राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीसँग शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुली सामूहिक तस्बिर लिँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो ।

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

गत जेठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएका पराजुली प्रधानन्यायाधीशमा नियुक्त भएपछि उहाँले आगामी २०७५ वैशाख १५ गतेसम्म कार्यभार सम्हाल्नु हुनेछ ।

विसं २०१० वैशाख १६ गते तनहँुको काहँु शिवपुरमा जन्मनुभएका पराजुली लामो समयसम्म कानुन व्यवसायमा संलग्न रहनुभएको थियो । विसं २०४७ मंसिरमा तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा अदालतमा उहाँको प्रवेश भएको हो ।

छिटो कम खर्चमा न्याय दिने गरी काम गर्नेछुप्रधानन्यायाधीश पराजुली

नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुली सोमबार सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्दै उहाँले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम गर्ने योजना रहेको बताउनुभयो ।

“सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, असहाय मानिसलाई अदालत शुल्क नलिए हुन्छ कि, कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ सोचेको छु” – प्रधानन्यायाधीश पराजुलीलले भन्नुभयो ।

आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्दै अदालत र बार एशोसिएसनबीच आपसी छलफलबाट काम गर्ने उहाँको भनाइ थियो ।

“जता गयो त्यतै गुनासो छ, न्याय ढिला भयो, ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने तर संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्नेछु” – प्रधानन्यायाधीश पराजुलीले थप्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री