्रास र भय छ, त्यो मैले चाहेर पनि बदल्न सकेको छैन । त्यो नेपालमा मात्रै हैन, हामी गत बाह्र बर्षदेखि बेलायतमा बस्दा पनि उनले मलाई समाज र अरु सामु त्यो ‘हजुर’ भन्ने बानि छुटाउन सकेकी छैनन् ।

हाम्रा छोरा वा छोरीले कहिलेकाहीं मलाई र मेरी पत्निलाई मायाले ‘तिमी’ भन्ने गर्छन । त्यति बेला म ठान्छु उनीहरु हामीसँग खुब खुशी छन् र हामीलाई निकट मानेर तिमी भनेका छन् । म त्यति बेला निकै खुशी हुन्छु अनि मायाले मेरो मन गद्गद् हुन्छ । म चाहन्छु हाम्रो छोरा र छोरी सधैं हाम्रो साथी रहुन् । हामी निकट हुन् र आफ्नो सबै सुख र दु:ख निर्धक्क हामीसँग शेयर गरुन । मलाई लाग्छ, म जस्तै अरु अभिभावकलाई पनि त्यस्तै हुन्छ ।

कहिलेकाही म मेरा मित्रहरुलाई भन्ने गर्छु, मलाई ‘तिमी’ नै भन्नु । तिमी भन्दा जुन किसिमको आत्मियता र निकटको महसुस हुन्छ, त्यो अरु शब्दमा पाउँन सकिंदैन । त्यसैले म आफू पनि मेरा अरु मित्रहरु लाई ‘तिमी’ नै भन्न मन पराउँछु । तर यो कुरा कतिले आदर्श मान्छन कतिले ठिकै पनि । केटी साथीहरुले त ‘फ्लर्ट’ गर्न खोजेको ठान्न पनि सक्छन ।  तर मेरो यो व्यक्तिगत सोचाई र रोजाई हो । अरुले के भन्छन भन्दा पनि म के चाहन्छु भन्ने कुरा मेरो लागि ठूलो हो ।

केही समय अघि को कुरा हो । मेरा एकजना मित्रलाई मैले नामको पछि ‘सर’ शब्दले सम्बोधन गरेको मात्रै के थिएँ, उनले गुनासो गरे, ‘कहिले देखि मेरो तह बढुवा भयो ?’  उनी मेरा निकट मित्र हुन् । सधै जसो उनलाई मैले ‘जी’ बाट नै सम्बोधन गर्थें । त्यसैले उनलाई मैले ‘सर’ भनेको मन परेको रहेनछ । अनि मैले बुझें, नामको पछाडी ‘जी’ भन्दा ‘सर’ भनेको एक तह माथिको रहेछ । मसंग त्यस्ता अरु पनि केही अनुभब र उदाहरणहरु छन्, जुन बेला मानिसहरु आफूलाई ‘सर’ भनेर अरुले सम्बोधन गरुन भन्ने ठान्छन र ‘जी’ भनेर सम्बोधन गर्दा आफ्नो तह घटाएको महसुस गर्ने रहेछन । उनीहरु न त कुनै स्कूल वा कलेजको गुरु हुन् न त कुनै बरिस्ठ पद धारण गर्ने उच्च तहका मानिस नै । तर पनि केही मानिसहरु आफूलाई सधैं ‘सर’ नै ठान्छन ।

हाम्रो संस्कार नै यति धेरै तह र वर्गमा विभाजन भएको छ कि, जात, धर्म, संस्कार आदि सबैमा को सानो र को ठूलो भन्ने विचार र रिति निकै ब्याप्त छ । त्यसैले पनि कसलाई के भनेर सम्बोधन गर्ने निकै बिचार गर्नु पर्ने हुन्छ । अहिले त झन् नेपालमा विभिन्न जात र बर्गको बिचमा जुन उग्र चेतना आएको छ त्यसले सबैलाई एकै ठाउँमा राख्न र समान रुपले सबैलाई सम्बोधन गर्न झन् कठिन छ । एउटा शब्द कसैलाई राम्रो लाग्न सक्छ भने त्यहि शब्द अरुलाई होच्चाएको महसुस हुन पनि सक्छ । त्यसैले म बारम्बार सम्झन्छु र आफैलाई सोध्छु, ‘म तिमीलाई के भनि सम्बोधन गरूँ?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री