बिहीबार, मंसिर ७ २०७४ | Thu, November 23, 2017
नेपालको समय: १३:१६ | UK Time: 07:31

मजगैयाँको विद्रोह, त्याग र पृष्ठभूमिको त्रिबेणी ‘धर्तीमाता’

विनेपाली
२०७४ भदौ २६ गते १०:०३

आचार्य

बाल्यकालदेखि करिब तीस बर्षसम्मको परिवेश, आक्रोस, घटनाक्रम लगायत परिवारको इतिहासलाई साहित्यकार तथा राजनीतिज्ञ बलदेव मजगैयाँले भर्खर प्रकाशित आत्म आख्यान कृति ‘धर्तीमाता’ मा सटिक तबरले प्रस्तुत गरेका छन् । सात बर्षको उमेरमा आफ्नी आमा गुमाउनुपरेको कारुणिक प्रसंग, नेपाली कांग्रेस पार्टीसंगको राजनीति, बिपी कोइरालासंगको सामिप्यता, प्रतिभाशाली व्यक्तित्व सरोज कोइरालासंगको पहिलो र अन्तिम भेट, कांग्रेस नेत्री शैलजा आचार्यको झन्डै ज्यान जानेगरी अस्मिता लुट्न खोजिएको घटना लगायत ससस्त्र क्रान्तिको बेलामा आंग नै सिरिंग हुने गरि बनारसबाट नेपाल आएको प्रसंग एबं आफ्नो अतीतका धेरै कुरा यस आत्म आख्यानमा उजागार गरेका छन् ।

यस कृति पढ़दा नेपालको उज्ज्वल भविष्यको खातिर आफ्ना युवा र उर्जाशील समय कठोर पंचायती ब्यबस्था बिरुद्दमा विद्रोहको राँको बोकेर ज्यानको समेत पर्वाह नगरेर हिड्ने एक साहसी व्यक्तित्वको अदम्य चित्र निरन्तर मन मस्तिष्कमा आइरहन्छ । राजनीति मात्र नभईकन तत्कालिन समयमा दाङमा शिक्षाको परिवेश, सामाजिक परिस्थितको विचरण, आफ्नो परिबार एबं बाल्यकालको परिवेश, आफ्नो व्यक्तित्व र स्वभाब बारे धक खोलेर फुकाएका छन् । जस्तोसुकै परिस्थितमा पनि राजनीति चेत भएको व्यक्तिलाई आत्मविश्वास नै सबै भन्दा ठुलो अस्त्र भएको तथा पद र लोभमा नफस्ने व्यक्तिले सफलता चुम्न सक्छ भन्ने संदेश पनि यस किताबमा पाइन्छ ।

आफ्नी आमाले देहान्त अघि भोग्नुपरेको दारुण दर्दको बर्णन तथा सानो उमेरमा नै मातृत्व प्रेमबाट बन्चित हुनुपरेको हृदयबिदारक चित्रणले जोसुकैलाई पनि भाबबिह्यल बनाउछ । कम उमेर देखि नै उनि लगायत अरु आफ्ना पिता-माता गुमाउने मानिसमा बिद्रोह स्वभाब बढी हुने गरेको भन्ने बिपी कोइरालाको भनाइलाई लेखकले स्वीकारेका छन् ।

तेत्तीसवटा स-साना उपशीर्षक भएको यस कृतिमा लेखकले नौं कक्षा पढ्दा छात्रबासको मेसमा भएको अन्यायबाट आफ्नो विद्रोहको बिगुल फुकिएको तथ्य बताएका छन् । आफूलाई अन्यायमा पार्ने वामपन्थीहरु भएबाट उनीहरुलाई प्रतिशोध लिनको लागि नेपाली कांग्रेसमा लागेको बर्णन गरेका छन् । आफ्ना बाबु तथा घरमा पहिलेदेखि नै नेपाली कांग्रेसको समर्थक रहेको देख्न सकिन्छ ।

आफ्नो पहिलो जेलयात्रा बि.सं. २०२६ साल पौष एक गते तत्कालिन राजा महेन्द्र बिरुद्द पर्चाबाजी गरेको अभियोगमा उनि लगायत उनका साथीहरुलाई दाङमा जेल हुदाहुदै मानसिक यातना दिनको लागि सल्यान पुर्याएको तथा जेलको भोगाई प्रसंगमा भेट भएका वामपन्थी नेता मोहन बैद्यको सामिप्यताले साहित्य जान्न मौका पाएको प्रसंग जोडेका छन् । प्रहरीले जफत गरि हराइएको ‘लाहुरे’ खण्डकाव्य पहिलो साहित्तिक कृति भएको कुरा जनाएका छन् । जेलमा आमरण अनसन बसेको तथा तत्कालिन सल्यानका पंचायती नेता मरिचमान सिंहले गरेको सहयोगको स्मरण गरेका छन् । अनसन बस्दा आफ्नो स्वास्थ्यको हेका नगरेर आजिबन पेटको रोगि हुनुपरेको तितो यथार्थता प्रस्ट्याएका छन् ।

शान्त तथा शालीन व्यक्तित्व भएका मजगैयाँले १७/१८ बर्षको उमेरमा तीन बर्षसम्म मारपिटमा सामेल भइ आफ्नो रौद्र रुपको उजागार गरेका छन् । पछि कसरी आफुमा परिबर्तन आयो भन्ने कुरामा स्वयम् आश्चर्यचकित भएका छन् ।

बनारसमा पढ्न जादामा बिपी कोइराला लगायत नेपाली कांग्रेसका अरु नेताहरुसंगको बसउठको चर्चा गर्दै बिपी कोइराला तथा वामपन्थी नेता पुष्पलाल बिच मिलेर सयुक्त आन्दोलन नेपालमा गर्नुपर्ने महशुस आइ बीपीले पुष्पलाललाइ ‘आफ्नो आर्थिक प्रस्ताब ल्याउनुस म आँखा चिम्लेर सहि गर्नेछु’ भनेको कुरालाई उधृत गर्दै पछि राजतन्त्रको बारेमा पुष्पलालले निर्णय गर्न नसक्दामा सयुक्त आन्दोलन सेलाएको प्रसंग उल्लेख गरेका छन् ।

बिपी कोइरालालाई षड्यन्त्रपूर्वक पार्टी सभापतिबाट हटाउनको लागि बिरामी सुबर्णशम्सेरलाई जबर्जस्ती सहि गराउन दबाब दिई शशीसम्सेरलाई कार्यबाहक दिने कार्य गर्दा कलकत्ता बाट आएको फोन आफुले उठाएको र तुरुन्त गिरिजाप्रसाद कोइरालालाई कलकत्ता गइ यो सबै षड्यन्त्र विफल पारिएको ऐतिहासिक कुराको दृस्टान्त लेखकले प्रस्तुत गरेका छन् ।

२००७ सालमा जन्मेका मजगैयाँले आफ्नो पारिवारिक पृष्ठभूमिदेखि त्यस समयलाई किताबभित्र डोरयाएका छन् । किताबमा उल्लेख चर्चा गरिएका नेपाली कांग्रेसका नेताहरु बि.सं. २०४६ को जनआन्दोलन पश्चात नेपालको राजनीतिमा महत्वपूर्ण पदहरुमा आसिन भएका छन् । नेपालको सम्बृदीको लागि जिउ ज्यान अर्पेर हिडेका मानिसहरु सत्तामा पुगेपछि राजनीतिक आदर्श, मूल्य, मान्यतालाई कत्तिको अङ्गीकार गरेका छन् त भन्ने प्रश्न पाठकको मनमा आउछ । ब्यबस्था परिबर्तनको लागि बिद्रोह गर्न सक्षम हुनेले राज्यको बागडोर हातमा आएपछि किन अपेक्षाकृत सम्बृद नेपाल बनाउने काम गर्न सकिरहेका छैनन् भन्ने अर्को प्रश्न पनि उत्तिकै खडा हुन आउछ । राजनीतिक परिबर्तनपछि पनि किन नेपालमा भविष्य नदेखी या कर्म गर्ने ठाउ नपाइ धेरै युवा जुनसुकै अबस्थामा पनि परदेशको झोला बोक्न बिबश भएका छन् भन्ने जस्ता अनेक प्रश्नहरु मुखरित हुन आउछ ।

लेखक तथा राजनीतिज्ञ मजगैयाँले आफ्नो जन्मभूमि दाङ प्रति अगाध स्नेह प्रकट गरेका छन् । आफ्नो कर्मको आधार स्तम्भ रहेको यस ठाउँमा मजगैयाँको पारिवारिक बिरासत र योगदानको रोमान्चकारी तबरले चर्चा गरेका छन् । किताबको अन्तमा क्रमशः भन्ने संकेतले लेखकले आफ्नो तीस बर्ष उमेर पछिको आत्म वृतान्त लेख्ने तरखरमा रहेको आभास पाइन्छ ।

०४८ सालमा जनप्रतिनिधि भइ मन्त्रि समेत भएका मजगैयाँको अरु पृष्ठभूमि के कस्तो रह्यो ? आफ्नो जीबन नै नेपाली कांग्रेसको लागि अर्पेका व्यक्तिले किन सक्रिय राजनीतिबाट पाखा लाग्नुपर्यो ? यति ठूलो गौरवशाली इतिहास बोकेको व्यक्तिको आफ्नो पार्टी भित्र सत्तामोह, इमान्दारिता र सहि नीतिको खडेरी परिरहदा किन चुपचाप हेरी बस्नु परेको अथवा उनको बिद्रोहमा अब पूर्णबिराम लागेको हो ? भन्ने आदि प्रश्नहरुको जवाफको अपेक्षा अर्को प्रकाशित हुने आत्मकथामा पाठकहरुको हुने नै छ ।

सरल भाषामा लेखिएको यस पुस्तकमा केहि ऐतिहासिक प्रसंग उत्तिकै रोचक छ । तर, बिपी कोइराला लगायत नेपाली कांग्रेससंग सानै उमेरदेखि कसरी नजिकको सम्बन्ध स्थापित हुन पुग्यो ? किन पंचायती व्यवस्थासंग सानो उमेर देखि जीबन नै जोखिममा राखी बिद्रोह गर्नुपर्ने खास के कारण थिए ? त्यस बेलाका मध्यम परिवारका युवा मजगैयाँलाई राजनीतिमा नै समपर्ण गर्न प्रेरणा कसले धेरै दियो ? भन्नेजस्ता अनुत्तरित प्रश्नहरुपनिं यस कृति पढेपछि पाठकको मनमा उब्जिन्छ ।

सरल तबरले गहिरो बिषयबस्तु पस्कने खुबी भएका मजगैयाँको अर्को कृति चाडै नै पढ्ने अपेक्षा राख्दै स्नेहपूर्वक यस पुस्तक पठाईदिनु भएकोमा मित्र भगिरथ योगीलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक