न्यूयोर्कमा ५ वृत्तचित्र प्रदर्शन गर्दै ट्राभेलिङ किम्फ सकियाे

न्यूयोर्क । मौलिक कथावस्तुमा आधारित ५ वटा वृत्तचित्र देखाउँदै काठमाण्डौ माउन्टेन फिल्म फेष्टिबल घुम्ती किम्फ न्यूयोर्कमा सम्पन्न भएको छ ।

हिमाल एशोसिएसन नेपाल र न्यूयोर्कबाट प्रकाशित एभरेष्ट टाइम्सको आयोजनामा घुम्ती किम्फको तेश्रो संस्करण सम्पन्न भएको हो । किम्फमार्फत नेपाली मौलिक कला संस्कृतिमा आधारित रहेर बनाइएका वृत्तचित्रले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने स्थानिय आयोजक एवं एभरेष्ट टाइम्स दैनिकका प्रधान सम्पादक आङछिरिङ शेर्पाले बताए ।

किम्फबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु विद्यालयलाई सहयोग गरिने शेर्पाले जानकारी दिए । किम्फमा पत्रकार देवकी विष्टको इन सर्च अफ देउकी, उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेको वियोण्ड द ह्वाइट क्यान, ज्योति केशरसिंह ठकुरीको भुषको लोग्ने, घनश्याम खतिवडाको बाह्रखरी लौरो र रघुवर नेपाल र शिवशरण कोइरालाको ‘मेला’ प्रदर्शन गरिएको थियो । वृत्तचित्र इन सर्च अफ देउकीले विगतमा सुदुर पश्चिममा मानिने देउकी प्रथा, मन्दिरमा चढाइएकी देउकी महिलाहरु कतिको सम्मानित जीवन बाँचेका छन् भन्ने विषय उठान गरिएको छ । कानुनले देउकी प्रथा हटाए पनि यो प्रथा अझै लुकीछिपी प्रचलनमा रहेको कुरा देखाइएको छ ।

दृष्टिविहिनको संघर्ष र उसको आत्मनिर्भरताको कुरालाई वृत्तचित्र ‘वियोण्ड द ह्वाइट क्यान’ मा समेटिएको छ । दृष्टिबिहीन भएर पनि अरु सपांगजस्तै आफ्नो परिवार पाल्न सक्षम एक दृष्टिविहिनको कथाले अरुलाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिएको छ ।

त्यस्तै, ‘भुषको लोग्ने’ वृत्तचित्रले महिलाको पाठेघर खस्ने समस्या देखेपछि शारिरीक रुपमा कमजोर हुँदा श्रीमानले श्रीमतीमाथि गर्ने विभेद उजागर गरेको छ । वृत्तचित्रले रोग लुकाएर बसे समस्या निम्तनेतर्फ सचेत गराउँदै बेलैमा उपचार गर्न सुझाव दिएको छ । अपांगता भएका एक शिक्षकले शिक्षाको ज्योति फैलाउनका लागि गरेको योगदान र उसको क्षमताको बारेमा निर्मित वृत्तचित्र ‘बाह्रखरी लौरो’ ले शिक्षाको ज्योति फैलाउनका लागि अपांगता भएका व्यक्ति पनि उत्तिकै सक्षम र सफल छन् भन्ने सकारात्मक सन्देश दिएको छ । अपांगता भएका शिक्षकको प्रयासले गाउँका धेरै बालबालिकाले पढन पाएको वृत्तचित्रमा हेर्न सकिन्छ । त्यस्तै, ‘मेला’ ले बारा जिल्लामा लाग्ने चर्चित गढीमाइ मेलाको बारेमा देखाएको छ ।

किम्फमा उपस्थित दर्शकहरुले नेपाली समाजमा विद्यमान समस्यामा आधारित यस्ता वृत्तचित्रले नेपाली समाजका समस्या बाहिर ल्याउने भएकोले बिदेशमा यस्तो प्रदर्शनी आयोजना गरेकोमा खुशी व्यक्त गरेका थिए । यसअघि आयोजना गरिएका घुम्ती किम्फबाट संकलित रकम सोलुखुम्बुको चागेस्थान माध्यमिक विद्यालय केरुङ र गार्माको सेर्गा वागाम प्राथमिक विद्यालयलाई प्रदान गरिएको आयोजक शेर्पाले जानकारी दिए । सबैको सहयोगका कारण किम्फ सफल भएको भन्दै उनले वृत्तचित्र निर्माता, हिमाल एशोसिएसनका संयोजक लगायत आयोजक टिम लगायत, सम्पूर्ण दर्शकहरुलाई सहभागिताका लागि धन्यवाद दिए ।

घुम्ती किम्फ २०१५ मा हङकङबाट शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री