पोखरेल र कार्कीलाई एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संयुक्त रुपमा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पत्रकारद्वय होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई दिइने निर्णय भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेको छनौट समितिले पत्रकार कार्की र पोखरेललाई संयुक्तरुपमा सो पुरस्कारका लागि छनौट गरेको हो ।

कान्तिपुर दैनिकमा आवद्ध कार्की लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा रिपोर्टिङ गर्दै आएका छन् भने वीनेपाली डटकमका प्रधानसम्पादक पोखरेलले एक दशकदेखि बेलायतका नेपालीका बारेमा रिपोर्टिङ गर्दै आएका छन् । उनी बेलायतस्थित कान्तिपुर संवाददाता पनि हुन् ।

प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएन विश्व सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिन्छ । पुरस्कारको राशी १ लाख १ हजार रुपियां छ । यही अक्टोबर १४–१७ तारिखमा काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा सो पुरस्कार प्रदान गरिने छ ।

छनौट समितिको जिम्मा दिएकोमा नेपाल पत्रकार महासंघले एनआरएनप्रति धन्यवाद व्यक्त गरेको महासचिव रमेश बिष्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री