तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरको उद्घाटन

लन्डन । तमु समाज यूकेको सामुदायिक भवन (तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टर) उद्घाटन गरिएको छ । गत ९ सेप्टेम्बर शनिबार भव्य समारोहबीच भवन उद्घाटन गरिएको हो ।

लन्डनको वेम्ली सडबरीमा अवस्थित उक्त सामाजिक भवनको समुदघाटन प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर मोहमद बटले गरे ।

तमु समाज यूके स्थापनाको दशौं वर्षगांठको अवसर पारेर अपरान्ह ३ः३० बजे सेन्टर उद्घाटन गरियो । समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा महासचिव ज्ञान बहादुर गुरुङले सञ्चालन गरेको समुद्घाटन कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवशरण गुरुङ, आमा समूहकी अध्यक्ष माया गुरुङ, युवा समूहका अध्यक्ष ओमकार गुरुङ, हाउजिङ संयोजक तथा सल्लाहकार सुवसिं गुरुङ (बिइएम), तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टर भवन म्यानेजमेन्ट समितिका संयोजक तथा सल्लाहकार बाबुराम गुरुङ लगायत समाजका सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, आमा समूह, युवा समूह सदस्य र अन्य थुप्रै सदस्यहरु उपस्थित थिए ।

त्यसैगरि कार्यक्रममा लन्डन बरो अफ ब्रेन्टका डेपुटी लिडर तथा बरहाम पार्क ट्रष्टका प्रेसिडेन्ट काउन्सिलर मारग्रेट मकलिनन, हाउन्स्लोका पूर्व डेपुटी मेयर काउन्सिलर विष्णु बहादुर गुरुङ, ब्रेन्ट काउन्सिलका काउन्सिलर 
मेरि डेली, काउन्सिलर क्रुपा सेठ, यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तान, आइएमआइ लन्डनका निर्देशक कमल पौडेल, कोडेक यूकेका उपाध्यक्ष धन तामाङ, भेट्रान क्लब बरहाम पार्कका अध्यक्ष रतिलाल पटेल, स्थानीय समाजसेवी र नेपाली संघसंस्थाका 
प्रतिनिधिको पनि उपस्थिति थियो ।

कार्यक्रममा बेलायत भ्रमणमा आएका कास्की आवाज राष्ट्रिय दैनिकका प्रमुख सम्पादक हुम बहादुर गुरुङ र अन्य नेपाली जनजाति पत्रकारहरु पनि अतिथिको रुपमा सरिक थिए ।

तमु समाज यूकेले विभिन्न सामाजिक, सांस्कृतिक तथा 
परोपकारी कार्य संगसंगै बेलायतको राजधानी लण्डनमा एक सामाजिक भवन खरिद गर्ने महत्वकांक्षी परियोजना केही वर्ष पहिले सुरु गरेको थियो । यस परियोजनाको सहयोगार्थ च्यारिटी डिनर र विभिन्न आर्थिक संकलनका कार्यक्रम पनि भए । बेलायतबासी नेपाली तथा तमुहरुबाट निरन्तर रुपमा प्राप्त भइरहेको 
सद्भाव र सहयोगबाट तमु समाज यूकेले भवन खरिद परियोजनाको निम्ति उल्लेख्य धनराशी संकलन गर्न सफल भएको थियो ।

बेलायतको राजधानी लन्डनमा अवस्थित भएकाले भवन खरिद परियोजनाका निम्ति निकै ठूलो रकम आवश्यक पर्ने र पर्याप्त आर्थिक रकम संकलन गर्न लामो समय लाग्ने भएकाले तमु समाज यूकेले भवन उपलब्ध गर्ने विभिन्न बैकल्पिक उपायहरुको खोजी गरि स्थानिय सरकारहरु संग समन्वय गरि सामुदयिक भवनका निम्ति पहल गरेको थियो । फलस्वरुप समाजले लन्डन बरो अफ ब्रेन्ट काउन्सिलबाट कम्युनिटी एसेट ट्रान्सफर योजना अन्तर्गत एक सामुदयिक भवन लिजमा प्राप्त गर्न सफल भएको हो ।

लन्डनको एक महत्वपूर्ण स्थान वेम्ली सडबरीको बरहाम पार्कमा अवस्थित पुरानो भवन गत जुलाईमा समाजले प्राप्त गरेपछि संस्थाकै आर्थिक खर्च र सदस्यहरुको श्रमदानबाट पूर्ण ‘रिनोभेसन’ गरेर तमु समाज यूके नेपाली कम्युनिटी सेन्टर नामाकरण गरि सुविधा सम्पन्न सामुदायिक भवनको ब्रेन्ट काउन्सिल लिडरको बाहुलीबाट समुद्घाटन गरिएको थियो । सम्भवतः लण्डनमा स्थानीय सरकारबाट नेपाली सामाजिक संस्थाले यसरी सामाजिक भवन प्राप्त गरेको यो पहिलो हो ।


कार्यक्रममा तमु समाज यूके सामाजिक भवन परियोजनाको यो ऐतिहासिक तथा उदाहरणीय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भवन खरिद परियोजनाका संयोजक र समाजिक भवन म्यानेजमेन्ट समितिका संयोजकद्वय सुवसिं गुरुङ (बिइएम) र बाबुराम गुरुङ लगायत समितिका अन्य सदस्यहरुलाई प्रमुख अतिथिले खादा ओढाई सम्मान गरेका थिए ।

सदस्यहरुको श्रमदान, अथक मेहनत, परिश्रम र समाजकै दक्षा जनशक्ति परिचालन गरि निर्माण गरिएको उच्च स्तरको भवन रिनोभेसन कार्यको प्रशंसा गर्दै प्रमुख अतिथिले रिनोभेसन कार्यमा संलग्न सबैलाई धन्यवाद दिए । साथै बटले समाजको उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरे ।

मन्तव्यका क्रममा डेपुटी लिडर तथा बरहाम पार्क प्रेसिडेन्ट काउन्सिलर मारग्रेट मकलिननले पनि समाजले गरेको कार्यको प्रशंसा गर्दै शुभकामना दिए ।

उक्त कार्यक्रममा स्वागत तथा धन्यवाद मन्तव्य राख्दै समाजका अध्यक्ष अर्जुन कुमार गुरुङले कम्युनिटी ट्रान्सफर एसेट योजना अन्तरगत सामाजिक भवन उपलब्ध गराइदिएकोमा ब्रेन्ट काउन्सिल र बरहाम ट्रष्टका 
पदाधिकारीहरुलाई आभार सहित कृतज्ञता ब्यक्त गरे । यसैगरि भवनको नवीकरण कार्यमा अहोरात्र खटेर श्रमदान 
गर्ने सम्पूर्ण सदस्यहरु, प्रत्यक्ष अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै उक्त सामुदायिक भवनबाट लन्डन वरपरका नेपाली लाभान्वित हुने बताए ।

उक्त ऐतिहासिक तथा महत्वपूर्ण कार्यक्रममा सल्लाहकार शिव कुमार गुरुङले तयार पारेको ‘रिनोभेसन’ सम्बन्धि छोटो भिडियो पनि प्रदर्शन गरिएको थियो । उल्लेख्य उपस्थितिमा गडगडहाट तालीका साथ ताम्रपत्र अनावरण गरि स्याम्पेन फोडेर गरिएको सेन्टरको समुदघाटन कार्यक्रम जलपानपछि बेलुकी ५ समापन भएको थियो । त्यसपछि तमु समाज यूकेको दशौं वार्षिक उत्सवको विशेष कार्यक्रममा सरिक हुन सबै हयारो लेजर सेन्टरतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री