काली र हेमन्तले लन्डनवासीलाई नचाए

लन्डन । यतिखेर विजयादशमी शुभकामना सांझका लागि बेलायत टुरमा रहेका संगीतकार कालिप्रसाद बास्कोटा र गायक हेमन्त 
रानाले आइतबार लन्डनवासी नेपालीलाई भरपुर नचाए । साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा आयोजित कार्यक्रममा बास्कोटा र राना दर्शकको ‘वान्स मोर’ सामना गर्न वाध्य भए ।

मोडल सुष्मा कार्की नृत्यांगनाका रुपमा स्टेजमा उत्रिइन् । नेपालबाट गत साता बेलायत आएका यी तीन कलाकारको दोश्रो शो थियो हयारो ।

गायक हेमन्तले आफूलाई गायक भनेर चिनाउन र अन्तर्राष्ट्रिय शोहरुमा पुरयाउन सघाउने लैजारे…गीतदेखि सुन साईंली… लगायत नयां कयौं गीत गाए । रानाले गोपाल योन्जनको ‘बनेको छ पहराले यो छाती मेरो…’ मर्मस्पर्शी गीत पनि गाए ।

नेपाल आइडलका निर्णायक समेत रहेका संगीतकार बास्कोटाले लैजाउ घुमाउन मलाई ठमेल बजार…, जहिले रिसाउने निरा…, पारी त्यो डांडामा हेर… आदि गीत गाए । बास्कोटालाई स्थानीय गायिका शर्मिला बर्देवाले गाएर साथ दिएकी थिइन् ।

दर्शकले काली र हेमन्त रानालाई ‘वान्स मोर’ भन्दै पटक पटक गाउन लगाएका थिए । उनीहरुले पनि आफूहरुलाई माया प्रदान गरेकामा दर्शकसमक्ष आभार व्यक्त गरे । कार्यक्रममा स्थानीय गायक आशिष राजले पनि गाएका थिए ।

श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले ‘विजया दशमी शुभकामना सांझ’ आयोजना गरेको हो । कार्यक्रममा दर्शक भीड उल्लेख्य थियो ।

कार्यक्रममा आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपका बीरेन खड्का, अनिल मल्ल, दिपक खड्का, अनिल आचार्य, शशी गुरुङ लगायत सक्रिय थिए । कार्यक्रमका प्रमुख अतिथी सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ र यती नेपलिज एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानले नेपालबाट आएका कलाकार र 
बर्देवालाई खादाले सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन निया देवानले गरेकी थिइन् ।

ति कलाकारहरुको पहिलो शो गत शुक्रबार अल्डरटस्थित एम्पायर हलमा भव्य भएको थियो । विजयादशमी शुभकामना सांझ आगामी २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने भएको छ ।

तस्विरः दिनेश परियार

प्रतिक्रिया

सम्बन्धित सामाग्री