एनआरएनएको सदस्य बन्ने कि नबन्ने ?

प्रारम्भः
सार्क मुलुक बाहेकका बाहिरी देशहरुमा बस्ने नेपालीहरुको साझा भावना, उद्देश्य र हित समेट्न वा त्यसको प्रतिनिधित्व गर्न सिमित ब्यक्ति र देशहरुबाट सुरु भएको गैर आवासीय नेपाली संघ आज झन्डै पौने सय भन्दा बढी देशहरुमा स्थापित भइ यो एउटा बृहत सञ्जाल र सम्पर्कको रूपमा फैलिसकेको छ । भन्नलाई यो एउटा नितान्त गैर राजनैतिक साझा संस्था भनिएपनि यस भित्र कति धेरै चलखेल हुन्छ भन्ने कुरा बताइ रहनु नपर्ला । तर, आज यो आलेखको मुल सवाल भने एनआरएनएको सदस्यता बन्नु आवश्यक छ वा छैन् भन्ने बारेमा छोटो विमर्श गर्नु हो ।

अधिबेशन/सम्मेलनः
आगामी अक्टोबर दोस्रो साता काठमाडौं हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौं विश्व सम्मेलनको तयारी स्वरुप वा उक्त सम्मेलनमा भाग लिनका लागि अहिले धमाधम विश्वभरका राष्ट्रिय समितिहरुको अधिवेशन, सम्मेलन, भेला र गठन पुनर्गठनले तीब्रता लिएको छ र राष्ट्रिय समितिहरुमा नयाँ नेतृत्व छनौटका लागि प्रक्रियाहरु चलिरहेको छ ।

बिश्व सम्मेलनलबाट अन्तर्राष्ट्रिय परिषदको नयाँ नेतृत्व समेत चयन हुने भएकाले राष्ट्रिय परिषदबाट गएका प्रतिनिधिहरुले नै नेतृत्वको लागि मतदान गर्ने हुँदा अहिले राष्ट्रिय परिषदका अधिवेशन र सम्मेलनहरुमा सबैको ध्यान केन्द्रित भएको छ । राष्ट्रिय परिषद गठनका लागि सम्बन्धित देशमा रहेका नियामानुसार एनआरएनएका सदस्यता प्राप्त ब्यक्तिहरुले निर्वाचित गर्ने भएकोले मुलरुपमा अहिले सदस्यता बन्ने वा बनाउने होड र प्रतिष्पर्धा चलिरहेको छ ।

सदस्यताः
तपाईं मानिसहरुलाई एनआरएनएको सदस्यता बन्ने भनेर सोध्नुस् अधिकांशले किन बन्ने ? बनेर के पाइन्छ ? यो बेकार हो, यसो गर्नु भनेको दश बीस डलर, पाउण्ड वा युरो वा यस्तै यस्तै तिनलाई बुझाउनु वा ख्वाउनु मात्र हो भन्ने निराशाजनक र आक्रोशपूर्ण जवाफ पाइन्छ ।

यस अर्थमा मानिसहरु किन स्वतस्फूर्त सदस्यता लिन अनिच्छुक छन् ? कि उनीहरूलाई उत्प्रेरित गर्ने र एनआरएनएको महत्व बुझाउने कुरामा कमजोरी भइरहेको छ ? यो राष्ट्रियदेखि अन्तर्राषर््िट्रय परिषदसम्म नेतृत्व गर्ने अगुवाहरुले गम्भीर ढंगले सोच्ने, चिन्तन र बहस गर्ने कुरा हो । नत्र चुनाव आउने बेलामा उम्मेदवार हुनेहरुले खातका खात सदस्यता फारम भराउदैं आफैं पैसा तिर्दै सदस्यता बनाउनुको विकल्प छैन् । यस्तो खालको काम, कुरा र प्रवृत्ति अत्यन्तै लज्जास्पद र विकृतपूर्ण हो ।

बन्ने कि नबन्ने ?
वास्तवमा मुल प्रश्न वा चुरो कुरो यही हो, बन्ने कि नबन्ने ? निश्चय नै कसैले आफूलाई एनआरएन ठान्छ भने उसले सदस्यता लिनु आवश्यक छ । खाली किनारामा बसेर रमिता मात्र हेरेर, गुनासाहरुको बह मात्रै पोखेर, एनआरएनएले यो गरेन, उ गरेन, यो भएन त्यो भएन, हाम्रालागि काम छैन् भनेर रुन्छे रुवाइले मात्र कर्तव्य पुरा हुँदैन । अधिकारको दावी मात्र गर्ने तर एउटा सदस्यता पत्र चाहिं नलिने ?

सयौं डलर, युरो, पाउण्ड अनुत्पादक काममा बेप्रवाह खर्च गर्न सक्ने तर दश बीसको सदस्यता लिन चाहिं मरेको दिन जस्तो गर्ने तरिकाले एनआरएनए सत्तोसराप गर्नुको कुनै अर्थ र औचित्य छैन् । बरु सदस्यता बन्ने र त्यसबाट प्राप्त अधिकारले भित्रै के के गर्नु पर्ने हो गर्ने, लड्नु छ कि, नेतृत्व लिनु छ कि, अधिकार स्थापित गर्न आवाज घन्काउनु छ कि, जे गर्नु छ गरौं । तर, पहिले एनआरएनएको सदस्यता बनौं अनि मात्र दरो गरी बोल्ने बाटो बन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री