‘प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा’

प्रधानमन्त्री एवम् नेका सभापति शेरबहादुर देउवा । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताउनुभएको छ ।

बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो – “प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग हिजोमात्र गठन भइसकेको छ ।”

निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उहाँको धारणा थियो । प्रधानमन्त्री देउवाले काँग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु काँग्रेसको जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना हुनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गर्नुभएको थियो । रु २५ हजारसहितको उक्त सम्मान नेता बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलले ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा काँग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मुलुकमा पछिल्लो समयमा ज्ञान र क्षमताभन्दा राजनीतिक भागबन्डाको संस्कृति मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शासकलाई समालोचनात्मक सत्य र यथार्थ सुझाव दिन बौद्धिक समाजको आवश्यकता पर्ने बताउनुभयो ।

काँग्रेस नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसले सदैव मुलुकका हरेक संकट समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले नै जनताले पनि काँग्रेसलाई विश्वास गर्दै आएको बताउँदै पछिल्लो निर्वाचनमा उक्त विश्वास कम हुँदै गएको प्रति पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

काँग्रेस नेता लक्ष्मण घिमिरेले बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त ओझेलमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्वका क्रियाकलापका कारण राजनीतिक नेता र नेतृत्वप्रति जनतामा विश्वासको संकट बढेको बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष डा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष एवं राससका अध्यक्ष कुलचन्द्र वाग्ले, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी, समाजका सचिव डा वासुदेव भण्डारीलगायतले समाजले गरेका काम र यसको महत्वका बारेमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा गिरिजाबाबु विशेशांक ‘चिन्तन’ विमोचन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री