बेलायतमा अब गाडीबाटै बैंकिङ प्रणाली

लन्डन । बेलायतमा आगामी वर्षदेखि गाडी चलाउंदै मिल्ने (ड्राइभ थ्रू) बैंकिङ प्रणाली विकास हुने भएको छ । बेलायतका मुख्य बैंकहरुले आफ्ना स्थानीय शाखामा आधुनिक प्रविधिको भिडियोद्वारा जानकारी दिने प्रणाली शुरु गर्न लागेका हुन् । यस प्रविधिमार्फत गाडीमा आरामले बसेर बैंक खाता खोल्ने, ओभरड्राफ्ट अनुरोध र मोर्गेज दरखास्त दिन सकिनेछ ।

वित्तीय प्रविधि कम्पनी एनडीआरले आफूसंग बेलायतका ठूला बैंकहरुले सन् २०१८ को शुरु देखि बैंक इन बक्स 
(एटिएम मेसिन) का साथै गाडी चलाउंदै बैंक शाखामा जानसक्ने प्रविधि जडान गर्न लागेको बताएको छ । बैंक इन बक्स १९ इन्चको ट्याब्लेट आकारको हुनेछ र यसमा ग्राहकले आफ्नो कार्ड स्वाइप गर्न वा भित्र हाल्न सक्नेछन् । धेरै व्यस्त शहर जस्तै फ्रान्स, जर्मनी तथा अमेरिकामा बैंकिङ ड्राइभ थ्रू प्रविधि सुरुवात भइसकेको छ । एनसीआरले आफ्नो अनुसन्धानमा बैंक शाखामा हुने ८० प्रतिशत कारोबार भिडियो टेलर मेसिनबाट हुन सक्ने बताएको छ । नयां प्रविधिले ग्राहकलाई बैंक शाखाले जत्तिकै सेवा प्रदान गर्ने तथा बैंक सञ्चालन खर्च पनि निकै कम हुने विश्वास गरिएको छ ।

यस प्रविधिको विकाससंगै हाल रहेका एटिएम मेसिनको कार्यक्षमता निकै बढ्ने तथा स्मार्ट फोनको प्रयोगमा पनि वृद्धि भइ नगद झिक्न एटिएम मेसिन प्रयोग अरु बढ्ने विश्वास लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यको छ । पश्चिमी समाजमा नगद कारोबारमा उल्लेख्य गिरावट भइरहेकाले एटिएम मेसिनको भविष्य अहिलेको भन्दा परिमार्जित हुनसक्ने आचार्य बताउंछन् । बेलायतमा आधुनिक बैंकिङ विकास भएको केहि समय बितेपनि गोपनीयता तथा नियम कानुनको अभावले ड्राइभ थ्रू बैंकिङ प्रणाली नभएको बताउंदै आचार्यले ग्राहकको चाहना अनुरुप एटिएम मेसिनको भविष्य यकिन हुने धारणा राखे ।

प्रविधि विकासका कारण बैंकले आफ्ना शाखाहरु बेलायतभित्र बन्द गर्ने क्रम तीव्र पारेका छन् । बेलायतमा गत दुई वर्षमा एक हजार ४६ वटा बैंक शाखा बन्द भइसकेका छन् ।

बेलायतमा बैंकिङ प्रविधिको विकास सन् १९६० बाट शुरु हुन थालेको हो । सन् १९६७, २७ जुनमा उत्तरी लन्डनको इनफिल्ड भन्ने ठाउंमा बार्कलेज बैंकमा राखिएको एटिएम 
(अटोमेटिक टेलर मेसिन) पहिलो मानिन्छ । बेलायतमा कम्प्युटरले चल्ने पहिलो एटिएम मेसिन सन् १९७२ मा लोयड्स बैंकले शुरुवात गरेको थियो ।

सन् २०१६ मा बेलायतको एटिएम मेसिनबाट १७५ अर्ब पाउन्ड नगद निकालिएको थियो । यस मेसिनले ५० वर्षको इतिहासमा धेरै फड्को मारेको छ । बेलायतमा मात्रै करिब ७० हजार नगद झिक्ने यस्ता मेसिन छन् भने संसारभर करिब तीस लाख रहेको बताइन्छ । सन् २०२० सम्ममा विश्वमा एटिएम संख्या ४० लाख पुग्ने अनुमान गरिएको छ । एक तथ्यांक अनुसार प्रत्येक तीन मिनेटमा संसारमा नयां एटिएम मेसिन स्थापना हुन्छ । पिन नम्बरको सट्टा जापान र 
ब्राजिलमा औंठाछाप प्रयोग गरिन्छ ।

अहिले बेलायतमा औसत दैनिक २५ लाख पाउन्ड नगद झिकिन्छ । दुबई तथा आबुधाबीमा भने सुनको बार तथा सुनको सिक्का समेत एटिएम मेसिनले दिने गर्दछ । संसारको सबैभन्दा उचाइमा रहेको एटिएम मेसिन पाकिस्तानको खुन्जेराब पासलाई मानिन्छ, जुन १९ हजार ३९७ फिटमा अवस्थित छ ।

संसारमै शक्तिशाली रहेको बेलायतको वित्तीय क्षेत्र आधुनिक समय अनुरुप प्रविधि पछ्याउंदै अगाडि बढेको छ । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री