यूकेमा लिम्बूहरुले ‘सिसेक्पा तङनाम’ मनाए

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘सिसेक्पा तङनाम’ गत १५ जुलाइ शनिवार लण्डनस्थित फेल्थाम कम्युनिटी कलेज मैदानमा सम्पन्न भयो । उक्त कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष काजीमान याक्सो र उपस्थितमध्ये सबैभन्दा जेष्ठ तुम्याहाङ बजहाङ चङवाङयक (८७) ले संयुक्त रुपमा गरेका थिए ।

तानमा बुनेका ढाका र खाडीका तागावा, मेख्ली र कण्ठा, नेसे, सिरबन्दी, यारलिङजस्ता जातीय गहना पहिरेर भेलामा आएका हजारौं उपस्थितिले त्यहांको वातावरण लिम्बुवानमय बनेको थियो । पश्चिमा रहन सहनमा हुर्केका बेलायतबासी युवायुवतीसमेत मौलिक भेषभूषातिर आकर्षण हुनु सकारात्मक पक्ष रहेको उपस्थित तुम्याहाङहरुको टिप्पणी थियो ।

कार्यक्रममा बेलायतका अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिसमेत अथितिको रुपमा उपस्थित रहे । कार्यक्रमका एकमात्र औपचारिक वक्ता तथा चुम्लुङ हिम खरिद परियोजना प्रमुख मेजर चित्रराज हुक्पा चङवाङले चुङम्लुङ हिमको औचित्यमाथि प्रकाश पार्दै परियोजना सफल बनाउन आव्हान गरे ।

सम्मान र पुरस्कार

कार्यक्रममा बेलायतमा वसेर लामो समयदेखि याक्थुङ कला, संस्कृतिमा निरन्तर सेवा गरिरहेका सुवर्ण नेम्वाङ यो वर्षको ‘आर्टिस्ट अफ द इयर’ भए । संस्थाले बार्षिकरुपमा आयोजना गर्दै आएको यलम्वरहाङ कप सञ्चालनमा महत्वपूर्ण योगदान दिने सन्तोष वनेम ‘यलम्वरहाङ अवार्ड’ र चुम्लुङको बिभिन्न कार्यक्रममा उत्कृष्ट काम गरेका थोरक शाखा अध्यक्ष शान्तकुमार हुक्पा चङवाङ वर्षको ‘चुम्लुङ अवार्ड’ बाट सम्मानित भए । बिभिन्न विषयमा उच्च शिक्षा प्राप्त गरेका भारती निङ्लेकु, सुयन लिम्बु, सागर इस्बो, सिंघल इस्बो, सरोज चेमजङ, बेनुका लिम्बु, विवेक पतङ्वा, विपिन पतङवा, नुशा लिवाङ, लिला सेलिङ मावो तथा हाल चर्चाको शिखरमा रहेको ‘मिलीजुली’ उपन्यासकी लेखिका शान्ति खिम्दिङ र लण्डन म्याराथन सफलतापूर्वक पूरा गरेकी कल्पना तिगेलालाई विशेष कदरपत्रसहित सम्मान गरियो ।

सदाझैं यो वर्षपनि यालाङ, केलाङ प्रतियोगिता विशेष आकर्षण थियो । संस्कृति विभाग प्रमुख पूर्ण सावादेन र सेवारो कलाकार संघ यूकेका उपाध्यक्ष वलराज चवेगुले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । यालाङतर्फ केवाइसी ग्रेटर लन्डन टिम प्रथम भएको थियो । उक्त टिममा भक्ति आङदेम्बे, रिता फोम्वो, झरना चवेगु, रितुमान आङबुङ, रिता इवाहाङ, राजेन्द्र नाल्वो, बिष्णुमाया तावा, विर्ख सांवा, तेज मेयाङ्वो, रेशु फियाक, टंक तंघुङ सहभागी थिए ।

केलाङतर्फ शिखर सङवाङफे, पृथ्वी थाङदेन, आश्विन राई, अनमोल मादेन, हेम नाल्वो, जेसन नेम्वाङ, अमित थेवे, निसुमा मुसुहाङ, निरुता मुसुहाङ, सिकुम हुक्पा चङवाङ, गोकुल लिवाङ, सुमिक हुक्पा चङवाङ, नुमा थाङदेन, खुशा लिम्बू केवाईसी आशफोर्ड टिम प्रथम भएको थियो । दुबै प्रतियोगिताको निर्णायकमा उत्तरकुमार फागो चङवाङ, अमृतबहादुर तुम्वाङम्फे र शेरबहादुर इस्बो थिए ।

मेलाको रौनक
गायनमा पहिलो ‘नेपाल स्टार’ विजेता तथा सफल गयिका तथा मोडल विष्णु चेम्जङले विभिन्न याक्थुङ र नेपाली गीत गाएर स्टेज तताएकी थिइन् । सुवर्ण नेम्वाङ, सुरेन लिम्बु, ताम्ली लिम्बूलगायत स्थानीय कलाकारहरुले विभिन्न गीत गाएर थप मनोरन्जन दिलाएका थिए ।

सिसेक्पा तङनाम संयोजन जिम्मेवारी संस्थाका वरिष्ठ उपाध्यक्ष दिलसिं मेयाङवो र उपाध्यक्ष नर थाम्सुहाङले पाएका थिए र केवाइसी महिला विभागले विशेष सहयोग गरेको थियो । संस्थाका महासचि खगेन्द्र लौती र सचिव महेश अनेमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य केवाइसी वरिष्ठ उपाध्यक्ष मेयाङवोले गरेका थिए ।

सिसेक्पा तङ्नाम बेलायतभरी छरेर बसेका लिम्बूहरुलाई यही दिन एकै थलोमा भेला पार्ने एक महत्वपूर्ण पर्वको रुपमा विकास भइ सकेको छ । लिम्बु भेषभूषामा सजिएका साढे ३ हजार भन्दा बढि युमाथेवा, थाङवेन मेन्छ्याङहरु भेला भई स्वतस्फूर्त यालाङ, केलाङमा रमाएको दृश्यले लिम्बुवानको कुनै ठाउँमा ठूलो मेलाको सम्झना दिलाएको थियो । आफ्ना भाषा, लिपी, कला, धर्म, संस्कृतिहरुलाई जीवन्त राख्न र लिम्बुवानी विरासतको संरक्षण गर्न सिसेक्पा तङ्नाम कोसे ढुङ्गा सावित भएको छ ।

सिसेक्पा तङनामको सांस्कृतिक महत्व
याक्थुङ मुन्धुम अनुसार ‘साक्च्योङ’ अर्थात अनिकालका राजा घरमा पसेर पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि त्यसको विरुद्ध हाम्रा पुर्खाहरुले अनिकाल खेद्न अप्नाएको यो जुक्ति नै अन्ततः ‘सिसेक्पा तङ्नाम’ अर्थात साउने संक्रान्ति चाडको रुपमा विकसित भएको पाइन्छ । कसैले असारे हिलोमैलोमा छालामा लाग्ने लुतो रोग फ्याक्ने चाडकारुपमा पनि लिन्छन् ।

कृषकका लागि चैत, वैशाख, जेठ र असार चार महिना अत्यन्तै कठिन दिन हुन् । यसैबेला भकारीका अन्नहरु रित्ति सकेका हुन्छन् । वर्ष भरिका लागि खाने अन्न कमाउने यसै समयमा पर्छ । हावा हुण्डरी, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप र अनेकौं हिंस्रक जंगली जनवारको सामना पनि यिनै बेलामा गर्नुपर्दछ । असारको अन्तसंगै अन्नबाली पाक्न थाल्छन् । प्राकृतिक प्रकोप र रोगव्याध घट्न थाल्छन् । दुःखका अनेकौं खुड्किला उक्लेर यो वर्ष बांचियो भनेर खुशीयाली मनाउने परम्परा नै ससेक्पा तङ्नाम भन्दा सान्दर्भिक हुन्छ ।
सुनाई र बुझाई जे भएपनि आखिर सिसेक्पा तङ्नाम प्रकृति, मानव विकास र मानवीय संवेदनाका अनेकौं पक्षसंग गहिरो सम्वन्ध रहेका पाइन्छन् । विभिन्न कारणले बसाइँ सरेर बेलायत बस्ने किरातहरुले आफ्नो घरमा चाहेरपनि यस्ता परम्परागत चाड मनाउन पाउदैनन् ।

आदिवासी लिम्बुहरुको चासोक तङ्नाम मंसिर पूर्णेमा उद्यौली, कक्फेवा तङनाम माघे संक्रान्ति, यक्वा तङनाम वैशाख पूर्णेमा उभौली, सिसेक्पा तङनाम सावने संक्रान्ति र वलिहाङ तङनाम देउसी भैलोमध्ये चासोक तङ्नाम प्रमुख चाड हुन् । तर, बेलायतको मौसम अनुकुलता पारेर सिसेक्पा तङ्नाममा नै लिम्बुहरु सन् २००९ देखि हरेक वर्ष भेला भएर चाडका रुपमा मनाउने परम्परा छ । यूकेमा यो दिनलाई खास गरी किरात लिम्बुहरु आफन्त, कुल-कुटुम्व भेट्ने एकमात्र वार्षिक भेटघाट गर्ने महत्वपूर्ण दिनका रुपमा लिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री