बेलायती क्लबमा नेपाली खेलाडीलाई अवसरको खोजी

लन्डन । इंग्ल्याण्डको दि फुटबल एसोसिएसन (एफए) ले बेलायतस्थित नेपाली खेलाडीको खेल विकास र उनीहरुलाई अवसर प्रदान गर्ने आश्वासन दिएको छ ।

फुटबल एसोसिएसनका ‘इक्वेलिटी एण्ड डाइभर्सिटी’ म्यानेजर केभिन कोल्मेनले सहारा यूके, हयाम्पसायर फुटबल क्लव, बर्नमाउथ फुटबल क्लव र यूके नेपाल फ्रेण्डसीप सोसाइटीका पदाधिकारीबीच शुक्रबार भएको भेटमा उक्त आश्वासन दिएका हुन् ।

बर्नमाउथ फुटबल क्लवमा भएको करिब दुई घण्टा लामो छलफलमा कोल्मेनले नेपाली खेलाडीलाई कोचिङ, रेफ्री ट्रेनिङ, फुटबल सेसन र अन्य अवसर दिने आश्वासन दिएको सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ ‘साईंला’ ले जानकारी दिए । बर्नमाउथ एफसीले पनि सम्भव भएसम्मका सहयोग गर्न तयार रहेको जनाउ दिएको छ । सहारा यूकेले बर्नमाउथ फुटबल 
क्लब र अल्डरसट एफसीसंग सम्बन्ध बढाइरहेको छ ।

उक्त बैठकमा हयाम्पसायर फुटबल क्लबका अध्यक्ष क्रिस, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष एलान सान्का, सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, सल्लाहकार डमर घले लगायतको सहभागिता थियो ।

विगत ६ वर्ष देखि सन्डे लिगको डिभिजन वान खेलिरहेको सहारा यूकेले नेपालमा २८ जना असहाय बालबालिका रेखदेख गरिरहेको सहारा एकेडेमी पोखरालाई नियमित सहयोग गरिरहेको छ ।

साथै उसले गोरखामा भूकम्पले क्षतिग्रस्त एक विद्यालय निर्माण गरिसकेको छ भने सिन्धुपाल्चोकमा एक विद्यालय निर्माणाधिन छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री