सोमबार, मंसिर ४ २०७४ | Mon, November 20, 2017
नेपालको समय: ०७:५० | UK Time: 02:05

भाषाविद उपाध्यायसंग भाषिक अन्तरक्रिया

विनेपाली
२०७४ भदौ २६ गते २३:३७

लन्डन । साहित्य चौतारी यूकेले बेलायत भ्रमणमा रहेका वरिष्ठ कवि एवं भाषाविद प्राज्ञ मुकुन्द शरण उपाध्यायसंग एक भाषिक अन्तरक्रिया गरेको छ । आइतबार उलवीच लाइब्रेरीको सभाकक्षमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपाध्यायले नेपालमा भइरहेको नेपाली भाषाको शुद्धाशुद्धी सम्बन्धि संघर्षबारे जानकारी गराए । सहभागीका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उपाध्यायले बि. सं. २०३४ देखि थालनी भएको संघर्षको कथा सुनाउंदै हालसम्म आइपुग्दा आफूले उठाएका कतिपय कुरा स्थापित हुंदै गएकोमा सन्तोष पनि व्यक्त गरे ।

विशेषतः हिज्जे, वर्णविन्यास र नेपाली व्याकरणमा प्रशासनिक निर्णय र ठाडो हस्तक्षेप गरी क्षतविक्षत पार्ने काम विरुद्ध आफ्नो संघर्ष शुरु भएको बताउंदै उपाध्यायले अन्य विविध 
प्रसंगहरूको चर्चा समेत गरे । कार्यक्रममा भाषिक अन्तरक्रियाका साथै बिच बिचमा कविहरुले कविता वाचन गर्दा वातावरण काव्यमय बनेको थियो ।

करिब दुई दर्जन जति साहित्यकार, साहित्यानुरागी र नेपाली भाषाबारे चासो राख्ने व्यक्ति सहभागी उक्त कार्यक्रम सञ्चालन कवि दिनेश पौड्यालले गरेका थिए ।

सो अवसरमा साहित्य चौतारी यूकेले हालै विमोचन भएको ‘थेम्सका काव्यिक छालहरु’ नामक काव्य संगालोको ५ प्रति उलवीच लाइब्रेरीलाई प्रदान गरेको छ । प्राज्ञ उपाध्यायले लाइब्रेरीका प्रवन्धक टोनी मेरियोनलाई पुस्तक प्रदान गरे ।

कार्यक्रमको थालनीमा साहित्य चौतारी यूकेका संयोजक वासु शर्माले अन्तरक्रियाबारे प्रकाश पार्दै नेपाली भाषीहरु र खास गरी लेखक कविहरुका लागि विज्ञसंगको अन्तरक्रिया लाभदायी हुने बताए । 
उनले नेपाली भाषा शुद्धाशुद्धी सम्बन्धमा विगत लामो समय देखि एउटा धारको प्रतिनिधित्व गर्दै त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानसंग संघर्ष गर्दै आएका भाषाविद प्राज्ञसंग प्रत्यक्ष अन्तरक्रिया गर्नु महत्वपूर्ण भएको पनि बताए ।

साहित्य चौतारी यूकेले यस्तो कार्यक्रम गरेर बेलायतमा नेपाली भाषा साहित्यको प्रवर्धन गर्ने काममा एउटा ईंटा थपेको प्रतिक्रिया सहभागीले दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक