बेलायतका नेपाली विवादास्पद व्यापारी सुमार्गी सामू किन लम्पसार ?

तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । अजेय सुमार्गी टाइप गरेर गुगल सर्च इन्जिन भित्र छिर्नु भयो भने ‘विवादित छवि’ भएका अर्बौं सम्पत्तिका मालिक 
अजेयराज सुमार्गीकाबारे धेरै पढ्न पाइन्छ । त्यहां उनकाबारे राम्रा-नराम्रा दुवै व्यक्तित्व सजिलै अध्ययन गर्न सकिन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचन्डसंग विशेष सम्बन्ध रहेका अजेयराज पराजुलीका स्रोत नखुलेको धेरै सम्पत्ति छ । उनले विदेशबाट ल्याउन लागेको अर्बौं रुपैयां राष्ट्र बैंकले रोकेको समाचार आउने क्रम जारी छ ।

यसै साता सुमार्गीकी श्रीमति अस्मिता सुमार्गीका भाईले एक महिलाको जीवनमा खेलवाड गरेको समाचार नेपालका टेलिभिजनमा सार्वजनिक भयो । अजेयराज पराजुली राम्रो मार्ग अर्थात सुमार्गमा हिंड्नकै लागि सुमार्गीका रुपमा प्रकट भएको जानकारी इन्टरनेटले दिन्छ । सुमार्गको सोचले नै उनलाई पराजुलीबाट सुमार्गी बनायो ।

नेपाल जस्तो अल्पविकसित देश तथा भ्रष्टाचारमा लिप्त नेताहरुबीच 
राम्रो सम्बन्ध राख्न सफल ‘विवादित व्यापारी’ अजेय सुमार्गी मंगलबार लन्डनमा एक निजी भेटघाटमा देखिए । श्रीमति अस्मिता सुमार्गी र दुई छोरासहित भेन्यू फाइभ रेष्टुरेन्टमा करिब ५ दर्जन गन्यमान्य नेपाली महानुभाव अघि उनी बडो गफिए । दुई छोरालाई आंखाका नानीकै रुपमा चित्रण गरेका सुमार्गीले छोरा अभिमत सुमार्गीले अक्सफोर्ड विश्वविद्यालय अध्ययन गरिरहेको भनेर गर्व गरे ।

आफ्नै बारेमा लेखिएको पुस्तक ‘अजेयराज सुमार्गी’ लाई लन्डनमा पनि विमोचन गर्ने तयारी बैठकका रुपमा सल्लाह सुझाव लिन राखिएको उक्त निजी रात्रीभोजमा धर्म संस्कृति, विज्ञान र ज्ञानका बारेमा ठूलै प्रवचन दिन भ्याए उनी । मानौं, उनी प्रकाण्ड विद्वान हुन् ।

सामाजिक अभिन्यताहरुको ठूलै जमघटले उत्साहित भएका सुमार्गीले ‘किन स्याउ भुईंमा खस्यो ?’ भन्ने न्यूटनले पत्ता लगाएको गुरुत्वाकर्षण नियमलाई ‘आइस्टाइन’ को नाम दिन भ्याए । जबकि 
आइस्टाइनसंग स्याउ झर्नुको कुनै सम्बन्ध छैन् ।

प्रारम्भमै सुमार्गी मिडियामाथि ‘सफ्ट’ तरिकाले खनिए । उनले पत्रकारको अध्ययन क्षमता माथि प्रश्न उठाउदै भने ‘मेरा बारेमा बुझेर भन्दा नबुझिकन कमल चलाउंदा नराम्रा खबर आइरहेका छन् ।’ तर, के कस्ता नराम्रा कुराहरु मिडियामा आए भन्नेबारे उनले खुलाएनन् । बरु ज्ञान, बुद्धि र अनुभवलाई यूकेस्थित गन्यमान्य नेपालीबीच खुलस्त ढंगले राख्न खोजे जस्तो गरे । तर पनि राष्ट्रबैंकले आफ्ना बारेमा चालेको कदम र आफ्नै सालोले एक जना महिला माथि गरेको अन्याय बारेमा उनले एक शब्द पनि बोल्न चाहेनन् ।

धनाढ्य व्यापारी सुमार्गीले केही जिज्ञासा भए राख्न अनुरोध मात्र के गरेका थिए, उपस्थित मध्येका अधिकांशले सुमार्गीसंग परिचय गर्न पाउंदा नै गौरवान्वित महशुस भएको बताए ।

बेलायतको नेपाली डायस्पोराका अगुवाहरु अधिकांश समय सुमार्गीको प्रशंसा गर्नमै व्यस्त रहे । बेलायती नागरिकता लिइसकेका मध्ये एक जना नेपालीले त आफूलाई काठमाण्डौंमा भेट दिएकैमा गर्व लागेको बताए । उनका आफ्ना नातेदारले सुमार्गीको प्रशंसा गर्न स्वाभाविक मानिए पनि बेलायतस्थित एनआरएनए र राजनीतिक दलका प्रतिनिधि मानिएका व्यक्ति समेत सुमार्गीलाई देवत्वकरण गर्न लाग्नु लाजमर्दो थियो ।

निजी भेटघाटको जिम्मा लिएका लक्ष्मी प्रतिष्ठानका युरोप संयोजक सुरेन्दप्रसाद श्रेष्ठले सुमार्गीसंग भेट गर्न अवसर जुटाई दिएकोमा कतिपयले गर्व समेत गरे । नेपालका नेताहरुलाई दैनिक देश सञ्चालन र सिस्टमका बारेमा सुझाव र सल्लाह दिने बेलायतका नेपालीहरु किन सुमार्गीसंग यसरी लम्पसार परे ? आश्चर्यको विषय छ ।

बेला बेलामा यहांका अभियन्ताहरुले विदेशमा सिकेको ज्ञान र क्षमता नेपालमा समेत ‘ट्रान्सफर’ गरि नेपालको समग्र विकास सम्भव छ भनेर नेता तथा कर्मचारीतन्त्रलाई सुझाव दिने गर्छन् । तर, त्यही राज्यलाई कर नतिर्ने, नेता विशेषसंग सम्बन्ध भएका आधारमा नियम कानुनलाई गोजीमा राख्ने विवादित व्यापारीसंग बेलायतका अगुवाहरु किन आंखा जुधाएर कुरा गर्न सक्दैनन् ? यो पो रहस्यमय छ । कतै सुमार्गीले विदेशबाट लाने रकममा उनीहरुको पनि संलग्नता त छैन ? कतिपयको आशंका छ ।

आफ्नै व्यापार, व्यवसाय र केहीलाई रोजगारी दिन सक्ने हैसियत राख्ने बेलायतस्थित नेपाली सुमार्गीका अघि नतमस्तक हुनु भन्दा पनि राम्रा नराम्रा विषयमा खुलस्त छलफल गर्न सक्नु पर्दथ्यो । सुमार्गीले पनि आफ्नाबारे मिडियामा आएका मुद्दाको सार्वजनिक रुपमै जनतालाई 
प्रष्ट्याउने हिम्मत गर्नुपर्छ । मंगलबार सुमार्गीलाई देवत्वकरण गरेका अगुवाहरु मध्ये को को नेपालमा विमोचित भइसकेको उनको पुस्तक अर्को महिना (१३ सेप्टेम्बरका दिन) पुनः विमोचन हुंदा उपस्थित हुनेछन्, त्यो हेर्न भने महिना दिनजति कुर्नै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री