बेलायतमा मनाइयो भानु जयन्ती

लन्डन । बेलायतको होलपार्क बगैँचामा भिमु मेमोरियल ट्रष्ट नेपाल र विश्व साहित्य महासंघ बेलायतको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती मनाइयो ।

साहित्यकार तथा समाजसेवी घन थापा मगरले आदिकवि भानुभक्त अचार्यको तस्वीरलाई खादा ओढाएर कार्यक्रम आरम्भ गरेका थिए । सो अवसरमा उपस्थित सबै सदस्यहरुले फूलमाला लगाई आचार्यलाई श्रद्धासुमन सम्झना गरे । उनको सम्झनामा सल्लाहकार घन थापा मगरलगायत आधा दर्जन जति कविहरुले आ–आफ्ना कविता वाचन गरेका थिए ।

भिमु मेमोरियल ट्रष्टकी अध्यक्ष जानुका राई र संस्थापक शिवकुमार राईले ट्रस्टको आरम्भकालदेखि हालसम्म नेपाल र विदेशमा ट्रष्टले गरेको गतिविधि र भावी योजनाबारे प्रकाश पार्दै सबै सहयोगी मनहरुप्रति आभार प्रकट गरेका थिए । उक्त कार्यक्रमको अवसर पारेर संस्थाका सक्रिय सदस्यहरु साहित्यकार संजीव पारदर्शी राई र साहित्यकार सुष्मा रुपाबुङ राईलाई संस्थाले बिदाई गरेको थियो । जागिरको सिलसिलामा यूकेबाट तीन वर्षका लागि ब्रुनाई जान लागेका संस्थाका अत्यन्तै सक्रिय र मिलनसार राई दम्पतिलाई बिदाई गर्ने क्रममा सबै सदस्यहरुले नमिठो अनुभूति गरे । राई दम्पत्तिले गहभरी आंसु छल्काउँदै सबै सदस्यहरुप्रति आभार ब्यक्त गरेका थिए ।

विसाम बेलायतका अध्यक्ष बिजय हितान मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम साहित्यकार करिश्मा घम र गायक थिर थापा मगरले सञ्चालन गरेका थिए । विसाम केन्द्रले केन्द्रीय अध्यक्ष तिगेलाको हातबाट संस्थालाई विशेष योगदान पुरयाएको भन्दै अध्यक्ष बिजय हितान, जानुका राई र थिर थापालाई सम्मानपत्र प्रदान गर्यो ।

संस्थाका कोषाध्यक्ष सुरेन्द्र थेवेले विश्वासदीप तिगेलाद्वारा लिखित ‘निष्पक्ष संविधान र समृद्ध राष्ट्र’ पुस्तकको समीक्षा गरेका थिए । औतारी साइलाले दुत पुनद्वारा लिखित ‘अर्लिभाइ’ कथा संग्रहको समीक्षा गरे । अध्यक्ष हितानले साहित्यकार घन थापा मगरको कविता संग्रह ‘क्याक्मीको कोशेली’ को समीक्षा गरेका थिए । केन्द्रीय अध्यक्ष तिगेलाले महासंघको स्थापनाकालदेखि हालसम्मको गतिविधिबारे संक्षिप्त प्रकाश पारेका थिए ।

कार्यक्रमको अन्तिम चरणमा गायक गायिकाहरु कल्पना राई, थिर थापा, गंगाराज राई, सुष्मा राई र मोहन लिम्बूले मीठा मीठा गीतहरु गाएर सांगीतिक मनोरञ्जन दिलाएका थिए । भानु जयन्तीको अवसर पारेर साहित्यिक तथा सांगीतिक कार्यक्रम समापनपश्चात सबै सहभागीहरुले होलपार्कको बिशाल सुन्दर बगैँचा भ्रमण गरी विदाबारी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री