एनआरएनए यूके चुनावलाई जसरी बुझें


गैर आवासीय नेपाली संघ बेलायतको सातौं अधिवेशन तथा नयां कार्यसमितिको निर्वाचन भर्खर सम्पन्न भएको छ । एउटा कार्यकारी पदमा उम्मेदवार बनेको हैसियतले मैले पनि जीवनमा पहिलो र रोचक निर्वाचनको सामना गर्ने अवसर पाएं । यसै सन्दर्भमा सर्वप्रथम त यो अधिवेशन तथा निर्वाचन सम्पन्न गराउन प्रमुख भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, कार्यसमितिका साथीहरु, स्वयंसेवक तथा सहभागिता जनाउनु हुने सम्पूर्ण सदस्यहरुमा हार्दिक आभार प्रकट गरेर मात्रै मेरो यो सानो आलेखको शुरुवात गर्न चाहन्छु । साथै नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै यो अभियानमा 
सदैव सकारात्मक सहयोग रहने प्रतिवद्दता समेत व्यक्त गर्दछु ।

मैले सबैभन्दा पहिला सदस्यताको प्रसंगबाटै भविष्यमा आउन सक्ने मेरा आलेखहरुको खाता खोल्ने अनुमति चाहन्छु । एनआरएनएमा पहिलो पटक आइसीसीको पहलमा शुरु गरिएको अनलाइन सदस्यता प्रणालीको यो निर्वाचनमा केही हदसम्म प्रयोग हुनु अत्यन्तै सराहनीय र उपलब्धिमुलक कार्य हो । यसले केही विकृति हरुलाई रोक्ने प्रयास गरेको छ तथापि विकृत मानसिकताहरु यसै भित्रका कमजोरीहरुको फाइदा उठाउन पछि नपरेको तथ्य भने हाम्रो सामू जग जाहेर नै छ । बेलायतमा बस्ने नेपालीहरुको ३ प्रतिशत भन्दा कम संख्याले मात्रै यो निर्वाचनमा सदस्यको रुपमा सहभागी भएर पनि यो चुनावले जनमानसमा निकै ठूलो उत्साह, चर्चा परिचर्चा र एक खालको उमंग ल्याएको कुरा नकार्न मिल्दैन । चिया चमेना, चौतारी देखी भटमासे भट्टी सम्मको गफको टपिक बन्यो अहिलेको एनआरएनए यूके चुनाव । उम्मेदवारलाई भन्दा समर्थकलाई बढि चटारो, सामाजिक सञ्जाल तिरको झटारो अनी सबैले हाकिमको भूमिका निर्वाह गर्न खोज्दाका संवादहरु पनि कम रोचक रहेनन् ।

जे होस सदस्य देखि रिंग लिडरसम्म, भोट बैंक देखि समुदायसम्म सबैले स्वाभाविक भाउ पाए र भूमिका निभाए पनि । यो निर्वाचनमा सहभागिताको हिसावले 
संस्थाको महत्वलाई त बढाएको छ तर गलत संस्कारको विकास गर्दै । कुनै पनि संघसंस्थाका लागि उसको साधारण सदस्य भनेको उभिने धरातल र टेक्ने मेरुदण्ड दुवै हो । एनआरएनए एउटा दुरगामी महत्व बोकेको संस्थाको धरातल र मेरुदण्ड जुन रुपमा खडा गरिंदै छ त्यो 
स्वयंमा गलत छ ।

एनआरएन को हो, के हो र किन यसको सदस्य बन्न आवश्यक छ भन्ने कुराको मनन नगराइकन बनाइएका सदस्यहरुले अन्त्वतोगत्वा आफ्नो विवेकले नेतृत्व चुन्न सक्दैनन् । संस्थाको मर्म र उद्देश्य बुझिसके पछिमात्र मान्छेले संस्थाको लागि सही मान्छे चुन्न सक्छ जसमा हामी यो निर्वाचनमा चुकेका छौं । विगतको केही अनुभवमा जस्तो सदस्यताको ठेली पल्टाउने कार्यको पुनरावृत्ति नहुनुलाई भने सफलताको कसीमा राख्नै 
पर्ने हुन्छ । मैले यसो भनिरहंदा अहिले चुनिएका पदाधिकारी सबै गलत चुनिए भन्न खोजेको भने कदापी होइन । विगतको केही अनुभवमा जस्तो सदस्यताको ठेली पल्टाउने कार्यको पुनरावृत्ति नहुनुलाई भने सफलताको कसीमा राख्नुपर्ने हुन्छ ।
सदस्यहरुले संस्था बुझे भने देखि मात्रै यो अभियानमा लागेका व्यक्तिहरु पनि बुझ्दै जाने छन् । यसको लागि संस्था प्रतिको आकर्षण र चासो बढाउनु जरुरी छ तब मात्र स्वतस्फूर्त रुपमा उनीहरु एनआरएनए तर्फको सदस्य बन्न तम्सिने छन् । यो काम त्यति सजिलो छैन् तर असम्भव पनि छैन् । कुरा जरै बाट बुझाउन सक्नु पर्छ अझै पहिला काम गरेर देखाउन सक्नु पर्छ ।
अर्कैले फारम भरिदियो, यसदिन भोट हाल्न जानु पर्छ भनेर उर्दी जारी गरयो अनि यसलाई यसलाई भोट हाल्नु भनेर लिस्ट थमाएर पठायो, यो संस्कार 
प्रजातान्त्रिक हुन सक्दैन् । मतदाताले आफ्नो स्वविवेक प्रयोग गर्न सक्ने दिनको आगमन नहुन्जेलसम्म चुनाव एउटा कर्मकाण्डको रुपमा मात्रै रहने मेरो बुझाइ छ ।

यो भनिरहंदा के पनि बिर्सिनु हुंदैन भने कुनै उम्मेदवारको आफ्नो परिवार नातागोता, इष्ट मित्रहरु सम्बन्धित व्यक्तिलाई जिताउन लागि पर्नु स्वाभाविक नै हो । यो कुरा समुदायमा पनि लागू भएको देखिन्छ । त्यसलाई पनि अन्यथा लिइनु हुंदैन तर विविधतामा एकता बोकेको हाम्रो समाजमा सामाजिक सद्भाव 
सर्वोपरी बन्नु पर्दछ । प्यानल र गुटको निर्माण गरेर समग्र अभियान, उम्मेदवार र व्यक्ति विशेषबारे अनभिज्ञ रहेका सदस्यहरुको भोट खन्याएर चुनाव जित्ने परिपाटी अन्त्य हुने गरी कामको थालनी गर्नुपर्दछ ।
मान्छेका जुंगाको लडार्इंमा सिंगो एनआरएनएलाई धराप बनाउंदै यसमा योगदान गर्न सक्ने र संस्थाका लागि आवश्यक ब्यक्तिहरु किनारा लगाउने उद्देश्यले एनआर एनएका अधिवेशनहरु सञ्चालन हुने हो भने संस्थाको भविष्य संकटमा पर्ने निश्चित छ ।

तसर्थ डायस्पोराका नेपालीहरुको सर्वोपरी हितलाई ध्यानमा राखेर स्वच्छ र प्रजातान्त्रिक हिसाबले नेतृत्व चयन हुन सकोस् भन्ने हेतुले नयां कार्यसमितिले वर्तमान अनलाइन प्रणालीलाई विकास 
गर्दै सम्पूर्ण बेलायतवासी नेपालीहरुको पहुंचसम्म 
एनआरएनएलाई पुरयाउने अभियानमा लागी परोस् यसमा हाम्रो सदैव साथ् र सहयोग रहनेछ । सदस्यता अभिवृद्धि कार्यक्रम चलाउन चुनाव कुरी राख्नु पर्दैन यो आजैबाट शुरु गर्न सकिने कुरा हो । यसरी बनेका सदस्य मात्र एनआरएनप्रति अपन्वत्व र स्वामित्व महसुस गर्न सक्ने योग्य र योगदान गर्न सक्ने सदस्य बन्न सक्छन् । यसमा बिलम्ब गर्नु हुंदैन ।

विगतको केही अनुभवमा जस्तो सदस्यताको ठेली पल्टाउने कार्यको पुनरावृत्ति नहुनुलाई भने सफलताको कसीमा राख्ने पर्ने हुन्छ । एनआरएन सबैको बन्न सकोस् झगडा र विवादको घेराबाट यसलाई मुक्त गर्न सकियोस् यो नै तपाई हाम्रो सबैको चाहना हो । र यसको खातिर हामी सबै सकारात्मक रुपमा एकवद्ध भएर लाग्नु आजको आवस्यकता हो । समग्र एनआरएनए अभियानको हामी र हाम्रा सन्ततिको लागी अत्यन्तै ठूलो महत्व छ । यो कुरा हामीले पनि आत्मसात गरौं र अरुलाई पनि 
गराउं ।

प्रतिष्पर्धामा अस्वस्थता
निर्वाचनको दौरान सामाजिक सञ्जाल र मेडियामा देखिएका अभिव्यक्तिहरु त्यति स्वच्छ रहेनन् । व्यक्ति विशेषको छवीमा आंच आउने गरेर अनर्गल प्रचार गर्नु, विभिन्न गुट उपगुटसंग जोडेर भ्रम फैलाउने जस्ता कार्यहरु पनि यो दौरानमा देखिए । मतदाताको व्यक्तिगत विवरण सार्वजनिक हुने देखि निर्वाचन आचार संहिता उल्लंघनका गम्भीर घट्नाहरुको सुनुवाई हुन नसक्नु अत्यन्तै दुःखद पक्ष हो । साम दाम दण्ड भेद जसरी पनि चुनाव जित्नु पर्छ भन्ने मानसिकता आफैंमा गलत छ । सके भोटले नभए मुढे बल समेत प्रयोग गरेर चुनाव लड्ने रणनीतिका उम्मेदवारहरु मैदानमा देखिनुलाई एक्काइसौं शताब्दीको बेलायतमा बस्ने हामी नेपालीलाई कति शोभनीय रहन्छ प्रश्न गहन छ ।

अन्त्यमा आफ्नै बारेमा
एनआरएनए यूकेको कार्यसमितिमा दुई कार्यकाल क्रमशः सदस्य र सचिवको रुपमा काम गरेको मेरो अनुभवले र साथीहरुको आग्रह र आफ्नै इच्छाशक्तिले मलाई यसपाली महासचिवको उम्मेदवारको रुपमा उभ्याएको थियो । मेम्बरसिप बन्द भइसकेपछि चुनावी मैदानमा उत्रिएको मैले आफूले न त चुनावी प्रयोजनको लागि भनेर सदस्यता बनाएं न त कुनै गुट र प्यानल संग गठवन्धन गरेर भोट कुम्ल्याउने रणनीति नै अपनाएं ।

यो सबैको बावजुत स्वतन्त्र रुपमा आएका ८२७ जना सदस्यको सम्मानजनक मतलाई मैले मेरो जीवनको कमाइको रुपमा लिएको छु र उहांहरुप्रति हार्दिक नमन गर्दछु । कतिपयले म प्रति सद्भाव राख्दा राख्दै पनि परिस्थितिवश मलाई मतदान गर्न सक्नु भएन उहांहरुप्रति पनि मेरो ह्दयमा उत्तिकै ठूलो स्थान छ । निर्वाचनमा विभक्त बनेको समाजलाई एकवद्ध पार्नु पर्ने जिम्मेवारी झनै ठूलो छ । यो दौरानमा यति धेरै साथी शुभेच्छुक र अभियन्ताहरुलाई भेट्ने, भलाकुसारी गर्ने र संगै दौडिने अवसर मिल्यो जसको खुशी म शब्दमा व्यक्त गर्न सक्दिन ।

यो अनुभवले मलाई झनै तिखारेको छ, यहांहरुको अपेक्षालाई निरुत्साहित नहुने गरी यो अभियानमै रहेर काम गर्नेछु । यसका अलावा सामाजिक रुपान्तरणको लागि पत्रकारिता, लेखन, साहित्य र अन्य विद्याहरु मार्फत पनि हजुरहरुमाझ आइ नै रहनेछु । एनआर एनए सम्बन्धि आउने लेखहरुलाई कृपा गरेर निर्वाचनको 
रोइलोको रुपमा नबुझिदिनु होला । सशक्त तर सकारात्मक प्रतिपक्ष बनेर एनआरएनएलाई सही ट्रयाकमा ल्याउन आफूले भ्याए सम्मको भूमिका खेल्ने नै छु ।

इमान, जमान, नैतिकता र मर्यादाको धरातलबाट नचिप्लिएसम्म निर्वाचन, पद र हार जित सबै गौण कुरा हुन् भन्ने कुरामा म दरिलो गरी विश्वस्त छु । यहांहरुको मायां सधैं पाइराखौ । जय एनआरएनए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री