बेलायतका नेपाली नर्स मातृशिशु केन्द्र बनाउन च्यारिटी गर्ने तयारीमा

तस्विरः शिव भण्डारी

लन्डन । नर्स भन्ने बित्तिकै बिरामीको रेखदेख र स्वास्थ्य जांच गर्ने महिलाका रुपमा बुझ्छन् आममानिस । तर, बेलायतस्थित नेपाली नर्सहरु आफ्नो ड्यूटीबाहेक सामाजिक उत्तरदायित्व निर्वाह गर्न समेत अग्रपंक्तिमा छन् । महाभूकम्पका बेला नेपाल गएर राहत तथा उद्दारमा खटिएको नेपलिज नर्सिङ एसोसिएसन यूकेले त्यस लगत्तै सिन्धुपाल्चोक र गोरखामा एक एकवटा विद्यालय पुनर्निर्माण गरयो । निशुल्क हेल्थ क्याम्प सञ्चालन गर्न पनि एसोसिएसनको संलग्नता छ । यही १२ तारिख एसोसिएसनले ग्रेटर रेडिङ नेपलिज कम्युनिटीको सहकार्यमा रेडिङमा निशुल्क हेल्थ क्याम्प गर्दैछ ।

यतिखेर नेपलिज नर्सिङ एसोसिएसन यूके जुम्लाको अति विकट पत्थरखोलामा बर्थिङ सेन्टर (मातृशिशु केन्द्र) निर्माणमा जुटेको छ । उक्त बर्थिङ सेन्टर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले एसोसिएसनले आगामी २६ अगष्ट, २०१७ मा लन्डन साउथहयारोस्थित हयारो बरो फुटबल क्लवमा एक च्यारिटी डिनर गर्ने तयारी गरेको हो ।

मातृशिशु केन्द्र निर्माणका लागि करिब ४० हजार पाउण्ड लाग्ने भएकाले च्यारिटी डिनरमा सहभागी भएर वा प्रायोजन गरेर सहयोग गरिदिन एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले अपिल गरेकी छन् ।

उक्त प्रोजेक्टका लागि निम्न लिंकमा गएर अनलाइनबाट पनि आर्थिक सहयोग गर्न सकिनेछ ।

https://www.justgiving.com/crowdfunding/nnauk?utm_id=107&utm_term=jdQ7kEpqW

‘बर्थिङ सेन्टरको अभावमा धेरै महिलाले ज्यान गुमाउनुपरेको अवस्था छ । त्यसकारण बेलायतस्थित समस्त नेपालीलाई हाम्रो पूण्यकार्यमा सघाइदिन मेरो हृदयदेखि कै अनुरोध छ’, कंडेलले भनिन् । एक्सन वक्सको सहकार्यमा बर्थिङ सेन्टर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कंडेलले ५ सय पाउण्डभन्दा माथि सहयोग गर्नेको नाम केन्द्रको शिलालेखमा लेखिने र सबै दाताको नाम वेवसाइटमा राखिने जनाइन् ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित रोयल कलेज अफ नर्सिङ, एनएमसी एवं विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहनेछ । अध्यक्ष कंडेलले बेलायतका क्वालिफाइड नर्स, नर्सिङ पढिरहेका विद्यार्थी, हेल्थ केयर असिस्टेन्ट, डेन्टल नर्स, मिडवाइफ लगायत सबैलाई कार्यक्रममा उपस्थित भइ सहयोग गरिदिन आग्रह गरिन् । कार्यक्रममा स्वास्थ्य विज्ञहरुको प्रत्यक्ष संलग्नता र प्रेजेन्टेसन उपयोगी हुने आयोजकको विश्वास छ । एसोसिएसनले त्यस दिन सदस्यता वितरण गर्ने सोच समेत बनाएको छ ।

कार्यक्रममा टिकेट र अन्य जानकारी महासचिव रस्मिता दर्लामी, उपाध्यक्ष विनोद सिम्खडा, कोषाध्यक्ष गंगा साम्पांग लगायतले दिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री