लिला सेलिङले एनआरएनए यूके महिला संयोजकमा उम्मेदवारी दिने

तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेकी उपाध्यक्ष तथा कवयत्री लिला सेलिङ माबोले एनआरएनए यूकेको महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सप्ताहन्त पत्रकारहरुमाझ उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । एनआरएनए यूकेको चुनाव आगामी सेप्टेम्बर ९ मा अल्डरसटमा हुंदैछ ।

उम्मेदवारी घोषणासंगै उनले आफूले जितेमा एनआरएनए यूके महिला फोरमको उदाहरणीय कामलाई निरन्तरता दिंदै फोरमलाई अझ सशक्त र सबल बनाउने अठोट व्यक्त गरेकी छन् । नेपाली महिलाहरुको अन्तर्राष्ट्रिय सम्वन्ध विस्तार गर्ने 
प्रतिवद्धता व्यक्त गर्दै उनले बेलायतमा रहेका नेपाली ‘इथ्नीक’ महिलाहरुका समस्या स्थानीय सरकार समक्ष लगेर सम्वोधन गर्न पहल गर्ने पनि बताइन् । महिला हक हितका लागि समेत काम गर्ने उनको सोच छ ।

नेपाल छंदा शिक्षण पेशामा संलग्न माबोले एनआरएनए यूकेको च्यारिटी विभाग र किरात याक्थुङ चुम्लुङ यूकेका विभिन्न विभागमा रहेर काम गरिसकेकी छन् ।

सन् २००० अगष्टमा बेलायत आएकी माबो डेन्टल नर्स पनि हुन् । सरे युनिभर्सिटीबाट बीएस्सी अनर्स गरेकी उनी किरात याक्थुङ चुम्लुङ (कियाचु) रसमोर शाखाको संस्थापक अध्यक्ष र पांचथर समाज सेवा यूकेको उपाध्यक्ष भइसकेकी छन् ।

कियाचुको साहित्य र सांस्कृतिक विभागमा समेत काम गरेकी माबोका लिम्बु र नेपाली भाषामा कयौं साहित्यिक रचना छन् ।

उनले आफूलाई जिताउन सबैमा अपिल गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री