‘आई एम  सरी !’

‘आई एम सरी !’ भन्ने मानिस को पो छैन होला र ! कसै न कसैले कुनै न कुनै प्रसंगमा वा गल्ति गरेको अवस्थामा ‘आई एम सरी !’ भनेकै हुनु पर्छ । फरक त्यत्ति मात्रै हो कसैले भन्नु पर्ने सबै ठाउँ र प्रसंगमा भन्छन कसैले भन्दैनन । कसैले आफूलाई ‘आई एम सरी! भनेर ठूलो ठान्छन कसैले आफूलाई त्यसो भन्दा सानो ठान्छन ।

सूचना, संचार र प्रविधिको उपयोग र पहुँचले अहिलेको संसार निकै पारदर्शी भई सकेको छ । आजको संसारमा कसैले केही तथ्य लुकाउन र आफ्नो गल्ति ढाकछोप गर्न निकै मुस्किल छ । आम नागरिकको लागि पनि सत्य-तथ्य, सूचना र संचारको पहुँच निकै फराकिलो हुँदै गएको छ । तसर्थ पनि गल्ति गरेर ढाकछोप गर्नु भन्दा ‘आई एम सरी! भन्नु र त्यसबाट पाठ सिक्नु बुद्धिमानी हुन्छ ।

जुन सुकै देश र समाजमा पनि राजनीति गर्ने हो भने त्यहाँ पक्ष र प्रतिपक्ष हुन्छ ।  कसैलाई कुनै दलको कुनै कुरा मन पर्न सक्छ भने अर्कोलाई अर्को दलको कुरा वा बिचार मन नपर्न पनि सक्छ ।  राजनीति कसैबाट पनि अछुत हुन सक्दैन । न त यो सबैलाई सर्बमान्य नै हुन्छ न त कुनै दोषबाट अलग नै हुन सक्छ । राजनीति जति पारदर्शी र जिम्मेवारपूर्ण भयो, त्यति नै लोकप्रिय हुन्छ । त्यसैले पनि ‘आई एम सरी’ को जरुरत राजनीतिमा झन् धेरै हुन्छ ।

राजनीतिमा मात्रै हैन ‘आम एम सरी!’ प्रेम प्रसंगमा पनि उत्तिकै लोकप्रिय छ ।  कुनै गल्ति गरेको खण्डमा प्रेमीले प्रेमिकालाई फकाउन पनि यसको प्रयोग हुन्छ । त्यस्तै प्रेमिकाले प्रेमीसँग आफूलाई पारदर्शी देखाउन पनि ‘आई एम सरी!’ भनेको हुन सक्छ । प्रेम गर्दैमा गल्ति नै नहुने भन्ने पनि हैन । जहाँ प्रेम हुन्छ त्यहाँ पारदर्शिता र बिस्वासको जरुरत पर्छ । अनि त प्रेम मा झन् ‘आई एम सरी! को प्रयोग धेरै हुन सक्छ ।

सबै भन्दा धेरै समय हामी आफ्नो घरमा परिवारसँग बिताएका हुन्छौ । एउट्टै घरमा जन्मे, हुर्के, बढे र बसे पनि सबैको बिचार मिल्छ भन्ने छैन । आफ्नै घरमा पनि कहिले कसैको रिसको मारमा कोही पर्छ त कहिले कसैको आवेग, घमण्ड वा अहंकारको मारमा कोही पिसिन्छ । कहिले कसैलाई कसैको कुनै कुरामा चित्त बुझ्दैन त कहिले के मा कोही ठुस्स परेको हुन सक्छ । तर, पनि आफ्नै परिवार हो, आफ्नै घर हो । मिल्नु र जुट्नुको विकल्प हुन्न । त्यसैले त कसैले केही गल्ति गर्यो भने ‘आई एम सरी!’ भन्नु र महानता देखाउनु पर्छ । जसको बिचार जे जस्तो भए पनि एक अर्कोलाई माया र सम्मान गर्नु नै परिवारको हरेक सदस्यको मुख्य दायित्व हो ।

हाम्रो यो समाजको त के कुरा गर्नु ! यहाँ हजारौं बिचार छन् । लाखौ मानिस एउट्टै समाजमा अटाउँछन् । अनि त सबै को राम्रा गुण मात्रै हुन्छन भन्ने पनि छैन ।  यो समाजमा सबै सक्षम, सबल र योग्य हुन्छन भन्ने पनि छैन ।  जहाँ धेरै विचार हुन्छन र  धेरै मानिस हुन्छन त्यहाँ त्यत्तिकै बिचारको बिमेल र समाजमा असमानता पनि हुन सक्छ । जति असमानता भयो उत्तिकै द्वन्द पनि हुन सक्छ, गल्ति पनि हुन सक्छन । त्यसैले त कसैले केही गल्ति गर्यो भने त्यहाँ  ‘आई एम सरी!’ भनेर आफ्नै समाजमा मनमुटावको अन्त्य गरि हार्दिकताको वातावरण सिर्जना गर्नु बुद्धिमानी हुन्छ ।

‘आई एम सरी!’ भन्दैमा त्यो सांच्चैमा ‘आई एम सरी !’ नहुन पनि सक्छ । त्यसैले बोलीमा जे भनिन्छ त्यो ब्यबहारमा पनि त्यस्तै उतार्नु जरुरी हुन्छ । बोलि र ब्यबहारमा एक रुपता आउन सकेन भने आफ्नै बिस्वास गुम्छ ।

हामीले आफ्नो जीवनमा जुन संस्कार सिकेका हुन्छौ त्यो आफ्नै परिवेशबाट सिक्ने हो । मानिसले धेरै कुराहरु आफ्नो परिवार, समाज र साथीभाईहरुसँग सिकेको हुन्छ । आफैले आफैलाई, आफ्नो समाजलाई र अरुलाई कसरी हेर्ने भन्ने कुरा आफूले के कुरा कसरी सिक्यौ भन्ने कुरा बाट पनि प्रभावित हुन्छ । भनिन्छ नि, जे कुरा रोप्यो त्यही हुर्कने हो र जसरी हुर्कायो त्यसरी नै बढ्ने हो ।

यो संसारमा गल्ति नगर्ने मानिस कोही हुँदैन । कसैले जानी जानी गल्ति गर्छ भने कसैले थाहा नपाई गल्ति गर्छन । गल्ति गरे पछि आफ्नो गल्ति लाई ढाकछोप गर्ने र त्यसलाई स्वीकार नगर्ने हो भने त्यसबाट पाठ कहिले पनि सिक्न सकिंदैन । त्यसैले गल्ति स्वीकार गर्नु र ‘आई एम सरी !’ भन्नुमा नै महानता झल्कन्छ, न कि आफ्नो गल्ति लुकाउनुमा  ।

अरुको मात्रै के कुरा गर्नु ? अन्त्यमा आफ्नै कुरा गरूँ । म पनि एउटा सामान्य मानिस हुँ । मबाट पनि जानी नजानी धेरै गल्ति भएको हुन सक्छ, कसैलाई चोट पुगेको हुन सक्छ र कसैको आत्मा सम्मानमा आघात पुगेको हुन सक्छ । तसर्थ, यही लेख मार्फत अहिले नै भनुँ मैले पनि जानी नजानी केही गल्ति गरेको भए वा कहीं कतै कसैलाई  चोट पुरयाएको भए, ‘आई एम सरी !’

प्रतिक्रिया

सम्बन्धित सामाग्री