बिहीबार, मंसिर ७ २०७४ | Thu, November 23, 2017
नेपालको समय: १३:१० | UK Time: 07:25

नेपालीमा मुटुरोग सम्बन्धि ज्ञानको कमी छ- विकलचन्द्र आचार्य

विनेपाली
२०७४ असोज १२ गते ९:५२

आचार्य

प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश 
मुटुरोग सम्बन्धि चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो ।

सानै उमेरमा छात्रवृत्ति पाएर बेलायत आएका अर्थ व्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यलाई चौतीस वर्षकै कलिलो उमेरमा अकष्मात ह्दयाघात भयो । 
ह्दयाघात भएपछि उनको जीवनले अर्को मोड लिएको छ । आफूलाई लागेको रोगबारे अध्ययन गरि यसबाट अरुलाई सावधान गराउन आचार्यले मुटुरोग सम्बन्धि दुईवटा पुस्तक लेखे । आफूले भोग्नुपरेको मुटुरोग समस्या अरुलाई नपरोस् भनेर यस सम्बन्धि चेतना फैलाउन लेखेर होस् वा भेटेर उनी रातदिन सक्रिय छन् । उनमा मुटुरोगलाई सामान्य मानिसले बुझ्ने गरि ब्याख्या गर्ने कला छ । ब्रिटिस मेडिकल जर्नालिस्ट असोसिएसनका सदस्य तथा कोरोनरी मुटुरोग पुस्तकका लेखक आचार्यसंग नवीन पोखरेलले मुटु दिवसको सन्दर्भमा गरेको कुराकानीको अंश यहां प्रस्तुत 
छ ः

अहिले विश्वमा मुटुरोगको अवस्था कस्तो छ ?

बढ्दो महत्वकांक्षा, कम क्रियाशील जीवन, स्वास्थ्य सम्बन्धि न्यूनतम ज्ञानको कमी तथा चिन्तालाई समयमा ब्यवस्थित गर्न नसक्नु जस्ता मुख्य कारणले संसारमा मुटुरोगबाट मानिसहरु पीडित हुने क्रम बढ्दो छ । बेलायतको कुरा गर्ने हो भने कोरोनरी 
मुटुरोग र स्ट्रोक सबैभन्दा धेरै मानिस मर्ने रोग हुन् ।

नेपालीको हकमा मुटुरोगबाट पीडित हुने जोखिम कस्तो 
छ ?

अध्ययनले दक्षिण एसिया र अफ्रो क्यारिबियनका मानिसलाई कोरोनरी मुटुरोग लाग्ने सम्भावना अन्यत्रकालाई भन्दा धेरै बढि हुने देखाएको छ । यसमा बंशानुगत तथा जीवनशैलीले महत्वपूर्ण भूमिका खेल्छ । बढ्दो शहरीकरण र अस्वथ्यकर जीवनशैलीले गर्दा नेपालमा कलिलै उमेरमा मुटुरोगबाट पीडित हुनेको संख्या उल्लेख्य बढिरहेको छ ।

मुटुरोग लाग्ने जोखिम तथा सावधानीका उपायहरु के के हुन् ?

मुटुको रोग लाग्ने कुनै एउटा मात्र कारण छैन् । जोखिमका तत्वहरु जस्तै धूमपान, परिवारमा मुटुरोगको इतिहास, उच्च रक्तचाप, उच्च रगत कोलेस्ट्रोल, मधुमेह, मोटोपन, चिन्ता आदिले मुटुरोग लाग्ने सम्भावना बढाउंछ ।
तपाईंलाई आफ्नो नाम, ठेगाना थाहा भएजस्तै आफ्नो कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको मात्राको नम्बर थाहा पाउन जरुरी छ । यही अनुसार खानपान र क्रियाशीलता बढाई आवश्यक परे चिकित्सकलाई भेट्नु पर्दछ । वर्षमा कम्तीमा एकपटक रगत जांच्नुहोस् । यसले कोरोनरी मुटुरोगबाट बच्न या सावधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ । जोखिमका तत्वहरुलाई समयमा नै ध्यान दिई उचित जीवनशैली अपनाएर मुटुरोगबाट सावधान हुन सकिन्छ । धुमपान, मद्यपान त्याग्ने अनि स्वस्थकर र सन्तुलित आहारले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ ।

कोलेस्ट्रोलका बारेमा मानिसमा अलि जानकारी कमी भएजस्तो देखिन्छ । साधारण मानिसले यसबारे 
बुझ्नुपर्ने कुरा के के छन् ?

कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक किसिमको बोसो हो । रगतमा धेरै चिल्लो भयो भने यो आर्टरीहरुमा जम्मा भइ 
रक्त सञ्चार हुन व्यवधान गर्न सक्छ । हामीले खाने खानामा तयारी कोलेस्ट्रोल करिब २० प्रतिशत रहन्छ भने बांकी ८० प्रतिशत शरीरले बनाउंछ । कलेजोले हरेक दिन शरीरलाई पूरै पुग्ने करिब एक ग्राम कोलेस्ट्रोल बनाउंछ । तर हाम्रो शरीरको कोलेस्ट्रोलको परिमाणमा परिवर्तन हुन नसक्ने वंशाणुगत प्रभाव पनि पर्छ ।

रक्त कोसिकामा ओहोरदोहोर गर्न कोलेस्ट्रोल मोलिक्यूलहरु आफैंमा लिपिड बोक्ने प्रोटिन या लिपोप्रोटिनसंग आवद्ध हुन्छन् । दुई किसिमको लिपोप्रोटिन मुख्य कोलेस्ट्रोलको वाहक हुन् । तीमध्ये लो डेन्सिटी लिपोप्रोटी (एलडीएल) ले दुई तिहाइ बोक्ने गर्छ । बांकी भएको हाइ डेन्सिटी लिपोप्रोटिन (एचडीएल) संग आवद्ध हुन्छ ।

एलडिएलले कोलेस्ट्रोल कोरोनरी आर्टरीको भित्ताहरुमा जम्मा गर्ने गर्छ र बोसो जम्मा भई मुटु रोग लाग्ने जोखिम बढाउंछ । यसको विपरित एचडीएलले कोलेस्ट्रोल 
आर्टरीहरुको भित्ताबाट र अझ तन्तुहरु पनि जम्मा पार्छ र कलेजोमा लगी प्रोसेस गरेर शरीरबाट निकाल्छ । त्यसैले एलडीएललाई ‘नराम्रो’ कोलेस्ट्रोल र एचडीएललाई ‘राम्रो’ कोलेस्ट्रोल भनिन्छ ।

हामीले खाने मासु, दुध, घीउ, चीज आदिबाट प्राप्त हुने कोलेस्ट्रोल शरीरलाई आवश्यक पर्दैन तर शुद्ध शाकाहारी खानाबाट अतिरिक्त कोलेस्ट्रोल प्राप्त हुन्छ । कसैले धेरै परिमाणमा खाना खाए पनि उनीहरुमा रगतको तह साधारण रहन्छ । कोही मानिस धेरै कम खान्छन् तर रगत उच्च कोलेस्ट्रोल हुन्छ । यसको कारण जीवनशैली, वंशाणुगत, लिंग र शरीरले कोलेस्ट्रोललाई कसरी प्रोसेस गर्ने भन्ने 
प्रक्रियामा भर पर्छ ।

नेपालीमा अचेल कलिलै उमेर देखि मधुमेह रोग देखिने गरेको पाइएको छ । मधुमेहले मुटुलाई कसरी असर गर्छ ?

रगतमा उच्च ग्लुकोज लेभल भएपछि रगत बाक्लो र टांसिने हुनपुग्छ । त्यसैले शरीरभर रगत पम्प गर्न मुटुलाई भार पर्छ र यसले आर्टरीको भित्तामा असर गर्दछ जसले चिल्लो जम्ने क्रमको विकास गर्न सक्छ । मुटु रोगका जोखिमका तत्वहरु धूमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेहले अरु बढाउंछ । टाइप २ मधुमेह भएको मान्छेको प्राय ट्राइग्लिसराइड बढी र एचडिएल कोलेस्ट्रोल कम हुन्छ । मधुमेह भएको मानिसलाई उच्च रक्तचाप हुने बढि सम्भावना हुन्छ । मधुमेहले मुटुको मांशपेशीलाई असर गर्न सक्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ । मधुमेहले मुटुको स्नायूलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणमा फरक पर्न सक्छ । यसले इन्जाइना र ह्दयाघात पत्ता लगाउन ढिलो हुन सक्छ ।
शरीरका अंगहरु जस्तै आंखा, मृगौला, पैतालामा नोक्सान रोकथाम गर्न रगतको ग्लुकोज लेभल र रक्तचाप ठिक गरी नियन्त्रण गर्न जरुरी छ । मधुमेहले कोरोनरी मुटुरोग लाग्ने सम्भावना धेरै बढाउंछ । मधुमेहको मुख्य जोखिमका तत्वहरुको राम्रो उपचार र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।

ह्दयाघातका लक्षणहरु के के हुन् ?
ह्दयाघातको लक्षणमा खास छातीको बीच भागमा एकदम दुख्ने र छातीमा असुविधा हुन्छ । दुखाई चाहिं एकदम गरुङ्गो या कसिएको हुन्छ जुन दुखाइ पाखुरा, घांटी, गर्धन, पछाडि वा भुंडीमा पनि सर्न सक्छ । यसले घाटी, बंगारा, पाखुरा वा भुंडीमा मात्रै असर गर्न सक्छ । ह्दयाघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मानिस ह्दयाघात हुंदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् ।

कहिलेकाहिं ह्दयाघात ‘शान्त’ हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । मधुमेह भएका मानिसमा ह्दयाघातको लक्षण हिप्पोसंग झुक्किने पनि हुनसक्छ । कसैलाई ह्दयाघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल पुग्नुपर्छ । धेरै मानिस एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरेर जीवन जोखिममा राख्छन् । तसर्थ सम्भव भएसम्म चांडै अस्पताल पुग्नुपर्दछ । ह्दयाघातको अवधिमा जीवन नै जोखिम हुने मुटुका रिदमहरुको विकास हुन सक्छ । त्यसैकारण ह्दयाघातलाई आकष्मिक रुपमा उपचार गरिन्छ ।

ह्दयाघातको उपचार कस्तो छ ? हालै भएको अनुसन्धानमा जिन थेरापीले उपचारमा ठूलो परिवर्तन ल्याउंछ भन्ने पनि छ । यसबारे बताइदिनु हुन्छ कि ?

ठिक समयमा अस्पताल पुगे ह्दयाघातबाट बच्ने सम्भावना अधिक रहन्छ । छाती दुखेको अथवा माथि बताइएको ह्दयाघातका लक्षणहरु भए तुरुन्त अस्पताल पुग्नुपर्छ । 
शंकामा त्यसै बस्नु हुंदैन । समय महत्वपूर्ण हुनसक्छ । तरपनि अझै कयौं मानिस अज्ञानताका कारण मुटुरोगबाट ज्यानै गुमाउने या पीडित हुने क्रम जारी छ ।

ब्लकेज भएको ठाउंमा स्टेन्ट सहितको कोरोनरी एन्योप्ल्यास्टि या बाइपास अथवा अन्य उपचारका तरिकाहरु धेरै प्रभावकारी छन् । बेलायतमा सबै स्वास्थ्य सेवा निशुल्क छ, तर नेपालमा देश अनुसार महंगो छ । नेपाल जस्तो गरिब देशमा मुटुरोग लागेपछि धेरैले आर्थिक भार खप्नुपर्ने अवस्था भएकाले मुटुरोगबारे थप चेतना फैलाउन टड्कारो आवश्यकता छ । रोग लागिसकेपछि पनि सहि उपचार गरि सतर्कता अपनाउंदै सामान्य जीवन बिताउन सकिन्छ भन्ने कुरा नै मेरो अनुभव छ ।

बैज्ञानिकहरुले पहिलोचोटि खराब डीएनएबाट भ्रूणहरु 
(एम्ब्रियो) सफलतापूर्वक अलग गरेका छन् जुन भ्रूणले वंशाणुगत रुपमा रगतको नाता भएको व्यक्तिमा सरि खतरनाक मुटुरोगको कारक बन्दछ । यसले पुस्तौं देखि सर्ने करिब दश हजार डिएनएको विकृतिहरुलाई रोकथाम गर्ने सम्भावनाको ढोका खोलेको छ । यस्तो आविस्कारको विकासले बंशानुगत रुपबाट सर्ने रोगहरु साइटिक फाइब्रोसिस देखि स्तन क्यान्सरको कारक हुने खराब डीएनएलाई हटाउन सक्नेछ ।

बैज्ञानिकहरुले मुटु रोग अन्तर्गतका हाइपरट्राफिक कार्डियोमायोपेथी रोगलाई केन्द्रित गरेका थिए । यस किसिमको मुटुको रोग पांच सयमा एक जनालाई हुने गरेको तथ्यांक छ । यस किसिमको रोगमा मुटुको धड्कन अकस्मात बन्द हुने गर्छ । जिन थेरापी प्रविधिको विकास भइ उपचारमा आउन भने धेरै समय लाग्ने छ ।

तपाई आफैंलाई पनि मुटुरोग लाग्यो । अन्य मुटुरोगीहरुलाई के कस्तो सल्लाह दिनुहुन्छ ?

सहि उपचार गर्ने र माथि चर्चा गरिए अनुसार जोखिम थाहा पाउने, त्यहि अनुसार जीवनशैली बदल्ने, डाक्टरको सल्लाहमा आफ्नो औषधि समयमा खाने, क्रियाशीलता बढाउने जस्ता गतिविधिले मुटुरोग लागेपछि पनि सामान्य जीवनयापन गर्न सकिन्छ । भएको कुरालाई नभएको बनाउन सकिंदैन, बास्तविकतालाई सामना गर्दै आफ्नो उच्च मनोवल कायम गर्दै नित्य काममा लाग्नुपर्छ । मनका कुराहरु अरुलाई बताउनुपर्छ भन्ने सल्लाह दिन्छु म ।

तपाईले धेरै मुटुरोगीलाई भेट्नुभएको छ, उनीहरुको अवस्था कस्तो पाउनुभयो ?

मुख्यकुरा हामीमा मुटुरोग सम्बन्धि ज्ञानको अभाव पाएको छु मैले । सामान्य रोगबारे लक्षण थाहा नपाउनु या बेवास्ता गर्नु, अस्पताल जान वा अरुलाई भन्न संकोच मान्नु जस्ता समस्या धेरैमा छ । तर, रोग लागिसकेपछि पश्चाताप, भय, एक्लोपन आदि समस्यासंग सामना गरिरहेको पनि देखेको छु । यसमा मैले सक्दो सहयोग गर्ने 
प्रयास जारी राखेको छु ।

विश्व मुटु दिवसले आम मानिसलाई के सन्देश दिए जस्तो लाग्छ ?

मुटु हाम्रो प्रधान अंग भएकोले यसको हेरविचार सधैं गर्नुपर्छ । मुटुरोग सम्बन्धि न्यूनतम ज्ञान सबैले मनन गर्नुपर्दछ । समयमा नै सतर्कता अपनाएर मुटुरोगबाट अकालमा ज्यान कसैले पनि गुमाउनु या पीडित हुन 
नपरोस भन्ने नै यस दिवसको मुख्य सन्देश हो भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक