निर्वाचन कानून र आयोग छिट्टै गठन हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासँग निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा भेट गर्दै । तस्बिर ः रोशन सापकोटा,रासस

काठमाडौँ, १ साउन । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारण आयोग अब छिट्टै गठन हुने जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र कानुन निर्माण अब चाँडै हुने भएकाले निर्वाचनका लागि तयारी अवस्थामा रहन आज निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको आयोगको टोली आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेको थियो ।

भेटमा सहभागी गृहमन्त्री जनार्दन शर्माले आयोगका पदाधिकारीसँग खासगरी निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगका विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो ।

मतदाता नामावली संकलनको अवधि र स्थानीय तहमा पुगेर मतदाता नामावली दर्ता गर्न सकिन्छ वा सकिँदैन भन्नेबारेमा पनि उहाँहरुबीच छलफल भएको थियो ।

प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पूर्वाधारका रुपमा रहेका कानून र निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका विषयमा छलफल भएको बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनका लागि माग गरिएको जानकारी दिँदै उहाँले निर्वाचन कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी त्यसको प्रतिवेदन चाँडै पाउनुपर्ने आयोगको माग हो भन्नुभयो ।

निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने तथा निर्वाचन आयोगको मागअनुरुपको कानून पनि दु्रतमार्गबाट पारित हुने कुरा सरकारका तर्फबाट विश्वास दिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो ।

यसैबीच, आयोगले मतदाता नामावली संकलन गर्न दिएको समयावधिभित्र जिल्ला निर्वाचन कार्यालयमा पुगेर समय र स्थानको भरपूररुपमा सदुपयोग गर्न सबैसँग आग्रह गरेको छ ।

निर्वाचन आयोगले आजदेखि यही साउन १५ गतेसम्म प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोगका लागि प्रत्येक जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री