नेपाली युवा क्रिकेट टोली मलेसियातर्फ प्रस्थान

काठमाडौँ, २३ भदौ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङ्कङ, चीन र म्यानमार छन् ।

नेपालले आफ्नो पहिलो खेल २६ गते सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसपछि नेपालले दोस्रो खेल भदौ २८ मा भुटानको सामना गर्नेछ भने तेस्रो खेल भदौ २९ गते सिंगापुरसँग भिड्नेछ । आ–आफ्नो समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने दुई टोलीले एशिया कपको यात्रा तय गर्नेछन् ।

नेपाली टोलीको कप्तानीको भूमिका दीपेन्द्रसिंह ऐरीले निभाउने छन् । त्यस्तै सहभागी अन्य खेलाडीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, सुमित महर्जन, प्रनित थापामगर, अनिलकुमार शाह, पवन सर्राफ, नन्दन यादव र विक्रमकुमार भुसाल छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा कलाम अली छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री