२४० निर्वाचन क्षेत्र मान्य नहुने फोरम र नयाँ शक्तिको ठहर

डा बाबुराम भट्टराई

काठमाडौँ, १ साउन । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले देशमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि पहिलेदेखि नै अल्झिएर थाती रहेको संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षसँग तत्काल वार्ता गरेर टुङ्गो लगाउन माग गरेको छ ।

फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टाईले आज संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधनको विषयलाई टुङ्ग्याएर मात्रै आगामी निर्वाचनका लागि सहज वातावरण बन्ने बताउनुभएको छ ।

नेपाली जनताले लामो सङ्घर्ष गरेर प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता आदिजस्ता विषयलाई नकारात्मक प्रभाव पार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि आफूहरुलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरि संघीय व्यवस्थापिका–संसद्को निर्वाचन पुरानै २४० निर्वाचन क्षेत्रअनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्नेछ । त्यसैले प्रदेशको चुनाव पहिले गरियोस् ।”

कुनै पनि हालतमा पुरानै निर्वाचन क्षेत्र कायम राख्ने कुरा आफूहरुलाई मान्य नहुने विज्ञप्तिमा जनाइएको छ । यसले संघीयता र समावेशितासहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भएकाले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद् र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गर्न दुई दलले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री