सोमबार, असोज ९ २०७४ | Mon, September 25, 2017
नेपालको समय: २२:३७ | UK Time: 17:52

एनआरएनए अपनत्व र निर्वाचन: भोट कसलाई ?

गोविन्द बेल्वासे
प्रकाशित मिति:२०७४ भदौ २३ गते ९:५९


भूमिकाः

अहिलेको गैर आवासीय नेपाली संघ (एनआरएनए) प्रमुख रुपले नेपाली डायस्पोराको संगठन हो । डायस्पोरा र प्रवासी नेपालीहरुलाई एकजुट पार्ने र दुःख-सुःखमा सहयोगी हुनुका साथै नेपालीहरूको व्यक्तित्व र नेपाली समाज विकासको योजनाकार एवं ब्यवस्थापकका रुपमा यो संगठन स्थापित हुनुपर्दछ । प्रवासी नेपालीका लागि यो संगठन अहिले सहायक रुपमा मात्र देखिएको छ । भविष्यमा यो प्रवासी नेपालीहरूको संगठन नै हुने छ । तर, साधारण डायस्पोरा र प्रवासी नेपालीले यसलाई आफ्नो संगठनका रूपमा महसुस गर्न सकेका छैनन् । यस संगठनलाई पैसा कमाएका देश बाहिर बस्ने केही नेपालीहरूको क्लबका रूपमा अनुभूति गरेको भनाइ यत्रतत्र नेपालीहरूबीच सुनिन्छ ।

नेपाली समाजसंगको सामिप्यता, नियास्रोपना र मातृभूमि विछोडको पीडा बोकेको विदेश बस्ने समूह ‘नेपाली डायस्पोरा’ हो । विदेशमा बसेको नेपाली मुलको आगामी पुस्ता प्रवासी (इमिग्रेन्ट) हुने छ । प्रवासी नेपालीको नेपालसंगको लगाव डायस्पोराको जस्तो हुनेछैन् । डायस्पोराको जस्तो पूर्ण घर नेपाल र ओतलाग्ने छहारी विदेश भएजस्तो प्रवासीले नेपाल घर महशुस गर्ने छैनन् । उनीहरूले त बढिमा नेपालमा आधा घरसम्म अनुभूति गरे पनि बढि नै मान्नुपर्ने हुन्छ । हाम्रा १५ पुस्ता अघिका पुर्खा कहांबाट नेपाल पसेका थिए ? के हामीले त्यो पुरख्यौली थलोसंग नाता गांसेका छौं ? छैनौं । त्यसैले प्रवासी नेपालीको नेपालसंगको सामिप्यता दीर्घकालसम्म जोड्ने कडी अहिलेको डायस्पोराले मिलाउन जरुरी छ ।

नेपालको संविधानको धारा ३ ले डायस्पोरा र प्रवासी दुवैथरि नेपालीलाई ‘राष्ट्र’ का रूपमा पहिचान गरेको छ । जबकि नेपालको भूभाग भित्र बसोबास गर्ने नेपाली समुदायलाई ‘नेपाल राज्य’ का रुपमा पहिचान गरेको छ । यस अर्थमा नेपाल अब मेचीदेखि महाकालीसम्म मात्र होइन सातसमुन्द्र पारिका देशसम्म फैलिएको छ । यो नै ‘राष्ट्र’ र ‘नेपाल राज्य’ बीचको फरक हो । संविधानको धारा १४ ले ब्यवस्था गरेको गैर आवासीय नेपाली ‘राष्ट्र’ अन्तर्गत पर्छन् तर नेपाल राज्य अन्तर्गत नेपाली नागरिक मात्र पर्दछन् । नेपाल राज्यका नागरिकहरूमा नागरिक अधिकार अन्तर्निहित हुन्छ भने गैर आवासीय नागरिकलाई सुविधामात्र प्राप्त हुनसक्छ । यस अर्थमा हेर्दा गैर आवासीय नागरिकताधारी ब्यक्ति नेपालका नागरिक भने होइनन् र उनीहरूलाई राज्य (नेपाल) ले केही सुविधा भने दिनसक्ने प्रावधान छ । त्यसैले धारा १४ को ब्यवस्था दोहोरो नागरिकताको ब्यवस्था होइन भन्ने बुझ्न जरुरी छ ।

एनआरएनएले उठाउंदै आएको ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने भावनालाई धारा १४ ले सम्बोधन गरेको छैन् । भविष्यका प्रवासी नेपालीको लागि मात्र उक्त धाराले सम्बोधन गरेको छ । सधैंको नेपाली हुने चाहना डायस्पोरा तथा नस्टाल्जियाको प्रतिबिम्ब पनि हो । यसलाई उग्र राष्ट्रवाद र परम्परावादी संकीर्ण सोचबाट हेरेर सम्बोधन गर्न सकिंदैन । सधंैको नेपालीको प्रसंग उल्लेख गर्दा भारतको खुला सिमाना देखाएर सवै भारतीयले देश भरिन्छन् भन्ने डर देखाएको पनि पाइन्छ । भारत र नेपाल दुवै देशका नागरिकलाई दुवै देशमा बस्ने, पस्ने र ब्यवसाय गर्ने अधिकार पुराना सन्धिले नै दिएको परिप्रेक्षमा कागजकै लागि मानिस नेपाल बस्ने भए त १५ वर्ष पहिला नेपाल छिरेर अंगिकृत नागरिता बनाइसक्ने थिए । कागजले मान्छे छिराउने होइन छिरेकालाई नागरिकताको कागजले ब्यवस्थित गर्ने हो । विदेशको नागरिकता लिंदा नेपालको नागरिकता खारेज हुनुहुंदैन भन्ने अर्थात सधैंको नेपाली भइरहन पाउने चाहनाले अन्य विदेशीलाई नागरिकता दिने अर्थ कदापी दिंदैन । यस ब्यवस्थाले त नेपाली डायसपोरालाई प्रवासी नेपालीको नेपालसंगको नाता-सम्बन्ध जोडिराख्ने ब्यवस्था गर्न सहुलियत दिने मात्र हो ।

गोविन्द बेल्वासे

नेपालीका सन्ततिको सम्बन्ध नेपालसंग जोडेर राख्दा नेपाललाई सधैं नै फाइदा नै हुनेछ । गैर वासीय नेपाली संघको वेवसाइट https://nrna.org खोल्यो भने पहिलो पेजले यो त उपकार (च्यारिटी) संगठनको वेवसाइट हो कि भन्ने झल्को दिन्छ । उपकार कार्यमा संलग्न भएका फोटोहरुले पहिलो पेज नै झल्झलाकार छ । उपकारमा संलग्न हुनु अति उत्तम हो । उपकार गर्नु राम्रो हो तर यो संगठनको उद्देश्य उपकार भन्दा बढि अरु नै हुनुपर्ने हो । उपकार क्रियाकलाप त संगठनको मुख्य काम नभएर सहायक समितिको एक शाखा कार्यक्रमका रुपमा मात्र हुनुपर्छ ।

निर्वाचनः
विभिन्न देशमा अहिले यस संगठनको निर्वाचनको लहर चलेको छ । तर, कुनै पनि देशमा सर्वसाधारण नेपाली डायस्पोरा र प्रवासीले आफ्नो संगठनको रूपमा अंगिकार गरेको देखिंदैन । यही अवस्था बेलायतमा पनि छ । यसो हुनुको पछाडि संगठन ढांचा र सहायक रुपमा सदस्यता समिप्यता जोड्ने कडीको अभाव नै मुख्य कारण देखिन्छ । संगठन बन्नु र विस्तार हुनु पहिलो आवस्यकता करिब पुरा भएको छ र यसको विस्तार हुंदै जानकालागि सदस्यहरूबीचको सामिप्यता र आफ्नोपन जगाउन अति नै आवस्यक छ । देश विदेश मिटिङ गर्न खर्चिलो यात्रा र फुर्सदको समयको अभावले गर्दा यो संगठनका गतिविधि सानो समूहबीच मडारिएको छ । यसमा सुधार गरेर सवै डायसपोरा र प्रवासीबीच यो संगठन पुग्न जरुरी छ ।

सबै डायसपोरा र प्रवासीबीच यो संगठनलाई विस्तार गर्न र अपनत्व जगाउनका लागि सदस्यता पद्दतिमा हेरफेर गर्न जरुरी छ । अहिले यो संगठनको सदस्यता बन्ने प्रकृया नेतृत्व चयनमा सकृयता जनाउंदा मात्र हुने गरेको छ । सदस्यता शुल्क उम्मेदवारले तिरेर सदस्य बनाउने प्रचलन बसेको छ । तर, यो संगठनको मर्म र भावना भन्दा यो प्रचलन ठीक उल्टो रुपमा चलेको भन्न सकिन्छ ।

धरै जसो मुलुकमा नेपालीका थुप्रै संगठन बनेका छन् । त्यस्ता संगठनहरुलाई मालादार कडीका रूपमा जोडेर डायस्पोरा र प्रवासी नेपालीलाई संगठित पार्ने र परिचालन गर्ने अनि राष्ट्रका रूपमा रहेको नेपाली समाजलाई एक ढिक्का बनाउने र छाता संगठनको भूमिका यस संस्थाले गर्ने संगठन ढांचा बनाउनु अहिलेको आवस्यकता हो । यसको गतिविधि भविष्यमा नेपाल राज्यको भन्दा बढि पनि हुनसक्छ भन्ने कुरामा हामी सचेत हुन जरुरी छ । यसको लागि इजरायल राष्ट्र सन् १९४८ मा खडा हुनुभन्दा पहिला त्यो राष्ट्र बनाउने समूहको राष्ट्रवाद र संगठनकला मनन गर्न सकिन्छ । त्यस समयमा उनीहरूको राज्य थिएन तर राष्ट्र थियो । राष्ट्र थियो र राज्य बन्यो । नेपालका अहिलेका नेता र छिमेकी प्रभाव देख्दा यस संस्थाले भविष्यमा इजरायलको सिको गर्नुपर्ने वाध्यता नबनोस् भन्ने चाहना हुन्छ तर त्यस्तो वाध्यता नै भयो भने यस संगठनले पर्याप्त भूमिका निभाउने गरी संगठन संरचनामा सुधार गर्नुपर्दछ ।

नेपालीहरुबीच संगठित संस्था थुप्रै छन् । ती मध्ये निश्चित मापदण्ड भित्र परेका संगठन नै पदेन सदस्य हुने गरी त्यस्ता संगठनले लेवीका रूपमा नियमित खर्च बुझाउने र त्यही स्रोतबाट संगठन सञ्चालन हुने पद्दति बसाल्न सकेको खण्डमा यस संगठनसंग सबै डायस्पोरा र प्रवासी नेपालीले अपनत्व महशुस गर्नेछन् ।

त्यसैले सबै उम्मेदबार तथा पदाधिकारीहरुले सबै डायस्पोरा र प्रवासी नेपालीले अपनत्व महशुस गर्ने संगठन ढांचा बनाउन पहल गर्नुहुनेछ भन्ने भावनामा अहिलेको निर्वाचन केन्द्रित रहोस भन्ने शुभकामना छ । यही भावना समेट्नेलाई भोट दिन अग्रसर बनौं ।

तपाईको प्रतिक्रिया




फेसबुक