नेपाली मेला तयारी तीव्र (भिडियोमा तमुधिं यूके अध्यक्ष ज्ञाम 
गुरुङ)

लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ ९ औं नेपाली मेलाको तयारी तीव्र भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला गर्न लागेको हो । आगामी २७ अगष्टका दिन केम्पटन पार्क रेस कोर्समा मेला हुंदैछ ।

तमुधिं यूकेले आयोजना गरेपनि यो सबै जातजाती र वर्ग अटाउने साझा मेला भएको अध्यक्ष ज्ञाम गुरुङ बताउंछन् । मेलामा लन्डनस्थित नेपाली राजदूत, लन्डन मेयर र नेपालका संस्कृति मन्त्री समेत बोलाउने योजनामा छ तमुधिं यूके । बेलायतवासी झण्डै दश हजार नेपाली मेलामा आउने अपेक्षा गरिएको छ ।

मेलामा युवाहरुका लागि लाइभ म्यूजिकसहित विभिन्न संघसंस्थाको झांकी र नृत्य समावेश हुनेछ । तमुधिं यूकेले यसपटक ६ वटा फुड र ३५ अन्य स्टल राख्न अनुमति दिने भएको छ ।

तमुधिं यूके उपाध्यक्ष एवं मेला संयोजक हितकाजी गुरुङले दिउसो १ बजेदेखि झांकीसहितको परेड शुरु हुने बताए । उनले मेला सफल बनाउन ६२ जनाको समिति बनाइएको जनाउंदै सबैले आ-आफ्नो जिम्मेवारी बमोजिम काम गरिरहेको बताए ।

नेपालबाट टाढा भएपनि नेपाली भाषा, कला-संस्कृति र पहिचान संरक्षण गर्नुपर्छ भन्ने परिकल्पनासहित नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००८ देखि शुरु भएको हो नेपाली मेला । लन्डन रिचमण्डदेखि केम्पटन पार्क रेस कोर्ससम्म आइपुग्दा नेपाली मेलाको आकर्षण झन् बढिरहेको छ । मेलाले ‘मिनी नेपाल’ नै झल्काउंछ ।

भिडियो अन्तर्वार्तामा तमुधिं यूके अध्यक्ष ज्ञाम 
गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री