फिल्म फेयर अवार्डस गाउंले समाजको सांस्कृतिक कार्यक्रम जस्तो

अवार्डस वितरणको एक झलक । तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । सप्ताहन्त बेलायतको अल्डरसटमा ‘दशौं फिल्म फेयर अवार्डस’ सम्पन्न भयो । कार्यक्रम सकेर नेपालबाट आएका झण्डै अढाइ दर्जन कलाकार स्वदेश फर्किसकेका छन् । बेलायतमा पहिलो पटक गरिएकाले हुनसक्छ, अवार्डस कार्यक्रमले सर्वत्र चासो बटुलेको थियो । फिल्म क्षेत्रमात्र होइन, अन्य क्षेत्रको समेत ध्यान आकृष्ट गरेको थियो अवार्डस कार्यक्रमले । तर, कार्यक्रमका सहभागी र नेपाली सिनेमाप्रेमी दर्शक त्यतिखेर निरास भए जब कार्यक्रमको स्तर गाउंले समाजको सामान्य सांस्कृतिक कार्यक्रम भन्दा पनि अव्यवस्थित भयो । सम्भवतः यो वर्षकै ‘फितलो व्यवस्थापनमा सम्पन्न कार्यक्रम’ भएको सामाजिक सञ्जालतिर चर्चा भइरहेको छ । सर्वसाधारण त परको कुरा, कार्यक्रम सञ्चालक र कलाकार नै कमजोर व्यवस्थापन देखेर चकित भए । नायिका करिष्मा मानन्धरले स्टेजबाटै कार्यक्रम व्यवस्थापनप्रति असन्तुष्टी व्यक्त गरिन् ।

पत्रकार चिरन शर्माले ट्वीट गरे, ‘पहिलोपटक फिल्म अवार्ड हेरियो, स्कुलको याद आयो । यो भन्दा त हाम्रो स्कुलको पुरस्कार वितरण कार्यक्रम कति हो कति भव्य हुन्थ्यो ।’ वरिष्ठ सञ्चारकर्मी सुमन खरेल आफैं कार्यक्रम सञ्चालक थिए । उनले पनि कार्यक्रमको पूर्व 
तयारी अभाव खड्किएको आफ्नो फेसबुक स्टाटसमा लेखे ।

एकताका मिडियामै सक्रिय लन्डनवासी रबि थापाले लेखे, ‘नआउने कलाकारहरुको पनि नाम राखेर विज्ञापन गरिएको हुनाले मात्रै हो । यस्तो चलाखी नगरिएको भए करिष्मालाई हेर्ने २०-२५ जना बुढाहरु र आयोजकमात्र हुन्थे ।’ अर्का मिडियाकर्मी सिद्धार्थ विक्रम क्षेत्रीको स्टाटस थियो, ‘गाईजात्रामय र मापदण्ड बिनै कार्यक्रम गरेर वाह वाह बटुलने आयोजकहरु र मासु र बियरमा लठ्ठेर सफलताको गुणगान गाइदिने पत्रकार एवं अगुवाहरू धेरै भएरै नेपालको कला, संगीत, साहित्य तथा सृजनाहरू बेलायतमा लम्पसार पर्दै छन् । सबैलाई चेतना भया यस्ता आयोजक र कार्यक्रमहरु बहिष्कार गर्ने हिम्मत हामी सबैले गरौं ।’

बेलायत जस्तो अति विकसित र सुविधा सम्पन्न राष्ट्रमा गरिएको अवार्डस कार्यक्रम नेपाल जत्तिको पनि व्यवस्थित थिएन । लाइट- साउण्ड सिस्टमको गढबढीले कार्यक्रमको रौनकता नै बिथोलिदिएको थियो । बोल्दा बोल्दै माइक रोकिन्थ्यो वा चर्को आवाज आएर हल नै थर्किन्थ्यो । मनोनयनमा परेकाको ‘भिज्यूअल क्लिप्स’ के आएको हो स्पष्ट बुझिने थिएन । एमसी गर्नेहरु अवार्ड विजेताको नाम लिन्थे तर पुरस्कार थाप्न जाने व्यक्ति थिएनन् । अवार्डस कसले दिने हो प्रायोजक खोज्दै हैरान हुनु 
पर्ने अवस्था थियो । एउटाको अवार्ड अर्कोले लिइरहेको थियो । कार्यक्रम हुनु अघि नेपालबाट नीर शाह, धिरेन शाक्य, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी, दयाहांग राई, स्वेता खड्का, शिव श्रेष्ठ, दीपाश्री निरौला जस्ता कलाकार आउने भनिएपनि यी कुनै पनि कलाकार नदेखेपछि दर्शकले झुक्याएर टिकेट बेचेको आक्रोश पोखेका थिए ।

कार्यक्रम चल्दै गर्दा भिआइपीका लागि मात्र डिनर खुलेको थियो । ५० पाउण्ड तिरेर भिआइपी टिकेट लिनेहरु नुडल्स र ससेज लिन लामो लाइनमा देखिन्थे । एम्पायर हलको खाना यति नमिठो, सम्भवतः घर पालुवा कुकुरलाई त्यो भन्दा मिठो ख्वाइन्छ यहां । अघिल्लो महिना सम्पन्न पत्रकारहरुको च्यारिटीमा समेत १२ पाउण्ड लिएर एम्पायर हलले सारहै नमिठो खाना ख्वाएको गुनासो आएको थियो । हल भाडामा लिएपछि खाना पनि भित्रै खानु पर्ने हल व्यवस्थापनको मनोमानी अचेल झन् बढेको स्थानीय बताउंछन् ।

अवार्डसको स्थानीय आयोजक थियो थर्ड आइ । उक्त संस्थाले यस्तो कार्यक्रम पहिलो पटक गरेको हो । संस्थामा आवद्ध व्यक्तिहरु अनुभवी त के, केही कलाकार समेत नचिन्ने थिए । एकजना आयोजकले त केकी अधिकारीलाई समेत नचिनेर केकीले उल्टो ‘नेपाली कलाकार चिन्नु हुन्न ?’ भनेर थर्काएकी थिइन् ।

‘नेपालबाट तीनजना कलाकार ल्याएर कार्यक्रम गरे जस्तो होइन यो’, कार्यक्रम संयोजक थर्ड आइका विकास देवकोटाले भने, ‘३०-३२ जना कलाकार ल्याएर कार्यक्रम गर्नु चानचुन होइन । यसमा अलि अलि कमजोरी त भइहाल्छ ।’ देवकोटाले प्राविधिक गढबढी भएको स्वीकारे ।

आयोजकहरु स्थानीय मिडियाप्रति पनि अनुदार भए । पास लिन झण्डै एक घण्टा कुरेका करिब दर्जन पत्रकारले पछि केवल तीनवटा पास पाए । आयोजकले कति पत्रकारलाई त कार्यक्रमबारे लेखिएको समाचार नै देखाउन भनेको चर्चा पनि सुनिन्छ ।

कार्यक्रम फितलो र अव्यवस्थित हुनुमा आयोजकमा अनुभवको कमी, न्यून तयारी, मुनाफाको उद्देश्यले गुणस्तरियतामा कम्प्रमाइज, मिडियालाई बाइपास गरिनु, बेलायतस्थित संघसंस्थासंग समन्वय नगरिनु, अग्रजहरुलाई निम्ता नगरिनु बरु प्रायोजन गरेकालाई पुरस्कार दिन लगाइनु आदि रहेको धेरैको बुझाइ छ । यो कार्यक्रम गरेर आयोजकले पहिलो पटक हामीले यस्तो गर्यौं भन्ने जस त लिए होलान् तर नेपाली चलचित्रको विकास र प्रवर्धनमा कत्ति टेवा पुगेन ।

ध्यानाकर्षणः

एम्पायर हलका सञ्चालक पुरन गिरीले खाना नमिठो ख्वाइएको भन्ने गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले अवार्ड कार्यक्रम आयोजककै अनुरोध अनुसार सस्तो मुल्यमा खाना ख्वाइएको बताउंदै आफूहरुले समयमा वितरण गर्न नपाएको स्पष्ट पारेका छन् । ‘हामी हाम्रा ग्राहकलाई सकेसम्म गुणस्तरिय सेवा दिन तत्पर छौं’, गिरीले भने, ‘एम्पायर हलले आफैं धेरै च्यारिटी गरेको छ । हाम्रो हलकै कारण नेपालीका धेरै कार्यक्रम सञ्चालन गर्न सम्भव भएको छ । त्यसकारण भ्रममा नपर्न र केही व्यक्तिहरुको भनाइ नपत्याउन नेपाली समुदायलाई हाम्रो आग्रह छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री