म्यानमारको अवस्थाप्रति राष्ट्रसंघीय मानवअधिकार आयोगको ध्यानाकर्षण

तस्विरः रोयटर्स

जेनेभा, २६ भदौ । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बंगलादेश विस्थापित भएपछि रोहिङ्गा समुदायका बारेमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रसंघीय मानवअधिकार आयोगका प्रमुखले कुनै विशेष जातीमाथि ज्यादती भएको देखिएको र यो कार्य नियोजित रुपमा गरिएको पाइएको भन्दै यसतर्फ सरकारको म्यानमार सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उक्त अवस्थाको अध्ययनका लागि राष्ट्रसंघले प्रयास गरिरहेको पनि उहाँले बताउनुभएको छ ।

यस विषयमा म्यानमार सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । दुई हप्तादेखि भइरहेको हिंसामा परी ठूलो संख्याका रोहिङ्गा समुदायका मानिसहरु विस्थापित भएका छन् । करिब तीन लाखको संख्याका म्यानमाली बंगलादेश पुगेका छन् ।

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन । विस्थापित यी व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन् ।

म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले हल्लाको पछि नलाग्न र देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ ।

म्यानमारका विदेशमन्त्री एवं म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादती गरेको भनी दुष्प्रचार मात्र गरेको बताउनुभएको छ ।

उहाँले पछिल्लो समयमा म्यानमारका केही सोसियल मिडिया एवं विदेशी मिडियाले सैनिक ज्यादती भएको भनेर यसको गलत रुपमा प्रचार गरिरहेका बताउनुभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री