आइतबार, मंसिर ३ २०७४ | Sun, November 19, 2017
नेपालको समय: १०:२५ | UK Time: 04:40

प्राण जाने बेला पनि बालाई पानीसम्म खुवाउन पाइएन

विनेपाली
२०७४ भदौ ६ गते ११:०४


मेरी आमा भन्नु हुन्छ म सानै देखि धेरै दुःख पाएर हुर्केको रे । म जन्मिनु भन्दा केही महिना अघि मात्रै घरको हजुरबा हजुरआमाको स्वर्ग बास भएको रहेछ अनि म जन्मे लगत्तै बाको दाजुभाई छुट्टिनु भएछ । त्यस कारण पनि म सानो छंदा मलाई स्याहार सुसार गर्ने कोही भएनछ ।

सम्झिंदा यस्तो लाग्यो मेरै कारणले गर्दा मेरा बाहरुले अंशबन्डा गर्नु भयो । सायद म नजन्मेको भए मिलेर बस्नु हुन्थ्यो कि मेरा बाहरु । मेरो जन्मस्थान बागलुङ, मेरी आमा भन्नु हुन्छ मलाई दिनभर एक्लै 
कोर्कोमा सुताइदिएर उहां मेलापात र घांस दाउरा काट्न जानु हुन्थ्यो रे जुन आमाको रहर थिएन वाध्यता थियो । अहिले पनि लाखौं नेपाली आमाहरुको यही अवस्था छ । आमा फर्किंदा म आफैं कोर्को हल्लाएर आफ्नो पारामा एक्लै भुलिरहेको देख्दा आमालाई ज्ञानी छोरो पाएको आभास हुंदो रहेछ । मेरा बा त्यो बेला इण्डियामा काम गर्नु हुंदो रहेछ । वर्षमा २ पटक छुट्टीमा घर आउनु हुन्थ्यो रे । मलाई याद छ मेरो बा परदेशबाट घर आउंदा २-३ जना भरियासंगै आउंथे, बाको हातमा रेडियो हुन्थ्यो मलाई त्यो मात्रै याद आउंछ । बाले जुंगा पाल्नु भएको थियो । बालाई देख्दा मलाई अली अली डर पनि लाग्थ्यो । बा आको दिनमा हाम्रो घरमा म जस्तै थुप्रै केटाकेटीहरु जम्मा हुन्थे । आमाले ति सबैलाई चक्लेट दिनुहुन्थ्यो, चक्लेट पाएपछि तिनिहरु कता हराउंथे त्यो मलाई हेक्का छैन् । मेरो बा प्रत्येक बर्ष दशैंमा र फागू पूर्णिमामा घर आउनुहुन्थ्यो छुट्टी मिलाएर । तर, गाउंका अन्य ब्यक्तिहरु इण्डियामै बसेर पनि ३/४ वर्षमा एक पटक मात्रै घर आउने कुरा आमाले हामीलाई सुनाउनु हुन्थ्यो । तर हाम्रो बा वर्षको २ पटक आउनु हुन्थ्यो त्यही भएर पनि मेरा बा विशेष लाग्थ्यो । परिवारप्रति धेरै जिम्मेवार र हामीलाई एकदम माया गर्नुहुन्थ्यो । बाले भारतबाट आउंदा मिठोमिठो खानेकुरा अनी कपडा ल्याइदिने हुंदा हामी बा आउने दिन गनेर बस्थ्यौं ।

बाले घरकालाई मात्रै होइन, छिमेकीलाई पनि कपडा र उपहार ल्याइदिनु हुन्थ्यो । गाउंका अन्य ब्यक्तिहरुले बालाई इन्डियाबाट आउंदा रिडिको च्यादर बाटाको चप्पल आदि इत्यादि ल्याइदिन लगाउंथे अनि बाले कसैलाई नाइ नभनी च्यादर चप्पल ल्याइदिनु हुन्थ्यो । तर कसैसंग पनि पैसा लिएको थाहा पाइन । एकपटक त बुवाले गोविन्देलाई दिएको टिसर्ट फिर्ता माग्न गएको थिएं म गोविन्देको घरैमा । गोविन्देले मलाई बेस्सरी कुट्यो त्यो दिन । बिचरा म अहिले भएको भए किन त्यस्तो गर्दो हुं । म पनि त बालखै थिए, मेरो बा संसारकै उत्कृष्ट बा जस्तो लाग्थ्यो, मेरो बा जस्तो जाती बा अरुका छैनन् जस्तो लाग्थ्यो । हुन त सबैका बा सबै सन्तानका लागि उत्कृष्ट नै हुन्छन् ।

एकदिन सुत्ने बेलामा बाले मलाई र दाइलाई अब म तिमीहरुलाई चितवन लग्छु मैले त्यहां थोरै जग्गा पनि किनिसकेछु भन्नुभयो । दाई र म त्यो बेला हामी यहीं बस्ने हो भनेर झगडा गरेका थियौं । त्यसको २, ३ दिनपछि बा फेरी इन्डिया जानुभयो । त्यो वर्ष तिहारको दिन थियो, हाम्रो घरमा बिहानै टिका लगाउने तयारी भइरहेको थियो । त्यो बेला मेरी आमा एक्कासी बिरामी पर्नुभयो । गाउंका सबै मान्छे विशेषगरि धेरै महिलाहरु एक्कासी हाम्रो घरमा जम्मा भए । एकछिन पछि बल्ल मैले थाहा पाएं आमाले त भाइ पाउनु भएछ । त्यही वर्ष आमाले मलाई स्कुल भर्ना गर्दिनु भयो । म स्कुल जान सजिलै मन्दिनथें, स्कुल पठाउन आमाले मलाई धेरै दुःख गर्नु पर्दथ्यो । स्कुल जाने बेलामा आमाले मलाई कहिले भेली, कहिले चिनी, चक्लेट कि पैसा नदिएसम्म म स्कुल जान मान्थिनथें । सायद बा पनि घरमै भएको भए मैले आमालाई त्यति दुःख दिंदैनथे होला । मलाई एउटा कुरा अझै याद आउंछ, त्यो बेला बिहानको पढाई हुने बेलामा म स्कुल नगई मकैको बारीमा लुकेर बस्थें । जब स्कुलमा छुट्टी भएको घन्टी बज्थ्यो तब म घर आउंथे । स्कुल मेरो घरबाट १० मिनेटमा हिंडेरै पुगिन्थ्यो । एकदिन आमाले म मकै बारीमा लुक्ने गरेको थाहा पाएर खुब पिट्नु भयो र सोबे काकाले मलाई नांगै बनाएर गाउंभरी डुलाउनु भयो । त्यो दिनदेखि म सरासर स्कुल जान थालें । एक कक्षामा मैले दिनदिनै जस्तो कुखरो बन्न पर्दथ्यो । कहिले गृहकार्य नगरेर, कहिले बदमासी गरेर बालकृष्ण सरले त कति पिटे कति मलाई । जनतेन एक कक्षा पास भएं तर पछि बाले सरले आमासंग सेतेलाई रुन्छ भनेर पास बनाइदिएको भनेछन् ।

सानो हुंदा मलाई गाउंमा सबैले सेते भनेर बोलाउंथे सायद सानोमा म गोरो भएको कारणले होला । अहिले पनि गाउं गयो भने सबै जनाले मलाई सेतेनै भन्छन् । यसै गरी वाल्यकाल बित्दै थियो २०४९ सालको फाल्गुनमा सधैंझै बा फेरी घर आउनु भयो र यसपालि हामी सबैलाई चितवन लाने भन्नुभयो । बाले चितवनमा घर बनाएर जानु भएको रहेछ, त्यतिखेर दाई र म हामी चितवन सर्दैनौं भनेर धेरै झगडा गरियो तर त्यो रुवाइको केही अर्थ लागेन । सानै भएपनि आफ्नो जन्मथलोको खुब माया लाग्थ्यो मलाई । बाले हाम्रै भविष्य राम्रो होस् भनेर चितवनमा सार्न लागेको कुरा आमाले बारम्बार भन्नु हुन्थ्यो मलाई । चितवनमा खुब गर्मी हुन्छ भन्ने कुरा मैले सुनेको थिएं । अरुले जे सोचे पनि मलाई चितवन गएपछि कालो हुन्छु कि भन्ने ठूलो डर थियो । आखिर हामी चितवन जाने दिन पनि आइहाल्यो, अब घरमा भएका सामानहरू सबै तयारी गरियो । भोलिपल्ट बिहानै कुस्मा जाने तयारी भयो । घरमा भएका जांतो देखि सिलौटोसम्म डोकामा हालेर तयारी गरियो । कुस्मासम्म गाउंका सबै मान्छेहरुले सामान बोकर लगिदिने चलन थियो । त्यो बेला गाउंमा मोटर बाटो थिएन । अहिले जेनतेन जीप सम्म पुग्छ हाम्रो 
गाउंमा । बिहानै उठेर दाई र म हाम्रो घुमाउने घरको आंटीमा लुक्न 
गयौं चितवन जान पर्दैन भनेर, तर हाम्रो प्रयास सफल हुने कुनै सम्भावना थिएन । घर छोड्ने बेलामा दाई र म धेरै रोइयो । घर छोडेको दिन कुस्मा बजार गएर बसियो । जिन्दगीमा पहिलो पटक बाग्लुङ छोडेर कालीगण्डकी खोलो तरें । भोलिपल्ट बिहानै केही खाने कुरा खाएर ट्रकमा पोखरा लागियो । जिन्दगीमा पहिलोपटक गाडी चढेर पोखरा हुंदै चितवनको गितानगर पुगियो ।

बा गएपछि दशैं र फागू पूर्णिमा, पूर्णिमा र दशैंको बीचमा ३-४ पटक पत्र आदानप्रदान हुन्थ्यो । त्यो बेला न त फोन थियो न इन्टरनेट । अहिले जस्तो हुंदो हो त दिनदिनै भिडियो हेरेर कुरा गरिन्थ्यो होला । बाले पनि दिनदिनै फेसबुकमा फोटा हाल्नु हुन्थ्यो होला । तिनै फोटा हेरेरै पनि परदेशी बुवाको याद मेटाइन्थ्यो होला । बाको पनि भाइबर र स्काइप हुन्थ्यो होला । घरमा दिदी बहिनी नभएका कारण पनि होला घरका अधिकांश काम म आफैंले गर्थें । आगन बढार्ने, 
गाइभैंसीलाई दाना पानी दिने सबै काम म आफैंले गर्थें । आमा पर सरेको बेला खाना बनाउने, भांडा माझ्ने सबै, मेरी आमाले तं मेरो दाइने हात होस् भन्नु हुन्थ्यो । यसै क्रममा दिन बितिरहेका थिए । साउन महिना थियो गते ठ्याक्कै याद भएन । म र आमा बिहान गोठको काम गर्दै थियौं । यसैबीच हाम्रो घरमा गाउंको एकजना हजुरआमा आउनु भयो । सबेरै बिहान ती हजुरआमा आउनु अस्वभाविक थियो । हजुरआमाले आमालाई के भन्नु भयो मलाई थाहा भएन तर मेरी आमा एक्कासी रुन थाल्नुभयो । एकैछिनमा गाउंका सबै मानिसहरु हाम्रो घरमा जम्मा भए । आमा रुदारुंदै बेहोस हुनुभयो । त्यो बेलासम्म आमा रुनुको कारण मैले पत्ता लगाउन सकेको थिइन ।

एकैछिन पछि आमा रुनुको कारण मैले पनि थाहा पाएं । म छांगाबाट खसे जस्तो भएं । मेरा बाको इन्डियामै स्वर्गवास भएछ यो कुराको मलाई विश्वासनै लागेन, कयौं पटक कुइनामा चिमोटें तर यो सपना थिएन । हाम्रो उज्जवल भविष्यको लागि संघर्ष गर्दागर्दै हाम्रा बाको परदेशमै स्वर्गवास भयो । बासंग धित मर्नेगरी संगै बस्न नपाउंदै बाले हामीलाई छोडेर जानुभयो । बाका कयौं सपनाहरु त्यसै अधुरै रहे । हाम्रा लागि भनेर जिन्दगीभर मरिमेट्ने हाम्रा बालाई अन्तिम पटक पनि देख्न पाइएन । बाले अन्तिम सास लिदैं गर्दा बालाई पानीसम्म खुवाउन पाइएन । हामीलाई सुख दिनको लागि जिन्दगीभर आफ्नो नङ घोट्ने बालाई आफ्नै हातले दागबत्ती दिन पनि पाइएन । स्वर्गीय बाप्रति हार्दिक श्रद्धासुमन । (सन्दर्भः बाबुको मुख हेर्ने पर्व)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक