पूर्व गोरखा सैनिक डा प्रेम आलेले गरे एनअारएनए युकेकाे उपाध्यक्षमा दाबी

लण्डन । गैर आवासीय नेपाली स‌ङघ युकेकाे यही सेप्टेम्बर ९ मा हुने सातौं अधिवेसनमा उपाध्यक्ष पदमा डा प्रेम आलेले दाबी गरेका छन् ।

आज फेसबुकमार्फत एक अनुरोध जारी गर्दै उनले उपाध्यक्षमा पदमा रहेर आफूले गर्ने कार्यका बारेमा जानकारी दिँदै अभिन्न मतले जिताउन अपील गरेका छन् ।

स्याङजामा जन्मिएका आले हाल डोर्सेटमा बसाेबासरत छन् । गोरखा सैन्यमा करिब ३१ वर्षको सेवापछि उनी गत वर्ष मेजर पदबाट रिटायर्ड भएका हुन् । उनले अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा विषयमा विद्यावारिधि गरेका छन् ।

समाज सेवामा विशेष रुचि राख्ने आले व्यक्तिगत तथा संघ-संस्थागत रुपमा नेपालमा मूलत: शिक्षा र आपतकालीन राहत दिलाउने काममा लामो समयदेखि स‌ङ्लग्न छन् । उनी चिल्ड्रेन फर चिल्ड्रेनमा नेपाली ट्रष्टीको रुपमा रहेका छन् । सो संस्थाले काठमाडौँमा ट्रमा केन्द्र र पोखराको फुस्रेखोलामा गरिब बिद्यार्थीहरुको लागि ब्यावसायिक शिक्षामा आधारित निशुल्क स्कुल संचालन गर्दै आएकाे छ ।

नेपालीबाट नेपालीका लागि भन्ने मूलमन्त्रका साथ अघि बढेको संस्था एनअारएनमार्फत आफ्नो मातृभूमिको सेवा गर्ने मनोकांक्षा रहेकाे उनले बताएका छन्।

आलेका प्रतिबद्दताहरु :

ब्रिटिश आर्मीको नेतृत्वदायी भूमिकामा रहेर संगालेको अनुभव, ज्ञान र शिक्षाको सदुपयोग गरि “सानो तर अत्यावश्यक, गर्न सकिने” काम गर्ने प्रतिबद्दता जाहेर गर्न चाहन्छु । निम्न कामहरु मेरा प्राथमिकतामा पर्नेछ ।

१. बेलायतबासी सम्पूर्ण नेपालीहरुलाई यो संस्थाको निशुल्क या न्युनतम शुल्कमा सदस्य बनाई अगामी चुनावमा सम्पूर्णले आ-आफ्नो क्षेत्रमा मतदान गर्न पाउने व्यवस्था गर्न पहल गर्नेछु ।

२. संस्थाको विधानको अक्षरश: पालना गर्दै नेपालीहरुको हक र हितमा काम गर्ने बिशुद्ध सामाजिक संस्था बनाउने कोशिस गर्नेछु । जाति र पार्टीको राजनीतिबाट मुक्त गरि सबै नेपालीले गर्बसाथ “आफ्नो संस्था” भन्ने लायक संस्था बनाउनेछु ।

३. कुनै पनि काम गर्दा “नेपालीको लागि नेपाली” र “एक पटकको नेपाली संधैको नेपाली” भन्ने संस्थाको मुलमन्त्र लाई हृदयगमन गर्दै भू.पु. गोर्खाली र समस्त नेपालीहरुको मागहरुलाई सम्बोधन गर्न बिशेष पहल गर्नेछु ।

४. बिबिध भेषभुषा, धर्मकर्म र कलासंस्कृतिको माध्यमबाट नेपालीहरुलाई संगठित गर्दै बिदेसमा आर्जित धन, सिप र अनुभवलाई नेपाल र नेपालीको बृहत्तर बिकाशमा लगाउनको लागि सहयोगी भूमिका खेल्नेछु ।

५. नेपाली राजदूताबाससंग सहकार्य गर्दै नेपालमा बिदेशी लगानी भित्र्याउन सकिने कार्यक्रमलाई प्रोत्साहित गर्ने अनि नेपाल र बेलायत बीच नेपाली समाजको पुल भएर अग्रणी भूमिका खेल्नेछु ।

६. नेपालमा उद्यमशीलता बिकाश तालिम तथा रोजगारीको लागि पहल गर्नेछु ।

मलाई यहाँहरुको अमुल्य मत दिएर उपाध्यक्ष पदमा जिताउनु भई यहाँहरुको सेवा गर्ने मौका दिनु होला भन्ने आशामा छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री