आइतबार, कार्तिक ५ २०७४ | Sun, October 22, 2017
नेपालको समय: १५:४६ | UK Time: 11:01

जीवनका पानाहरु

विनेपाली
२०७४ साउन ७ गते ९:०९

सधैँझैँ खाना खाएर कोठा फर्किदा रातको नौ बजिसकेछ । गेटमा चाबी झुन्डिसकेको थियो अघि नै । घरबेटी दिदी माइती जानु भएको रहेछ । यसैले मुनीको फ्लाटमा बस्ने राजन दाइ, गीता भाउजुले चाँडै आफ्नो सुरक्षाको निम्ति च्यानल गेटमा ताला लाइसक्नु भएछ । च्यानलको सानो प्वालबाट बल्लतल्ल हात घुसारेर चाबी झिकेँ । च्यानल गेट एकदम कस्सिएको बलियो मानिसले मात्र खोल्नसक्ने खालको थियो । भर्खर खाना खाएर आएकी म भएभरको बल लगाई ठेलेँ । बल्ल मेरो खिनौरे ज्यान छिर्ने ठाउँ बनाएँ र शरीरलाई कोल्टो पारी भित्र छिरेँ । बन्द गर्न उत्ति नै बल प्रयोग गर्नु थियो, बल प्रयोग गरेँ । पद्मासँग भरखर खाएको खाना त्यही नै पचेजस्तै भयो । कृतिका, पूजा, गीता भाउजु र आमा भान्सामा खाना खाँदै थिए । त्यसैले उता नछिरी उसैगरी भित्रबाट चाबी झुण्डाएर माथि मेरो कोठा उक्लिएँ ।

कोठाको चाबी खोलेसँगै बत्ती बालेँ । भुइँभरि किताब, असरल्ल जताततै सरसमान । मानौ साँझको चिसो सिरेटोले कठांग्रिँदै, अधेरी रातसँग रत्यौली खेल्दै मेरो आगमनको ब्यग्र प्रतीक्षामा बसेको झै थियो मेरो कोठा । भरखर पेटभरी टन्न खाना खाएर आएकीले केही गर्ने मुड नै भएन । दिनभर अफिसको काम, साँझको हिँडाइले थाकेकी पनि थिएँ । आज त चाँडै सुत्छु, मनमनै बोलेँ । बिच्छ्यौना बिछ्याएकै थियो, अरु केही नगरी डँगरँग ढलेँ ओच्छ्यानमा । हातमा चिसो स्पर्स भयो । रेडियो रहेछ दिउँसो बजाएर छोडेको । सुतिसुति किटिक्क पारे । एक्लोपनको साथी थियो त्यही रेडियो ।

चाहाना तिमी नै बन्यौ मेरो, जोश अनि जाँगर पनि
चोरेर लग्यौ भोक प्यास निन्द्रा होस अनि हवास पनि

नौ बजेको कार्यक्रम स्पन्दन बजिरहेको रहेछ रेडियो कुसुमबाट । हरेक हप्ता विभिन्न साहित्यिक खुराक पस्कने गर्थे आर जे सुवासले । अहो आज त बिहिबार, धौलागिरी एफ.एम. मा पनि कथा बज्दै होला, मनमनै बात मारेँ । किटिक्क रेडियोको मिटर घुमाएँ । पल्टिरहेँ ।
“……एक मात्र प्रतीक्षा हौ तिमी मेरो जीवनको । तर कस्तो बिडम्बना, तिमी भएर पनि छैनौ । कति टिठलाग्दो कहानी, मेरो रगरगमा तिमी छौ तर पनि म कही कतै छुइनँ त्यहाँ । थाहा पाएर पनि खेलिरहेछौ मलाई, मेरो भावनालाई, र मेरो पवित्र मायालाई । जतै पनि । तिमी मेरो होइनौ भनँु भने तिमी नै तिमी छौ मेरो कल्पनामा । मेरो चाहानामा । मेरो सम्झनामा । कति कल्पिन्छु । कति तड्पिन्छु । त्यो तिमीले कहिल्यै बुझ्न चाहेनौ । याद गर्दिन तिमीलाई भन्दाभन्दै पनि याद आइ दिन्छ त बेस्सरी । अब तिमी नै भन, चोटै चोटले पिरोलिएर यो जीवन काँटु म खै कसरी ।”

प्रेमसागर धाराप्रवाह मायाको धुनमा बगिरहेको थियो । ब्याकग्राउण्ड साउण्ड मन्द गतिमा बजिरहेको थियो । हैट कति पीडादायी कथा पढिरहेको होला, यस्तो एकान्तमा बसेर यो बिरहलाग्दो कथा सुन्ने हो भने आफैँलाई आत्महत्या गरुँगरुँ लाग्दो हो । सरक्क मिटर सारेँ रेडियोको ।

“जिन्दगी यही कालीगण्डकीसरह बग्दो छ तर पनि यो कुनै मोडमा पुगेर अँकुसे लागेर अड्किएझैँ अड्किएको छ बिचैमा । थाहा छ राम्रोसँग । मेरो रहनु र नरहनुको केही अर्थ छैन तिम्रो जीवनमा । तर पनि बिपनीको हरेक पल, सपनीको हरेकक्षण मैले तिम्रै लागि सुम्पेको छु सानु ।”
हरे ……. कति बिरक्ती भावहरु मात्र हो आज सबैतिर । फेरि घुमाएँ ।

‘खोलामा मिल्काएको कुनै वस्तुझैँ भयो यो जिन्दगी, न त खोलाको पानीले नै बगाएर लग्न सक्यो न त ढुँगाझैँ अडिग भएर रहन नै सक्यो । यो त फगत ढुँगाको च्यापमा च्यापिएर बसेझै बस्यो आफ्नै जिवनको बन्दगी । मेरो माया । यसरी नै कही कतै अल्झियो । जस्लाई न त निकालेरसँगै लैजानै सकेँ । न त छोडेरै जान सकेँ । न त यसबाट कुनै गतिलो पाठ नै सिक्न सकेँ…।’

दिपक कुँवर मधुर आवाजमा कसैको कथा पढिरहेका थिए गल्कोट एफएममा । मलाइ अचम्म लाग्यो, यो कथा लेख्नेहरुले आफ्नै कथा लेख्छन् कि कल्पनाको आधारमा तयार पार्छन् ? मलाई पनि यस्तै कथा लेख्ने जोस चल्यो । जुरुक्क उठे । कलम र कपी ठिक पारेँ । लेख्ने के त ? … निकै बेर घोत्लिएँ । एउटा शब्द फूरे त मार्दिनु । जे सुकै होस्, शब्दहरुलाई एउटै मालामा उन्ने काम कहाँ सजिलो छ र? जे गर्न पनि सिप चाहिन्छ । कि त कला । कसैको वास्तबिक कथा होस् या त काल्पनिक । जे भए पनि घटना चाहियो । पात्र चाहियो । यसलाई मिलाउने काम सृजना हो । आफू त मठ्ठु । कसैले लेखेको कुरा राम्ररी पढ्न नि आउदैन । सुन्न मात्र रमाइलो । म मन मनमा प्रश्न, प्रतिप्रश्न गर्दै आफैँमा भुलेछु । रेडियोमा विज्ञापन बज्यो । ….. गलकोट हटियाको एक मात्र डिजिटल कलर ल्याब…. । फेरि मिटर सरक्क सारेँ ।

त्यो उनको सामिप्यता, त्यो न्यानोपन कुनै वस्तुसँग दाज्न सकिन्न । मेरा हरेक हाँसो र मुस्कान भित्र पिडा र खुसी सम्मिश्रण छन् । तर थाहा छैन यो पापी सँसारलाई । मेरा हरेक आशुका थोपाहरु उनको सामिप्यताको अतृप्त चाहानामा लिप्त छन् । उनको आगमन पहिले मेरा जीवनले बेग्लै अर्थ र महत्व बोकेको थियो । तर उनीसँगको भेट पश्चात कुनै अर्थ नै छैन झै लाग्न थालेको छ । उनको छायाँसामु मेरा हरेक कुराहरु फितलो फितलो लाग्न थालेका छन् । जीवन नै ब्यर्थ लागेको छ । म छु कि छैन भन्ने पनि संका लाग्न थालेको छ । भएर पनि म को अर्थ छैनझैँ लागेको छ । ९५.२ मेगाहर्जमा कसैले उही खालको कथा वाचन गरिरहेको थियो । अचम्म लाग्यो । आज किन सबै सबै रेडियोले कथामात्र वाचन गरे त्यो पनि एकै खालका कथाहरु वाचन गरिरहेका थिए । जीवनदेखि हार खाएका, मायामा धोका पाएका, अरुमाथि आफ्नै जीवन समर्पित गरेका जस्ता लाग्ने भावहरु पोखिएका थिए । मनमनै खुल्दुली लाग्यो, के मायाले मानिसलाई यति कमजोर नै बनाइ दिँदो हो त? त्यसो भए किन माया गर्छन् मायालु जोडीहरु ? या सबैको मायाको परिभाषा र प्रकार फरक हुँदा हुन् ब्यक्तिपिच्छे । विश्लेषणात्मक द्धन्द्व चल्यो मनमा । अनायासै हातले अर्काे स्टेसन ट्युनिँग गर्यो ९८.४। कसैको चिठी वाचन भैरहेको थियो, महिला आवाजमा ।

……निर्मल, तिम्रो सम्झनाको खातहरुबाट म आफूलाई एक क्षणको लागि अलग्याउने प्रयत्न गर्दैछु । यो सादा पानाको साहारामा तिमी र मेरो दुख भरी प्रेमकहानीलाई पोत्न चाहन्छु । जिन्दगी यस्तै हो भन्ने शब्द र वाक्याशँबाट अपरिचित नभएतापनि आफ्नै भोगाइहरुबाट अझ स्पष्ट हुन सकिने रहेछ । हरेक पल, समयको एक एक सेकेण्ड पनि महत्वपूर्ण हुन्छ जब हामीले यसको महत्व बुझ्न चाहयौ भने । समयको मात्र हैन । हरेक चिजको उस्तै अर्थ र उत्तिकै महत्व हुन्छ । तर जबसम्म हामीले नियाल्दैनौ तबसम्म यसको कुनै मूल्य रहदैन । निर्मल, तिम्रो उपस्थिति मेरो जीवनको लागि ज्यादै रोचक र उत्तिकै पीडादायी पनि बनेको छ । रोचक यो मानेमा कि तिमी एक मार्ग दर्शक भएर उपस्थित भयौ, मेरा एकमात्र लक्ष्य हरेक पाइलामा सफलता हासिल गर्ने, एउटी गाउँले सीधा केटी जसलाई शहरको रमझम आँखै अगाडि भएर पनि वास्ता थिएन । कुनै पनि रंगिन साँझहरुको लोभ थिएन । तर तिम्रो सँगतले म बद्लिएकी छु । शहरिया जिवनको लोभी भएकी कि छु, तिम्रो साथले जीवनको रंगमा अझ रंग थपिदिएको छ । यति दुई वर्षको छोटो अवधिमा मैले जिवनभरमा नगरेको अनुभवहरुको अनुभव गरेकी छु । जसले जिवनको धारहरु बदलेका छन् । तिमीले दिएका हरेक फिल्मका कथाहरुमा म आफू पात्र खोज्न थालेकी छु । यही कथाका पात्रहरुको यात्रा संगै मेरा जिवनका धारहरुलाई फरक धारमा बग्न सिकाएका छन् । यद्यपि त्यो धारहरु के हुन, कता बग्छन भन्ने भेउ उतिसारो पाएकी छैन । कहिलेकाहीँ लाग्छ यही रंगीन दुनियाँ नै मेरो सँसार हो, जहाँ तिमी छौ र म । तर क्षणभरमै भुकम्पले धरहरा ढाली दिएझैँ मेरा काल्पनिक सँसार भताभुँग हुन्छन्, छताछुल्ल पोखिन्छन् र यत्रतत्र छरपस्टिन्छन् जिवनका टुक्राहरु । लाग्छ कतै ती तिम्रा हरेक क्रियाकलाप बुझ्ने चेष्टा गर्दागर्दै मेरा निधारहरु चाउरिने साथै आधा कपाल पनि फुल्ने हुन् कि । तर कतिपय मिठास जुन जीवनमा घोलिदियौ त्यही मेरो एकान्तको साथी हुनेछ । हाम्रो त्यो आर एक्स हन्ड्रेटदेखि, साझा बस तथा माइक्रो हुँदै तिम्रो नयाँ होण्डा साइनसम्मको सँगैको यात्रा मेरा जीवनका अनन्य कहानी बनेर लेखिनेछन् । उही रानीबारी एक्सिडेन्ट, भाटभटेनीको गल्लीमा नो पार्किडमा राखिएको बेलाको भागाभाग, नेपाल बन्दको बेला चाबहिलदेखि गोँगबुसम्मको पैदल यात्रा तिम्रा लागि केही बिशेष बनेन् होला तर मेरो जीवनमा यसले गतिलो डोब बनाएको छ । तिमीलाई याद छ ? तिमीसँगको मेरो यात्राको दोश्रो दिन, जुन दिन हामी दुईलाई सामाखुसी चोकमा झण्डै ट्रकले एकछाक बनाएको थियो । धन्न बाँचेका हामी । हो त्यही नै हो मेरो लागि तिमीसँगको पहिलो महत्वपूर्ण क्षण । एक सेकेण्डको मात्र फरक, नत्र हामी सायद ….। धन्य यही घटना भयो तिमी नजिक पुग्ने बाहाना मेरो लागि । अर्काे चोटि तिम्रो त्यो थोत्रो बाइकको स्प्रीड बिग्रेर ठेल्दा ठेल्दा…. त्यही के त रानीबारीसम्म ठेल्दै लगेको, सम्झना ताजै छ । त्यो बाइक बनाउँदा भर तिमीले सुनाएका तिम्रा विगत अझै मेरो स्मरणमा ताजै छ । तिम्रो चुरोटको धुँवासंगै रुमल्लिदै आएका तिम्रा अमेरिकन दिनहरु, लास भेगासका रंगीन रातहरु अझै मेरा मानसपटलमा उसरी नै बसेका छन् जसरी तिमीले पहिलो पटक पुल्चौकको त्यो गल्छिमा पारी मेरो निधारमा चुम्बन दिएका थियौ । ती बाइक बिग्रेर साझाबसको यात्रा । जुन दिन तिमीले मेरो काँधमा आफ्नो टाउको राखेर भन्यौ मलाइ त कसैको खाली काँध देख्नै हुँदैन हो त्यही थियो मेरो लागि तिमीसँगको पहिलो सुखद घडी । ती माइक्रोको भिडमा, तिम्रा कोमल हातहरुको स्पर्षले मेरा हातहरुलाई समाउँदाको चरम आनन्द अरु कुनै वस्तुसँग तुलना गर्न कहाँ सकिन्छ र? चाबहिलको ९.७ रेस्टुरेण्ट होस, त्यो छेउको साघुरो मःम पसल, या त बंगलामुखी छेउको कफिसप, लबिम मलको जाभा कफि या त जाउलाखेलको सारा बेकरी क्याफे, चाहे स्नोमयानको चुरोटको धुँवा सरी मिसिएको चिजकेकको स्वाद, या त बसन्तपुरको रुफटप क्याफेको सिजलर, चाहे जात्राको महँगो सुप, चाहे चाइनिजको छिटो खाजा, ती तिमीसंगका बसाइ उतिकै महत्वपूर्ण र आत्मिय छन् । जसलाई मुन क्याफेको सस्तो जिन्जर विथ हनीको स्वादसँग मिसाउन सकिन्न, न त दरबार मार्गको मेजको त्यो महंगो पेयसँग नै । मलाइ थाहा छ, हाम्रो जीवनको भोगाइ र यथार्थता धेरै फरक छन् । यद्यपि केही सामान्जस्यता गर्ने बिन्दुहरु पनि नभेटिएको कहाँ हो र ? तर निष्ठुरी समयचक्र, तिम्रै लागि चलेको यो मेरो ढुकढुकी पनि अनायासै बिश्राम लिनु बाध्य बन्दो रहेछ । जिन्दगी जबरजस्तीको यात्रा हैन, तर पनि खै कहिलेकाहीँ रोकिएर पुन यात्रा थालनी गर्दा छुट्टै आनन्द मान्दोरहेछ । तर यो जबरजस्ती घचेटिनुको पीडा अरु कसैलाई नहोस । …………
रेडियो स्टेसनमा बत्ती गएछ क्यारे, स्यार्रर……मात्र आवाज आयो । कता कता कहानी त आफ्नै जस्तो लाग्यो । चिठीले मन छोएछ क्यारे भित्रैदेखि चिसो भएर आयो । मन अमिलो कुँडिएर आयो ….खल्लो खल्लो बेस्वादको खानेकुरा खाएझैँ । अझ खल्लो भयो, चिठीको अन्त्य नै सुन्न पाइएन, त्यो कहानी प्रेमकहानी नै हो या बिछोडको पत्र । अझ कथाकी पात्रको जीवनका पाटोहरु कता कता अधूरो अपूरो । हुन त त्यो घुमाउरो शैलीले लेख्ने पनि अर्काे कला नै हो क्यारे । सायद मैले बुझ्न नसकेको अमूर्त पाटो । साहित्यिक भावहरु बुझ्ने श्रोता वा पाठक पनि त होलान् तिनको लेखाइ सुन्दा त्यस्तै लाग्यो । सुखान्त शैलीले सुरु भएर चिठीले दुखान्त प्रेमकहानी इँगित गर्दै थियो, त्यहीबेला लाइन जानु पर्ने । आफ्नै जीवनकथा झैँ लाग्यो कम्प्लेक्स अनि बुझनै नसकिने क्लाइमेक्स । मेरो पनि त कहानी उस्तै त छ । पवनसंगको त्यो भेट, ऊसँगको कफिगफ अनि फेसबुके गफ, उसको जीवनका तीता अतीत, पीडाभरि कथा ब्यथा तर बुभ्नै नसकिने उसको चरित्र ।
आफूलाई त्यही चिठीको पात्रमा खोज्न लाग्दै थिएँ, मोवाइल बज्यो । प्रकाशको रहेछ । ठिकै बेला परेछ, रेडियो सुनिरहेको भए ध्यान नै हुन्न थियो ।
हेलो…। के छ भन्ँ, बल्ल फुर्सद पाइस? आज कसरी फोन गरिस? मैले उताको आवाज नै नसुनी आफ्नै मात्र वाक्याश टुँग्याएँ ।
मेरा कुराले दिक्क हुँदै बोल्यो, तै मात्र बोल्छस् कि हाम्लाइ नि बोल्ने पालो दिन्छस्? फोन चाइ म लाउने सधैँ प्रश्नका प्रश्न तैँ मात्र गर्ने ? निकै कडा आयो ।
भन् न त भन् किन कड्किन्छस् तीते करेला खाएर ओकले झै तितो शब्दमा । मैलै बोल्ने बाटो बनाइ दिएँ । तैले एउटा कुरा थाहा पाइस? उसले नयाँ कुरा सुनाउन खोज्यो ।
तैले भने पो थाहा पाउनु मैले निउँ खोजेँ ।
त्यो पवन र शर्मिलाको विवाह रे नि । पवनको गर्ल फ्रेण्ड त अरु कोही नभएर शर्मिला पो रैछ । मसँग शब्दहरु सकिए । म निशब्द भएँ । सून्यमा पुगेँ ।
हँ………………..? के भनिस् भर्खर? अझै विश्वास लागेन मलाई ।
हो भन्या आज थाहा पाको

कोल्ले भनेको तँलाई ? म अचम्मित भएँ । हजार मनमा नसोचिएको कुरा सुन्दै थिए । पसिना चिटचिट आयो । उसले बोल्दै गरेको पनि सपनाझैँ लाग्न थाल्यो, ढलुँढलुँ लाग्यो मलाई । शर्मिला जो ठमेल कै एक धनाढ्यकी छोरी थिइन । गाँजा काण्ड, चरेस काण्डमा मुछिएर बारबार सामाजिक सञ्जालमा छाइरहन्थिन् । जसले पहिला पनि इण्डिया तिरको केटासँग विवाह गरेर, अरु केटाहरुसंग मिलेर आफ्नै श्रीमान्को सम्पति लुटेर छोडपत्र गरी नेपाल फर्किएर बसेकी थिइन् । उनी हामी साथी सर्कलमा राम्रै चिनजानको भएर रहेकी थिइन् तर कुनै दिन पनि हामीले संका गर्ने मौका नै पाएनौँ ।

त्यति बाहेक प्रकाशले अरु के के भने केही सुनिनँ । कसरी यस्तो भयो ? मेरा अन्तिम वाक्य निस्के । पवन जो सोझो ब्यबहार सधैँ सबैको भलो चाहने मानिस । उता शर्मिला…. उत्तरी ध्रुब र दक्षिणी ध्रुवझैँ लाग्ने । सम्बन्ध जोडिन केही न केही कम्बिनेशन हुनु पर्छ । केही कनेक्सन हुनु पर्छ । आखिर कसरी भयो होला यो सब ? त्यही भएर पवन मबाट बिनाकारण टाढा भएको ।
प्रकाश बिस्तारै बोल्यो आइ जस्ट होप ह्वाट हि इज डुइगँ इज गुड….. । यता रेडियोमा पनि लाइन आएछ । कथा, चिठी सबै सकेछन् । गाना बजिरहेको थियो ………. जिन्दगी तँलाइ मैले चिन्नै सकिनँ । रेडियो मार्न खोजेको कता छोइएछ, मिटर सरेर अर्काे स्टेसन टिप्यो, त्यहाँ पनि गीत बजिरहेको थियो । ह्याँग ओभर तेरी बातोका… ह्याँग ओभर तेरी यादोका…….. । थ्रि जि थियो मोबाइलमा । मैले फेसबुक खोलेँ । स्टाटस राखेँ…. ह्याँग ओभर तेरी बातोका… ह्याँग ओभर तेरी यादोका…….. । आइ विस ह्वाट इभर यु ह्याब सेड इज अ ड्रिम

मेरो स्टाटस प्रकाशले पनि आफ्नो वालमा सेयर गरे छ र लेखेछ इक्ज्याक्टली । त्यसमा पवनले पनि एक लाइक ठोकेछ । मैले भोलिपल्ट देखेँ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक