मतदाता परिचयपत्र भदौ ३०, ३१ र असोज १ मा दिइने

काठमाडाँैं, २७ भदौ । निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ । गैरसरकारी संघ संस्थामार्फत पनि यस पटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडक नाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भन्नुभयो, ‘तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यस पटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ ।’

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा छ हजार ६२७ प्रतिनिधिको चयन हुने छ । प्रदेश नं २ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ । प्रदेश नं २ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यस पटक निकै जोड दिँदैआएको छ । मतदाता परिचयपत्र लिन भरसक आफैँ मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री