प्योङयाङ र अमेरिकाबीच कुटनैतिक समाधान आवश्यक- बेलायत

लण्डन । बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउदै लण्डनले प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ ।

बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भन्नुभएको छ, ‘उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ ।’

अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा भएका उत्तेजित गतिविधि रोक्ने कुराको प्रत्याभूत गराउन काँधमा काँध मिलाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

‘हामी संयुक्त राज्य अमेरिका र यस क्षेत्रका हाम्रा साभेदार राष्ट्रसँग सङ्कटको कुटनैतिक समाधानमार्फत् अन्त्य गर्न हामीहरू लागिपरेका छौँ’, जोनसनले भन्नुभएको छ ।

क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्वीट् गर्दै अमेरिकी भूमी गुवाम सुरक्षित रहेको बताउनुभएको थियो । ट्रम्पले अमेरिकी सैनिक बल आफ्नो प्यासिफिक टापूमा हुनसक्ने उत्तर कोरियाली सम्भावित आक्रमणबाट सुरक्षाका लागि ‘तयार भई’ बसेको बताउनुभएको थियो ।

उत्तर कोरियाले आफ्ना ब्यालेस्टिक क्षेप्यास्त्रलाई जापानको पर्यटकीय क्षेत्रमाथि पनि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ । प्योङयाङ र वासिङटनबीच भनाभन चलिरहेका वेला मस्कोले उनीहरूको गतिविधिले आफूलाई निकै चिन्तित बनाएको मस्कोले बताएको छ।

रसियाली विदेशमन्त्री सेर्गेइ लाभरोभले युद्धको सम्भावनालाई ‘अति उच्च’ भन्दै संकटको समाधान गर्ने रसिया र चीनको संयुक्त योजना अघि सार्नुभएको छ ।

केही दिन अघि अर्थात् यसै हप्ता ट्रम्पले प्योङयाङमाथि ‘आगो र आक्रोश बर्साउने’ धम्की दिनुभएको थियो ।

तर आफू वार्ताका लागि सधैं तयार रहेको पनि उहाँले बताउनुभएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संकटको शान्तिपूर्ण समाधान खोज्ने भन्दै तनाव घटाउने प्रयास गरेको केही घण्टाभित्रै ट्रम्पले अर्को धम्की दिनुभएको थियो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई शब्दको आडम्बरतालाई हटाउन भन्दै त्यस्ता अभिव्यक्तिले अवस्थालाई थप उत्तेजित बनाउने बताउनु भएको थियो । त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘तनावको वृद्धि’ भएको भन्दै चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री