आइतबार पनि भारी वर्षा, हालसम्म ३० भन्दा बढीको मृत्यु

शुक्रबार रातिदेखि परेको मुसलधारे बर्षाका कारण जलमग्न भएको सप्तरीको सदरमुकाम राजविराजको मुख्य सडकमा सवारी चलाउँदै । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस

काठमाडौँ, २८ साउन । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ ।

बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ ।

आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ ।

आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ ।

गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जर्नादन शर्मा, रक्षामन्त्री भीमसेन दास प्रधान, चारवटै सुरक्षा निकायका प्रमुखहरु तथा गृह मन्त्रालयको दैवी प्रकोप उद्दार महाशाखा प्रमुखसँग प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आपत्कालीन बैठकमा छलफल गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

सरकारद्वारा उद्धार तथा राहतमा सहयोगको अपिल

काठमाडौँ, २८ साउन । सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुरयाउन आह्वान गरेको छ ।

आज साँझ एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार बाढी तथा डुवान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्तिको परिचालन गरिएको छ ।

बाढी तथा पहिरो प्रभावित ११ जिल्लामा नेपाल प्रहरीका पाँच हजार ६००, सशस्त्र प्रहरीका एक हजार सातसय र नेपाली सेनाका आठ हजार तीनसय तालिम प्राप्त सुरक्षाकर्मी र हेलिकोप्टर खोज तथा उद्धारमा खटिएका जनाइएको छ ।

उद्धार गरिएकालाई विद्यालयलगायतमा आश्रय दिइएको र जिल्ला दैवीप्रकोप उद्धार समितिले खानाको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मन्त्रालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरेको छ ।

मन्त्रालयले यस विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री